|

दमक : झापाको लखनपुरमा नेपालको इतिहासमै पहिलोपटक बाल महोत्सव हुने भएको छ। उज्यालो बाल क्लब लखनपुरको आयोजनामा स्थानीय आदिवासी रंगशालामा हुने महोत्सव झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढलाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयाेजकको छ।

कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बालगायन, बक्तृत्व कला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचना/प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताए ।

माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवले बालबालिकालाई अध्ययनका अलावा अतिरिक्त क्रियापकलापमासमेत अब्बल बानाउन सहयोग पुग्ने उनको विश्वास छ। १५ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा सम्पूर्ण प्रदर्शनी बालबालिकासँग सम्बन्धित रहेन छ।

यसको आयोजना माघको दोस्रो साता नै गर्ने तयारी रहेको भएपनि सरोकारवालाहरुको सुझावलाई मध्यनगर गर्दै अन्तिम साताका लागि सारिएको भण्डारी बताउँछन्। 'सरोकारवालाहरुले दिएको सुझाव र महोत्सवलाई थप अझ प्रभावकारी बनाउका लागि केही समय आवश्यक भएकाले हामीले महोत्सवलाई केहि समय पर लगेका छौँ,' उनले भने, 'महोत्सव अब माघको अन्तिम साता अर्थात २५ गते देखि २९ गतेसम्म हुनेछ ।’

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १२ वटा उपसमिति निर्माण गरिएको आयोजक समितिका सदस्य दिनेश संग्रौलाले बताए। लखनपुरमा हाल २४ वटा बाल क्लब सक्रिय छन्। आयोजकले महोत्सवका यी सबै क्लबहरुसँग समन्वय गरिएको बताएको छ।

 
तीन वर्षअघि गठन भएको थियो क्लब
२०७० कात्तिक २१ गते लखनपुर-३ का ५५ जना स्थानीय बालबालिकाको उपस्थितिमा यस क्बलको गठन भएको थियो। अभिभावकहरुको संरक्षकत्व पाएको यस क्लबमा हाल १ सय २० जना सदस्य छन्। उनीहरु सबै कक्षा १ देखि १२ सम्ममा अध्ययनरत छन्।

कार्यालय नै राखेर सञ्चालन भइरहेको यस क्लबको बैठक प्रत्येक शनिबार हुँदै आएको छ। स्थानीय संघ-संस्था, विद्यालय तथा अन्य क्लबहरुसँग पनि सहकार्य गर्दै आएको क्लबले जनचेतनामुलक र अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ।

 

देशमै नयाँ सुरुवात
देशमा आजसम्म बालबालिकालाई लक्षित गरेर महोत्सव आयोजना नभएकाले आफूहरुले त्यसको सुरुवात गरिएको संयोजक भण्डारी बताउँछन्। 'नेपालको सन्दर्भमा हामीले धेरै प्रकारका महोत्सवहरु देखेका तथा सुनेका छौँ, त बालबालिकालाई लक्षित गरेर महोत्सव कतै नभएकाले हामीले आयोजा गर्ने सोच बनाएका हौँ,' उनले भने।

राष्ट्रिय तथा स्थानीय बालकलाकारहरुको प्रस्तुती रहने  महोत्सवमा बालबालिकाकाे चासो र आवश्यकताभित्र पर्ने खालका ५० भन्दा बढी स्टल रहनेछन्। विभिन्न विधामा कीर्तिमान कायम गर्न सफल बालबालिकालाई पनि यसमा सहभागी गराउने तयारी भइरहेको प्रचार संयोजक विष्णुप्रसाद पोखरेलले जानकारी दिए. 'कार्यक्रमलाई फलदायी बनाउछौँ, यसकालागि विश्व रेकर्ड राख्न सफल बालबालिका पनि ल्याउने तयारीमा छौँ,' उनले भने, 'अहिले यस्ता बालबालिकाको खोजी भइरहेको छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.