|

काठमाडौं : सरकारले भ्रमण वर्षको सुरुवातको घोषणा गरिसके पनि काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको सम्पदा मार्ग निर्माण सामग्री र फोहोरै फोहोरले भरिएको छ। महानगरपालिकाले हनुमानढोका दरबार स्क्वायर–स्वयम्भू सम्पदामार्ग निर्माणको काम गरिरहेको छ। 

'सम्पदा मार्ग भन्नै लाज हुन्छ' काठमाडौं महानगरपालिका-१५ ले आयोजना गरेको सम्पदा पदयात्रा मार्गमा सहभागी डल्लुका विकास बज्रचार्यले भने।

भ्रमण वर्ष सुरु भइसकेको छ बढीजसो पर्यटक यही वसन्तपुर क्षेत्रमा आउँछन् यहाँको पदमार्गले लोभ्याउन नसके यसको कुनै महत्व नहुने बज्राचार्यको धारणा छ। 'सम्पदामार्ग जस्तो नै छैन भएका भित्‍तेचित्र सबै मेटिएका छन,'उनले भने, पदमार्ग घरको गल्लीमा रहेको छ, एकजना मानिस पनि सहज ढंगले जानसक्ने अवस्था छैन।'

सम्पदा मार्गमा जताततै राखिएका निर्माण सामग्रीले पर्यटकलाई आकर्षणको सट्टा वितृष्णा फैल्याएको देखिन्‍छ। मार्गमा निर्माण सामग्री राखिएका छन्  स्थानीय कला संस्कृति झल्किने वस्तु केही पनि राखिएको छैन।

पदयात्रामा निस्कने पदयात्रीले सम्पदा मार्गमा निस्कने हरेक पर्यटकले काठमाडौं महानगरपालिका भित्रको सम्पदाको सम्पूर्ण जानकारी पाउनुपर्ने गरी सूचना बोर्ड राख्दा पर्यटकलाई जानकारी पाउनलाई सहज हुनेछ।

सोचेजस्तो काम गर्न सकेनौँ : महानगर

भ्रमण वर्ष २०२० मा महानगरपालिकाले सम्पदा निर्माणको पूर्वाधारलाई मुख्य उद्‍देश्य बनाए पनि सोचेजस्तो सम्पदा निर्माण गर्न नसकेको स्वीकार्छन् काठमाडौं महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोल। उनका अनुनसार हनुमानढोका दरबार स्क्वायर–स्वयम्भू सम्पदामार्ग आगामी तीन वर्षभित्र तयार हुने भएको छ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगले बनाएको गुरुयोजनाअनुसार आर्थिक वर्ष ०७७/७८ भित्र सम्पदामार्ग बनिसक्नेछ। विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको २.२ किलोमिटर मार्ग पाँच चरणमा निर्माण हुनेछ।

उनले भने, 'भ्रमण वर्षमा केही लक्षित सम्पदा मार्गलाई तत्काल मार्गको सफाइ गरिन्छ। बाटोमा राखिएका फोहोर पनि हटाइन्छ। फोहोर गरेको भेटेमा जरिवाना गरिन्छ। सम्पदा मार्गमा फोहोर नगर्नलाई सुचना बोर्ड पनि राखिन्छ।'

घरका भित्तामा भित्तेचित्र निर्माण गरिने उनले बताए। पदमार्गमा हस्तकला सामग्रीसम्बन्धी उद्योग राखिने उनले जानकारी दिए। सुबिनिएर सप, रेन्टुरेन्ट, क्याफे, बेकरी सप, फोटो पसल, हेरिटेज होम, किताब पसल, आयुर्वेद पसल, कृषिमा आधारित पसल राखिने डंगोलले बताए।

निर्माण सामग्रीको पसल, तरकारी पसल, काँचो मासुको पसल, मोटरसाइकल, ठेला मर्मत गर्ने पसल, ग्रिल वा वेल्डिङ पसल, कुखुरा, हाँस, चौपाया पालनसम्बन्धी उद्योग सञ्चालनमा समेत रोक लगाउने तयारी गरिरहेको उनको भनाइ छ।

काठ चिर्ने मेसिन प्रयोग, वातावरण दूषित वा प्रतिकूल असर पर्ने क्रियाकलाप, ग्यास, पेट्रोल, दाउरा, कोइला मट्टीतेलजस्ता प्रज्वलनशील पदार्थको बिक्री–वितरण गरेको पाइएमा जरिवान गरिने उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.