|

काठमाडौं : लामो समयदेखि निर्माण हुन नसकेको वैकल्पिक मनोहरा करिडोर सडक खण्ड अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। करिडर सञ्‍चालनमा नआउँदा कोटेश्वर क्षेत्रमा हुने लामो सवारी जामको समस्या पनि हट्न सकेको छैन।

काठमाडौंको शंखरापुर,कागेश्वरी मनोहरा, भक्तपुरका मध्यपुरठिमी र चाँगुनारायण गरी चार नगरपालिकाले संयुक्त रूपमा मनोहरा करिडोरलाई जोडेर सडक निर्माण गर्न लागेको हो। सडक निर्माण कम्पनीको बेवास्ताको कारणले सहज रुपमा करिडोर सञ्चालनमा आउन नसकेको  संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ।

करिडोरको सडकमा ग्राभेल गरिसकेको तर पिआइडीले क्रस पाइप नराखेको हुनाले कालोपत्रे हुन नसकेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुदर्सन कार्कीले बताए। उनका अनुसार करिडोरको लम्बाइ १२ सय मिटर रहेको छ। ११ मिटर चौडाइको काम र ग्राभेलको काम पूरा भए पनि ब्ल्याक टनको काम पूरा गर्न बाँकी छ। मनोहरा करिडोर सडखखण्ड निर्माण हुँदा कोटेश्वर-जडीबुटी सडकखण्डको जाम घट्ने विश्वास उनले व्यक्त गरे।

'उनले भने,' सडकको पानी ढलमार्फत जानको लागि पायप हाल्नुपर्ने हुन्छ। पायप हाल्ने काम पिआइडी (निर्माण कम्‍पनी) ले नगर्दा कालोपत्रे हुन सकेको छैन।'सडकको लागि पानीको व्यवस्थापन धेरै महत्वपूर्ण हुने भएकोले पानीको निकास दिने ठाउँ नभइकन कालो पत्रे गर्न नमिल्ने भएकोले काम रोकिएको उनले प्रष्ट पारे।

कार्कीले भने, ‘कालोपत्रेको हकमा पिआइडीले क्रस पाइप राख्नुपर्नेछ। पिआइडीले क्रस पाइप नराखेको हुनाले कालोपत्रे गर्न सकिएको छैन। पिआइडीलाई कसले तह लगाउने ठेकेदार पनि उस्तै काम नगर्ने र पिआइडी पनि उतै मिल्न गएकोले काम ढिला भएको हो।’ 

विभागको वहानाले ढिलाइ

 सडक विभागले स्पष्ट निर्देशन गर्न नसक्दा निर्माण गर्न नसकिरहेको निर्माण कम्पनी पिआइडीका म्यानेजर सुरज बमले बताए। उनका अनुसार प्रधानमन्त्री कार्यालयमा बोलाएर पिआइडीलाई कामको जिम्मा दिएको छ। माघको अन्तिमसम्ममा काम सकेर विभागलाई जिम्मा दिने गरी काम भइरहेको म्यानेजर बमको भनाइ छ। 

उनले भने, ‘हामीले ४० ठाउँमा क्रस पाइप राख्नुपर्छ। हामीले काम गर्नुभन्दा पहिला नै २ ठाउँमा क्रस पाइप  राखिएको छ। त्यसकारणले अरूले गरेको ठाउँमा हाम्रो कन्ट्याक्टरले काम गर्न नसकेको हो। हामीलाई दिएको भए काम छिटो र सरल हुन्थ्यो।'

सडक डिभिजनले विभागले बहाना गरिरहेको उनले आरोप लगाए। सात महिना सम्म विभागले काम नगरी बसेर अन्तिममा कन्ट्रयाक्टरलाई जिम्मा लगाएर पन्छिन नमिल्ने उनले प्रष्ट पारे।

कोटेश्वरको जामबाट मुक्ति पाउने आस

यो करिडोर सञ्चालनमा आउनासाथ  कोटेश्वर जडीबुटी क्षेत्रको सडकको जामको सास्तीबाट मुक्ति पाउनेछन्। साँखु ब्रह्मखेलबाट सुरु भई ६ लेनको कोटेश्वर–सूर्यविनायक खण्डको जडीबुटीमा जोडिने मनोहरा करिडोर बालकुमारी पुलसम्म पुग्दा नौ किलोमिटर लम्बाइको हुनेछ।

३० मिटर खोलाको बहाव छाडेर किनारबाट २०/२० मिटर दायाँबायाँ छाडेर सडक बनाइएको छ। तीमध्ये ११ मिटरमा सडक र ९ मिटरमा ग्रिनबेल्ट निर्माण गरिएको कार्कीले बताए। मनोहरा करिडोर सडकखण्ड बालकुमारीमा आएर टुंगिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.