कला प्रकृतिको सुन्दर उपहार

|

काठमाडौं : 'खेर गएका सडेका अनि गलेका काठका टुक्राटुक्री, हाँगाबिँगाहरूमा जब नरेन्द्रबहादुर श्रेष्ठको दृष्टि पर्छ, तब उनको तेस्रो नेत्रले अनेक किसिमको कलाकृति/आकृति भेट्टाउँछ।

प्रकृतिप्रदत्त ती वस्तुलाई सजीवरूपमा बुलन्द पार्छन्। अनि खेर गएका काठ एकाएक जल्दाबल्दा र कलाले भरिपूर्ण नमुनामा परिणत हुन्छन्।' यो भनाइ मूर्तिकार श्रेष्ठमाथि शताब्दी पुरुष सत्यमोहन जोशीको हो। जबजब मूर्तिकार कवि तथा सर्जक श्रेष्ठको घर नक्सालमा पुग्नुहुन्छ। जोशीको भनाइलाई यथार्थमा भेट्टाउनुहुन्छ।

द्वारबाट नै उनले बनाएका मूर्तिहरूले आगन्तुकलाई स्वागत गरेर बसिरहेका हुन्छन्। फरकफरक मूर्तिले दिएको अभिव्यक्तिले मान्छे मोहित भइहाल्छ। आँगनमा छन् केही मूर्ति बनाउन तयार पारिएका कच्चा रूखका हाँगा र जरा। तिनै जराहरूको स्वरूपलाई नबिगारी श्रेष्ठले मूर्ति बनाउँछन्।  

उनी आफूलाई कलाकार भन्न पनि रुचाउँदैनन्। 'यो प्रकृतिले दिएको सुन्दर उपहार हो। मैले त स्वरूप नबिगारी कला मात्र भर्ने काम गर्छु।'

जरामा जीवन खोज्‍ने काम?

आजभन्दा ४२ वर्ष अगाडिको कुरा हो। जतिबेला उनी विराटनगरमा थिए। त्यसबेला उनी प्यारा टाइफाइड' को नामको रोगले थलिएका थिए। दिनभर उनी खाटमा आराम गरेर बस्थे। बाहिर डुल्दैनथे।

उनी कोठाबाट बाहिर एकोहोरो हेरिहरन्थे। आफ्नै घरको भित्तामा गएर ठोकिन्थ्यो उनको आँखा। हरेक दिन चिरिएको भित्तामा अनेक आकृति देखिन्थे। एकदिन उनले एउटा खुट्टा र एउटा हात मात्र भएको संघर्षशील व्यक्तिको आकार भेट्टाए। उनी रोगमुक्त भएपछि त्यो आकृतिलाई उनले मूर्तिमा परिणत गरे।

'संघर्षशील व्यक्तिको आकृतिले गर्दा मलाई कल्पनाशील बनायो। कल्पनाशील विस्तारै साहित्य र कलातर्फ अनुराग बढाउने माध्यम बनाउन मद्दत गरेको हो', उनी थप्छन्, 'जसले मेरो जरामा जीवन खोज्‍ने अभियानमा ट्रनिङ प्वाइन्ट लियो।'

के उनले भित्तामा भेटेको संघर्षशील व्यक्ति उनी आफू स्वयं थिए त? यो उनीलाई पनि थाहा छैन।

फालिएका टुक्रामा जीवन

उनी फूलेका फूल, हराभरा रूखका हाँगामा होइन। फालिएका हाँगाबिगा र जरामा जीवन खोज्छन्। कतै देखिहाले भने उठाइहाल्छन्। घरमा ल्याएर जतनले राख्छन्। यो अब उनको दैनिकी जस्तो बनिसकेको छ।

कतिपयले मूर्तिहरूलाई श्रेष्ठले आफैँ आकृतिमा ढाल्छन भन्ने सोच्छन्। तर, उनी भने प्रकृति जसरी निर्माण गरेर दिएको छ। त्यसै अनुरुप  खेल्छन्। आफ्नो मनले खोजेको आकार नबनुन्झेलसम्म। उनी प्रकृतिसँग भावनात्मकभन्दा पनि सार्थक सम्बन्ध गाँस्न चाहन्छन्।

भावनाको आवेग होइन कला

यो दुनियाँ सजीव वा निर्जीव वस्तुले केही न केही पाठ पढाउँछन्। तर, बुझ्नेले कसरी हेर्छ भन्ने हो। आफूले बनाएको मूर्तिहरू आफ्ना भावनाका उपज नभएको बताउँछन् उनी। 'धेरैजसो मूर्तिले कथा भनेका छन्। परम्परागत मान्यतालाई उल्टाएर हेर्न खोजिएको छ। शास्त्रले पढाउन खोजेको पाठको पुन: व्याख्या गर्न खोजिएको छ,' उनी आफ्ना मूर्तिले दिन खोजेको आशय प्रष्ट्याउँछन्।

मूर्तिमा कविता

उनले बनाउने मूर्ति फालिएका काठका टुक्राहरु, बगरका लेउहरूबाट बन्छन्। फुर्सदको समय उनी जंगल र बगरतिर टहलिन्छन्। फालिएका जरा र काठका टुक्रा बोकेर आउँछन्। उनी ती टुक्राहरुबाट के बनाउन सकिन्छ। सोच्छन्। जरा र काठको टुक्राको आकार र आफ्नो सोच मिल्यो भने उनी मूर्ति बनाउँछन्। नत्र आगो तापेर सकिदिन्छन्।

उनी भन्छन्, 'फ्याँकिएका, बगरका छेउ लम्पसार परेका काठका ठुटा,लेउ लागेका काठहरू उठाएर तिनीहरूभित्र जीवन खोज्नु मेरो धर्म हो।' उनले संगालेका काठमा कहिले धार्मिक, सांस्कृतिक मिथकहरू भेटिन्छन्। कहिले राजनीति, इतिहास र वैश्विक मामिलाका परिघटना र पात्र भेटिन्छन्।

उनले निर्माण गरेका मूर्तिहरू हेरेर कविहरूले कविता पनि लेखेका छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि लिएर अहिलेका नेपाली युवा कविहरूले कविता लेखेका छन्। लगभग ३५ कविले लेखेका कविता उनले आफ्नो निजी सम्पत्ति मान्छन्। उनले ती कविताहरूलाई दृष्टिकोण जरामा अर्थ खोज्दा' पुस्तकमा समावेश गरेका छन्।

श्रेष्ठको मूर्तिकलाबाट मोहित भएर राष्ट्रकवि घिमिरेले टिप्पणी गर्छन्, 'कलाले भरिएको नक्सालस्थित उनको घरलाई मैले मन्दिर भन्ने गरेको छु। उनका कलाका  आफ्नो युगको तस्वीर छ। कुनैमा राजनीतिक नेताको अनुहार छ त कुनैमा आध्यात्मिक चेत छ। कस्तो विलक्षण आँखा होला उनको?'

संग्रहालय बनाउने लक्ष्य

४२ वर्षको समयावधिमा ३९ वटा मूर्ति बनाएका छन्। उनले यो मूर्ति बनाउनु आफ्नो शोख मात्र रहेको बताउँछन्। उनको मूर्तिमा भेटिने जीवन्त कलाहरूमा मोहित हुनेहरू सायदै कम छन्। किन्‍न चाहने र आफ्नो घरमा सजाउने मन गर्नेहरूले उनको घरसम्म आउने गर्छन्। तर, उनी आफ्नो कला बेच्न चाहँदैनन्।

भूकम्पले क्षतविक्षत बनाएको सालताका भूकम्पपीडितका लागि उनले पनि आफ्नो मूर्ति बेचेर केही सहयोग गर्ने सोचे। उनले एउटा मूर्ति आर्ट काउन्सिलमा पुर्‍याए। त्यो रात उनलाई खुबै छटपटी भयो। भोलिपल्ट आफ्नो सिर्जना आफैँले किनेर लिए आए उनले' रातभर छटपटी भइरह्यो। भोलिपल्ट आफ्नो मूर्ति आफैँले १२ हजार तिरेर ल्याएँ', उनी मुस्कुराउँछन्।

उनले हरेक काठबाट एउटा मात्र पिस मूर्ति बनाउँछन्। उनले आफूले निर्माण गर्ने मूर्ति दुनियाँमा एक पिस मात्र हुने दाबी पनि गर्छन्। आफूले सिर्जना गरेको मूर्तिहरूको संग्रहालय बनाउने सोचमा छन् उनी। 'गोदावरीमा एउटा संग्रहालय बनाउँछु। त्यसैमा आफ्नो सिर्जना देखाउँछु।' उनले आफ्नो भावी योजना सुनाए।

सिर्जनाको माध्यमले बाँच्‍न चाहन्छु

मान्छे जन्मन्छ, मर्छ। सबैले आफू बाँचेको कालमा केही न केही गर्न चाहन्छ। श्रेष्ठले पनि व्यापार गरे। विशाल बजारको प्रमुख बने। कविता लेखे। कवि बने। नाटकमा अभिनय गरे। कलाकार बने। तर, काठ र जराबाट उनले यस्तो मूर्तिहरू बनाए कि हरेक उनका साथीले बाटोमा हिँड्दै गर्दा जरा र फालिएका काठ देख्छन् उनलाई फोन गरिहाल्छन्।

उनी भन्छन्, 'मूर्तिहरूले मलाई एकदमै सन्तुष्टि दिएका छन् कि कोही साथी बाटोमा हिँड्दै गर्दा काठ र जरा देखे भने मेरो अनुहार सम्झन्छन्। यो मेरो जीवनको ठूलो उपलब्धि हो।' उनले आफूले निर्माण गरेको मूर्तिले आफ्नो जीवन सार्थक बनेको अभिव्यक्ति दिन्छन्। 

तस्विर : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.