|

काठमाडौं : 'पत्रकारहरु यहीँ उपस्थित हुनुहुन्छ, प्रधानमन्त्रीले आज यहीँ चुनावको मिति घोषणा गर्न सक्नुहुन्छ,' एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हौस्याए।

संसदीय मामिला पत्रकार समाजले आइतबार संसदीय पत्रकारिता पुस्तक विमोचनमा उपस्थित भएका नेम्वाङले २०७४ साल माघ ७ गतेभित्र स्थानीय प्रदेश र संघको निर्वाचन गर्ने संवैधानिक सहमति पालनाका लागि सरकार गम्भीर छ की छैन भन्ने प्रश्न पनि प्रधानमन्त्रीलाई गरे।

प्रमुख विपक्षी दलका उपनेता नेम्वाङको प्रश्न बढो चाख लाग्दो ढ‌ंगले सुनिरहेका प्रधानमन्त्रीले आफ्नो मन्तव्य राख्नेपालो आएपछि नेम्वाङले राखेका प्रश्नको जवाफ दिए 'सरकार निर्वाचन घोषणा गर्न आतुर छ। निर्वाचन कानुन माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई उपलब्ध गराउने शीर्ष दलबीच सहमति भएको छ। सरकारले निर्वाचनको मिति माघ १५ गतेभित्रै घोषणा गर्छ।'

कांग्रेस एमाले र माओवादी केन्द्रका नेताबीच शनिबार भएको छलफलमा जेठ दोस्रो साता अघिनै सम्पन्न गर्ने हिसाबले  निर्वाचनको मिति वैशाख २५ देखि ३० को बीचमा तोक्ने सहमति भएको कुरा प्रधानमन्त्रीले उल्लेख गरे। 'जेठको दोस्रो साताभित्र निर्वाचन सम्पन्न गर्न संभव छ। सरकार दृढताका साथ निर्वाचन गराउन लागिपरेको छ। मोर्चालाई समेत निर्वाचनमा लाने  ढंगले सरकारले  निर्वाचनको मिति घोषणा गर्छ,' प्रधानमन्त्रीले भने,'मलाई लाग्छ यति भनेपछि मैले पूर्व सभामुख नेम्वाङलाई पुग्नेगरी जवाफ दिएँ।'

प्रधामन्त्री प्रचण्डले सरकार संविधानको सर्वस्वीकार्यतालाई फराकिलो पार्न लागि परेको बताउँदै हाल संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउने अर्को संविधान संशोधन विधेयक मार्फत मोर्चाका माग पुरा गर्ने उल्लेख गरे। 'हालको विधेयका केही असन्तुष्टी नसच्चाएसम्म निर्वाचन नजाने कुरा मोर्चाको छ। हालको विधेयकलाई अघि बढाउँदै सरकारले नयाँ संविधान संशोधन विधेयक दर्ता गर्ने सरकारको तयारी छ,' प्रधानमन्त्रीले भने।

अर्को संविधान संशोधन विधेयकका विषयमा भने प्रधानमन्त्रीले स्पष्ट पारेका छैनन्। कार्यक्रममा सभामुख ओनसरी घर्तीले दलहरुलाई संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचनमा ढिलाई नगर्न आग्रह गरिन्। 'दलहरु मिलेर निर्वाचन गर्छनकी गर्दैन भन्ने यक्ष प्रश्न उब्जिएको छ। दलहरुले वैशाख मसान्तसम्म स्थानीय तहको निर्वाचन गरी अन्य निर्वाचन पनि समयमै सम्पन गरेर त्यसको जवाफ दिनुहुनेछ' सभामुखले भनिन्।

कार्यक्रममा प्रधामन्त्री पुष्पकमल दहाल प्रचण्डले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिता पुस्तक विमोचन गरेका थिए। पुस्तकमा २८ वटा लेख समावेश छ। पूर्व सभामुख, राजनीतिक दलका नेता, संसदका कमर्चारी, संसदीय पत्रकार लगायतका लेख समावेश छ। पुस्तक संसदीय विषयको अभिलेख भएको सहभागी नेताहरुले बताए। यस्तै पुस्तकले संसदीय पत्रकारिता गर्ने रुचाउने नयाँ पीडिका लागि सहयोगी हुने मामिलाका अध्यक्ष राजेन्द्र फुयाँल र सचिव अशोक दाहालको भनाई थियो।

सम्बन्धित समाचारः प्रधानमन्त्रीले दिए चुनावको सम्भावित मिति, एक हप्तामा घोषणा गर्ने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.