|

डडेल्धुरा : हिमपात भएपछि डडेल्धुरामा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। डडेल्धुरा सदरमुकामसहित साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्ने र हेर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो।

सुदूरपश्चिमका तराइका जिल्ला कैलाली, कञ्चनपुरसहित भारतका विभिन्न ठाउँबाट हिउँ खेल्न तथा अवलोकन गर्न आउन थालेका हुन्। पलिया अस्पताल लखीमपुर खिरीकी डा. पुस्पा अग्रवाल शनिबार दिउँसो साथी, बालबच्चासहित डडेल्धुराको साहुँखर्कमा भेटिए। यहाँ आएर उनले पहिलोपटक नजिक हिउँ देखिन। उनले डडेल्धुरा आउँदा स्वीजरल्याण्ड नै गएजस्तो महसुस भएको बनाइन्।

हिउँमा रमाएपछि उनले भनिन्, ‘तस्वीरमा स्वीजरल्याण्ड देखेको थिएँ। यहाँ आउँदा स्वीजरल्याण्ड गएजस्तो नै महसुस गरेँ।’ नेपालमा नेपाल भ्रमण वर्ष २०२० चलिरहेको उल्लेख गर्दै उनले सीमा पनि आफूहरूलाई स्वागत गरेको बताइन्।

सीमामा आएर आफूहरूले डडेल्धुरामा भारी हिमताप भएको थाहा पाएको र त्यसै हिउँमा रम्नको लागि डडेल्धुरा आएको पनि उनले सुनाइन्। ‘हिउँ हेर्नको लागि हामी यहाँ आएका छौँ। एक/दुई डडेल्धुरामा बस्छौँ त्यसपछि हामी चिसापानी जान्छौँ’ उनले भनिन्,‘नेपाल धेरै नै राम्रो लाग्यो। यहाँ संस्कार पनि उत्तिकै राम्रो रहेछ।’

‘यहाँ आउँदा एकदमै राम्रो लाग्यो हिउँ खेल्यौँ।’ धनगढीबाट हिउँ खेल्न परिवारसहित डडेल्धुरा पुगेकी रीता अधिकारीले भनिन्, ‘अहिले भिजिट २०२० पनि चलिरहेको छ। रमाइलो छ।’ साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्नको लागि दैनिक ३००/४०० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

यसवर्ष डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा दोस्रो पटक भारी हिमपात भएको छ। हगुल्टे लेकसहित डडेल्धुरा सदरमुकाम र बैतडीमा तीन फिट भन्दा बढी हिउँ परेको थियो। धनगढीबाट १२५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ हेर्न पाइन्छ। अहिले भ्रमण वर्ष समेत चलिरहेको अवस्थामा सुदूरपश्चिम घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्दै गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.