सातामै दुईजना कर्मचारी पक्राउ

|

पर्सा : वीरगन्ज महानगरपालिकाका कर्मचारी घुससहित पक्राउ परेको हप्ता बित्न नपाउँदै सोमबार फेरि पर्साको नापी कार्यालयका अर्का कर्मचारी घुससहित पक्राउ परेका छन्। 

सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्। 

पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले थाहाखबरलाई बताए। 

'सेवाग्राहीसँग जग्गा हाल साविक गरी पुनः नापीको जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भन्दै ७५ हजार घुस लिँदै रहेछन्', उनले भने। 

सेवाग्राहीसँग घुस लिँदै गरेका सर्वेक्षक पासवानलाई थप अनुसन्धानका लागि अख्तियारको हेटौँडा कार्यालयमा पुर्‍याइसकेको टोलीमा आएका सदस्यले बताए। 

पासवान पहिलेदेखि नै सेवाग्राहीसँग घुस रकम लिन पल्केको आफूहरुलाई सूचना प्राप्त भएको टोलीका सदस्यहरुको भनाइ छ ।  

स्थायी घर महोत्तरी जिल्ला मोहत्तरी नगरपालिका-४ भएका ५३ वर्षीय पासवान नापी कार्यालय पर्सा अन्तर्गत २ नं. नापी टोलीको कार्यालयका अनुभवी कर्मचारी रहेको कार्यालयका अरु कर्मचारीले बताएका छन्। 

पर्सामा नै गएको गत पुस १४ गते पनि वीरगन्ज महानगरपालिका लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियारले १५ हजार घुस सहित रंगेहात पक्राउ गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.