पहिलो दिनमा २१ जनाले बोले

|
फाइल फोटो

हेटौंडाः प्रदेश ३ को प्रदेशसभामा बुधबार प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ। 

प्रदेश सभाको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत भए पछि पहिलो दिनमा २१ जना सांसदले आफ्नो धारणा व्यक्त गरेका छन्।

काभ्रे भर्सेस हेटौंडा

राजधानीको विषयमा बोल्ने अधिकांश सांसदहरूले हेटौंडा र काभ्रेको पक्ष लिँदै बोलेका थिए। राजधानीको विषयमा सबै भन्दा पहिलो वक्ताको रुपमा बोलेका नेकपाका प्रदेश सभा सदस्य शशिजंग थापाले भने सबै हिसाबले भक्तपुर उपयुक्त भन्ने तर्क गरेका थिए।

यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बलराम पौडेलले कुनै पनि हालतमा हेटौंडाबाट राजधानी सार्न नहुने तर्क गरेका थिए। उनले हेटौंडा सामरिक महत्वको आधारमा उपयुक्त स्थान भएको बताए।

यता काभ्रेका प्रदेश सभा सदस्य रत्न ढकालले काभ्रे उपयुक्त भएको तर्क गरेका थिए। प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले नुवाकोट पृथ्वी नारायण शाहले समेत कुनै समय राजधानी बनाएको भन्ने तर्क दिँदै राजधानी नुवाकोटमा उपयुक्त हुने बताए।  

नेपाली कांग्रेसकी ललितपुरकी सांसद विजया श्रेष्ठ केसीले हेटौंडा राजधानी उपयुक्त धेरै किसिमले भएको तर्क गरेकी थिइन्। उनले हटौंडाबाट राजधानी सार्न खाजे फेरि सरकारलाई अल्झाउनु खोज्नु भएको बताइन्।

यता नेकपाका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाइँले हरेक दृष्टिकोणले काभ्रे प्रदेश ३ को राजधानी राख्न उपयुक्त भएको बताए। उनले मुटुमाथि ढुंगा राखेर हास्नु पर्ने अवस्था नल्याउन आग्रह समेत गरेका थिए।

त्यस्तै प्रदेश सभा सदस्य विशाल खड्काले पनि काभ्रे राजधानीको लागि उचित हुने बताए। नेकपाका प्रदेश सभा सदस्य चन्द्र लामाले पनि कुनै पनि हालतमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै काभ्रेको लागि मतदान गर्न समेत आग्रह गरेका थिए।

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य गीता वाग्लेले भने हेटौंडा राजधानी हुनुपर्ने तर्क गरेकी छिन्। उनले सुरक्षा, भौगोलिक अखण्डताको हिसाबले हेटौंडामा राजधानी उपयुक्त हुने बताएकी हुन्।

भक्तपुरबाट नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णलाल भडेलले आफूलाई भाग्यमानी सांसद ठानेको भन्दै आफू आउने वित्तिकै प्रदेशको राजधानी र नामाकरणको विषयले संसदमा प्रवेश पाएको बताए। उनले प्रदेश ३ को राजधानी भक्तपुर र नामाकरण चाँगुनारायण हुनु पर्ने बताए।

काभ्रे राजधानी हुनु पर्छ भन्दै प्रदेश सभा सदस्यहरु लक्ष्मण लम्साल, इन्द्र माया गुरुङ, शान्ति प्रसाद पौडेल लगायतले तर्क गरेका थिए भने राप्रपाकी प्रदेशसभा सदस्य रीता माझी, नेकपाका प्रदेश सभा सदस्य विजय सुवेदी लगायतले हेटौंडा राजधानी उपयुक्त हुने तर्क गरेका थिए। हालसम्म मकवानपुरका कुनै पनि प्रदेश सभा सदस्यहरूले बोलेका छैनन्।

प्रदेश सभाको वैठक भोलि बिहीबार ३ बजे सम्मलाई स्थगित भएको छ। भोलि पनि प्रदेशको राजधानीको विषयमा बाँकी प्रदेश सभा सदस्यहरूले बोल्ने सभामुख सानुकुमार श्रेष्ठले बताए। 

प्रतिवेदनमाथि नै प्रश्न

यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रतिवेदन नै अपुरो भएको भन्दै प्रश्न उठाएका छन्। उनले प्रतिवेदन सरकारको पैसा उडाउने काममा मात्रै खर्च भएको भन्दै ५ स्थान नै उपयुक्त भन्ने तर्क दिनु हचुवा भएको बताए।

यस्तै नेकपाकी प्रदेश सभा सदस्य प्रतीमा श्रेष्ठले पनि प्रतिवेदनले उपयुक्तताको आधारमा नछुट्याइकन पेश गर्न नहुने भन्दै महत्वपूर्ण स्थानलाई प्राथिमकता दिएर छुट्याउनु पर्ने बताएकी थिइन्।  

२०७५ साल वैशाख १४ प्रदेशसभाको बैठकले दीपक निरौलाको संयोजकत्वमा १० सदस्यीय स्थायी राजधानी र नामकरणका लागि विशेष समिति गठन गरेको थियो। ४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदन प्रदेश सभाको बैठकमा सभामुख श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबल गरेका थिए। संसदमा विशेष समितिको प्रतिवेदन टेवल भएको करिब एक वर्षपछि अर्थात २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले सदनमा स्थायी राजधानी र नामकरण टुंग्याउन कार्यविधि सदनमा पेश गरेका थिए।

उक्त कार्यविधि सोही दिन सर्वसम्मत रुपमा पारित भएको थियो। विशेष समितिले प्रदेशका १० जिल्लाको स्थलगत भ्रमण गरेर सम्भावित राजधानीको नाम वर्णाणुक्रम अनुसार जिल्लाको नाम सिफारिस गरेको थियो। सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला रहेका थिए।

नेपालको संविधान, प्रदेशसभा नियमावली, प्रदेश सभाको स्थायी राजधानीको समितिको प्रतिवेदनको आधारमा कार्यविधि पेश भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.