|

काठमाडौं : लामो समयदेखि विद्युत चुहावटमा संलग्न रहेको आरोपमा नेपाल विद्युत प्राधिकरणका १२ जना कर्मचारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरुका उद्योग, कलकारखाना, होटल र व्यक्तिको घरमा जोडेको बिजुलीका मिटर बक्सको अंक घटाई विद्युत चुहावट गरेको आरोपमा कर्मचारी र उद्योगीहरुलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले दुई जना मुख्य प्राविधिक, १० जना मिटर रिडर र चार जना व्यवसायीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा प्राधिकरणको बालाजु शाखाका सुपरभाइजर ५० वर्षीय सुमन श्रेष्ठ, प्राधिकरणको पूर्व मेन्टिनेन्स रामेछाप ठोसे घर भएका ५६ वर्षीय टहलबहादुर कार्की रहेका छन्।

त्यसैगरी मिटर रिडरहरु सर्लाहीको हरिपुर घर भएका ५१ वर्षीय महादेव प्रधान, बानेश्वर शाखामा कार्यरत सिन्धुपाल्चोक सुनखानीका ३९ वर्षीय अच्युत खड्कालाई पक्राउ परेका हुन्। 

ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा कार्यरत अछाम भट्टाकाटियाका ५१ वर्षीय दिलबहादुर साउद, नुवाकोट चारघरेका ४८ वर्षीय ओम ढुंगाना, रामेछाप सालुपाटीका ५० वर्षीय श्याम बस्नेत, नागार्जुनका ४६ वर्षीय प्रदिप शर्मा, बानेश्वरका ४४ वर्षीय ठाकुर महर्जन र ४९ वर्षीय मनिज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्राधिकरणको लगनखेल शाखामा कार्यरत दाङको फुलवारी घर भएका ३९ वर्षीय सूर्यबहादुर थापा, भक्तपुरका पूर्व सुपरभाइरल भक्तपुरको नगरकोटका ५४ वर्षीय भगवान पाण्डेलाई पक्राउ गरेको हो।

यसैगरी उद्योग कलकारखाना संचालन गर्ने गोकर्णेश्वरका मन्जुश्री खानेपानीका संचालक ३२ वर्षीय कुमार लामा, भारत हाउडाका मिठाई पसल संचालक ५१ वर्षीय तपन घोष, भारत मोतिहारीका कपास व्यापारी ४६ वर्षीय परवेज आलम र रामेश्वर मिठाई पसलका संचालक मोरङ कोशी हैरचाका ३८ वर्षीय रमेश चुँडाललाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले मिटरमा उठेको रकमभन्दा कम अंकको बिल बनाउने, मिटर बक्सको सिल काटेर मिटरमा उठेको अंकलाई बिल बराबरको अंक उल्टोबाट घुमाएर मिलाएर विद्युत चुहावट गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए।

‘अवैध रुपमा मिटर चलाएर विद्युत चुहावट गर्दै आएको पाइए पछि पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं’ उनले भने ‘विशेष गरी औद्योगिक क्षेत्रहरुमा यसरी विद्युत चुहावट गर्ने गरेका रहेछन्।’ 

मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर र टेक्निसियन कर्मचारीले बाँडेर लिने गरेका थिए। प्राधिकरणका कर्मचारीले व्यवसायीहरुसँग मिलेर मिटर मिलाइदिए वापत एक जनाबाट ४० हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको पनि उनले जानकारी दिए। 

‘४० हजार रुपैयाँ मिटरमा उठेको रहेछ भने पाँच हजारको विल बनाइदिने र १० लाख उठेको भए ५० हजारको विल बनाउने गरेको पाइएको छ’, एसएसपी खनालले भने ‘यसरी विद्युत चुहावट एकातिर भइरहेको छ भने अर्कोतिर राजस्व छलि गरिराखेका छन्।’

प्राधिकरणका कर्मचारीले गैरकानुनी रुपमा सामानहरु राखेर एकै दिनमा २० देखि २५ ठाउँमा मिटर मिलाउदै आएको पाइएको पनि उनले जानकारी दिए।

अहिले २६ प्रतिशत विद्युत चुहावट हुने गरेको र १० देखि १२ प्रतिशत विद्युत प्राविधीक रुपमा चुहावट हुने र १४ देखि १६ प्रतिशत कर्मचारीको मिलेमतोमा चुहावट भइरहेको पाइएको पनि एसएसपी खनालले जानकारी दिए। 

‘एक प्रतिशत विजुली खेर जाँदा पनि सात अर्ब रुपैयाँ नोक्सान हुने गरेको रहेछ’, उनले भने– ‘यसरी अर्बौ रुपैयाँ नोक्सान भएको पाइएपछि कारवाहीको प्रक्रिया शुरु गरेका हौं।’

पक्राउ परेकाहरुलाई महाशाखाले ठगी मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.