|

सुरुङ्गा (झापा) : घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाईं ठगिनु भएको त छैन? होस् गर्नुहोस्! सर्प नचाउँदै आउने सपेराले तपाईंलाई ठग्न सक्छन्।

बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका छन्।

केही दिनदेखि बिर्तामोड आसपासमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका भारतको नजवगड दिल्ली निवासी २९ वर्षीय बुधु नाथ र सोही ठाउँका ३२ वर्षीय शोकवीर नाथ जोगी बाबालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। 

उनीहरुले स्थानीय शोभा कँडेललाई रुद्राक्ष देखाएर ठगी गर्दा गर्दै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको बताइएको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए।

उनीहरुका साथबाट प्रहरीले रुद्राक्ष,सर्पका सामान बरामद गरेको छ। प्रहरीका अनुसार आफूसँग भएको एकमुखे रुद्राक्षले राम्रो गर्ने र एघार सय रुपैयाँ दिए उक्त रुद्राक्ष दिने भन्दै सर्वसाधारणलाई उनीहरुले ठग्दैआएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.