|

बागलुङ : बागलुङ नगरपालिकाले जिल्ला सदरमुकाम नजिकै रहेको सामुदायिक वनमा ‘प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण थालेको छ। पर्यटक आकर्षण गर्न सकिने भन्दै नगरपालिकाले जुलोलिकल पार्क निर्माणको प्रारम्भिक काम थालेको हो।

मालिका सामुदायिक वन क्षेत्रमा पार्क बनाउन नगरपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालेको छ। पार्क बनाउने भनिएको सामुदायिक वन क्षेत्र बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्छ। गत बर्ष गरिएको सम्भाव्यता अध्ययनले पनि उक्त वन क्षेत्रमा प्राणी उद्यान निर्माण गर्न सकिने देखाएको थियो। सोही सम्भाव्यता अध्ययनका आधारमा आठ लाख रुपैयाँ खर्च गरी डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

मालिका जैविक सामुदायिक वन क्षेत्रमा पर्ने १ सय ७५ हेक्टर जमिनमा उद्यान निर्माण गरिने नगरपालिकाले जनाएको छ।  ‘आरकेटेक डिजाईन सिभिल कन्ट्रक्सन’ले डिपिआरका लागि यसै सातादेखि काम थालेको हो। कम्पनीले २ जना इन्जिनियर र दुई जना वातावरण विज्ञ पठाएर स्थलगत अध्ययन थालेको छ। ‘यो साता स्थलगत अध्ययनको काम सकिन्छ’ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘डिपिआर तयार भएपछि पार्क निर्माण थाल्छौं।’ 

तीन महिनामा डिपिआर तयार गरी बुझाउने कम्पनीका प्रमुख शेरसिंह ठगुन्नाले बताए। उनले भने ‘सम्भाव्यता अध्ययनले देखाएका सबै स्रोतको परिचालन हुनेगरी डिपिआर तयार हुन्छ।’ बागलुङ आउने पर्यटकलाई जैबिक बिबिधता सहितको उद्यानमा रमाउने वातावरण बनाउनका लागि नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो।

मालिका सामुदायिक वन क्षेत्रमा १ बढी धेरै प्रजातीका जैविक वस्तुहरु र सोही मात्रामा जंगली जनावर तथा पंक्षीहरु रहेको अनुमान छ। पर्यटकीय महत्वका ताराजाल कोट, कारीकोट, माझकोट, संसारकोट र रायँरायकोट लगायतका क्षेत्र यही वन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पुर्‍याउन सहज हुने नगरपालिकाको विश्वास छ। यी पाँच कोट मिलाएर बनेको पञ्चकोट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ।

यस क्षेत्रबाट दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ। उद्यान बनाउने भनिएको बन क्षेत्रमा तीन किसिमको हावापानी पाईने भएकाले पनि त्यहाँ पुग्ने पर्यटकले तीन किसिमको वातावरण महसुस गर्न सक्छन्। ‘जैविक बिबिधतामा बन्यजन्तुह हेर्दै रमाउन चाहनेहरुका लागि यो क्षेत्र उपयुक्त छ’ नगरप्रमुख पौडेलले भने ‘वातावरणीय संरक्षण र धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो उद्यान कोषेढुंगा बन्न सक्छ।’

डिपिआर बन्दै गरेको उद्यान क्षेत्रमा रहेका समथर जमिनको प्रयोग गरेर पर्यटकको बसाई लम्बिने गरी बासस्थानको व्यवस्थापन गर्ने योजनामा नगरपालिकाको छ। उद्यान भित्र वातावरण र प्राणीलाई असर नपर्नेगरी रिसोर्टहरु सञ्चालन सम्मको योजना रहेको प्रमुख पौडेल बताउँछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.