पहिलो कारवाहीमा तीन दिनसम्म सडकमै दुई घण्टा

|

काठमाडौंः काठमाडौं उपत्यकामा टयाक्सीमा यात्रा गर्दा सामान छुट्यो, चिन्ता नगर्नुहोस। टयाक्सी नम्बर याद छ भने ट्राफिक महाशाखाले टयाक्सी खोजेर तपाईंको सामान फिर्ता गराउने छ।

यही पुस १३ गते बा २ ज ३४४३ को नम्बरको ट्याक्सीमा सामान छुटेको निवेदन महाशाखामा परेको थियो। पाटनदेखि मुलपानी जाने क्रममा जसध्वज गुरुङको झोला छुटेपछि निवेदन लिएर उनी महाशाखा पुगे।

यात्रुले सामान छुटेको टयाक्सी चालकलाई सम्पर्क गरी सामान बुझाउन अनुरोध गर्दा बुझाउन मानेका थिएनन्। त्यसपछि टयाक्सी चालक मिन बहादुर श्रेष्ठलाई ट्राफिक महाशाखाबाट सम्पर्क गरी सामान बुझाउन भनिएको थियो। त्यसपछि मात्रै आफ्नो ट्याक्सीमा छुटेको गुरुङको सामान फिर्ता गर्न उनी आएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव निरीक्षक शंकर पाण्डेले जानकारी दिए।

बारम्बार ट्याक्सीले बदमासी गरेको गुनासो आएपछि उपत्यकामा सञ्चालित सबै टयाक्सीको नम्बरसहित चालकको विवरण राखिएको ट्राफिक महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाका चोक-चोकमा राखिएको क्यामेराको सहयोग लिएर पनि टयाक्सीलाई खोजी गरिने ट्राफिक महाशाखाका प्रनानि पाण्डेले बताए। बुधबार टयाक्सी नम्बरको आधारमा  चालकलाई सम्पर्क गरि यात्रुको सामान बुझाउन लगाइएको हो।

उनका अनुसार छुटेको सामान नबुझाउने टयाक्सी चालकलाई तीन दिनसम्म दुई घण्टाका दरले ट्राफिक स्वयमसेवकको काम लगाइनेछ। पहिलोपटक परेकाले श्रेष्ठलाई सचेत गरेर छोडिएको छ।

उनले पुनः गल्ती गरे मुद्दा प्रक्रियामा लगिने महाशाखाले जनाएको छ। 'उपत्यकामा सञ्चालित अधिकांश टयाक्सी चालकमा ठग्ने मनोवृत्ति रहेको छ,' उनले भने, 'टयाक्सीमा यात्रुको सामान छुटेमा इमान्दारीसाथ ट्राफिक महाशाखामा  बुझाएमा स्याबासी दिइन्छ। अटेर गरेमा कारवाही चलाउँछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.