आगो लागेको ठाउँमा पुरिएको थियो किशोरीको शव

|

पर्सा : पर्साको पोखरिया नगरपालिका-९ शिववर्वा टोलका वीरेन्द्र महतो तत्वाको छोरी १५ वर्षीया पुनिता देवीको हत्या आरोपमा उनकै आमासहित चारजना पक्राउ परेका छन्।

पुनिताको कर्तव्य गरी शव वेपत्ता बनाउन जलाए र अवशेषलाई गाडेको घटनामा संलग्न रहेको आशंकामा आमा र तीन सहयोगीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मृतक पुनिताकी आमा ३० वर्षीय शिवकली देवी, सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र पोखरिया नगरपालिका-८ का १९ वर्षीय सुवोध भन्ने जितेन्द्र यादव रहेका छन्।  मृतक पुनिताका बाबु वीरेन्द्र महतो तत्वा भने फरार रहेका छन्।

पर्सामा गएको पुस १ गते पोखरियाका विभिन्न ११ ठाउँमा शृंखलाबद्ध आगलागी भयो। सोही समययता तत्वाकी छोरी पुनिताको पनि चालचुन भएको बुझिएको छ।

यसबीचमा पुनिताको हत्या गरी अभियुक्तले शव वेपत्ता बनाउन जलाए र अवशेषलाई गाडेको भन्ने प्रहरीलाई सूचना आयो। सूचना पच्छ्याउँदै जाँदा सोमबार बेलुका मृतकका केही शरीरका आंशिक भाग भेट्टाएको प्रहरीले जनाएको छ।

'पुनितालाई झण्डै २१ दिन अगाडि हत्या गरी घरभन्दा नजिकैको खोलामा लगी जलाएर अवशेष गाडेको छ भन्ने प्रहरीलाई प्राप्त सूचनाका आधारमा निगरानी बढाउँदा मृतकको शरीरको आंशिक भाग फेला पर्‍यो' घटनास्थल पुगेका प्रहरी टोलीका सदस्य इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीले भने 'यो घटनामा परिवारका सदस्य नै बढी सम्लग्न भएको देखिन्छ। बाँकी कुरा त अनुसन्धानपछि मात्र भन्न सकिन्छ।'

यो घटनाको प्रारम्भिक अनुसन्धान गर्दा पर्सा प्रहरी मातहतको प्रहरीले मृतक पुनिताकी आमासहित थप तीन अभियुक्तलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। 'पक्राउ परेका अभियुक्तले घटना गराएको समय र २१ दिन पहिले पर्सामा शृंखलाबद्ध ढंगले पोखरियामा नै आगलागीको भएको घटनाको संयोग भने मिलेको छ' उनले भने।

स्थानीय र सुरक्षाकर्मीसमेत चकित हुने गरी चार घण्टाको अन्तरालमा ११ ठाउँमा आगलागी भएको थियो। त्यही समयमा पुनिताको हत्या भई शव गायव गरिने प्रयास गर्नुले अनुसन्धान उता पनि हुन सक्ने प्रहरी उपरीक्षक राठौरले बताए।

सुरक्षाकर्मी र आम मानिसको ध्यान आगलागीतर्फ तानी पुनिता को शव व्यवस्थापनमा कर्तव्य ज्यान गरी हत्या गरेका अभियुक्तले दिग्भ्रमित गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.