|

काठमाडौं : विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा धुम्रपान र मदिराजन्‍य वस्तु बिक्री गर्ने पसलहरू सञ्‍चालन गरेको पाइएको छ। यस क्षेत्रको लक्ष्मी मन्दिरमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चुरोट, सुर्ती जस्ता अखाद्य वस्तुहरु धमाधम बिक्री भइरहेका हुन्।

विश्व सम्पदा क्षेत्रको वरिपरि पसल राख्ने व्यवस्था नभए तापनि निर्वाध रुपमा धुम्रपान जडित वस्तुहरु बिक्री भइरहेको छ। हजुरबुबाको पालादेखि पसल सञ्चालन गरेर बसेकोले यहाँ पसल गरेर ऐतिहासिक सम्पदाको संरक्षण गरिरहेको पसल सञ्चालक नितेश श्रेष्ठ बताउँछन्। 

पिता पुर्खाले ऐतिहासिकस्थल,खाली जग्गाको संरक्षण गरिरहेकोले पसल सञ्चालन गरेर बसेको उनले प्रष्ट पारे। उनले भने,' हाम्रो गुठीको यो मन्दिर हो। हामीले यसको सञ्चालन गरिरहेको छौँ। यसको संरक्षण पनि गरिरहेको छौँ। पसल गर्दा केही असर परेको छैन।'

सम्पदा अभियन्ता सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठले विश्व सम्पदा क्षेत्रमा भएका सबै पसल हटाउनुपर्ने बताए। उनका अनुसार सरोकार निकायवालाले गम्भीर भएर यसको अध्ययन गरेर यस्ता अवैधानिक पसल सञ्चालन भएका छन भने हटाउनुपर्छ। उनले भने, 'सम्पदा क्षेत्रमा यस्ता अवैधानिक पसल सञ्चालन हुनुहुँदैन। पसलबाट मद्यपान र धुम्रपान जस्ता वस्तु विक्री वितरणमा रोक लगाइनुपर्छ।'

गुठियारहरूमा पनि समस्या रहेको र त्यसलाई अनुचित ढंगबाट प्रयोग गरिरहेका कारण यसको लागि एक प्रतिवेदन तयार गरी स्थानीय सरकारको ध्यानाकर्षण बढाउनलाई आग्रह गरिने उनले स्पष्ट पारे।

मदिराजन्‍य बिक्री रोक्ने तयारीमा महानगर

महानगरपालिकाभित्रको सम्पदामा त्यस्तो पसल राखिएको भेटिए हटाइने काठमाडौं महानगरपालिका हनुमानढोका कार्यालयका प्रमुख रोशन शाक्यले बताए। उनका अनुसार विश्व सम्पदा क्षेत्रमा पसल राख्न पाइन्न।सम्पदाभित्र धुम्रपान र मद्यपान गर्न पाइँदैन। 'धुम्रपान जन्य वस्तको बिक्री भएको छ भने रोक लगाइन्छ,' उनले भने।

विश्व सम्पदा क्षेत्रमा रहेका फुटपाथ पसललाई हटाइसकेको उनले बताए। कतिपय स्थानमा कबोल गरेर सञ्चालित गरिएका पसललाई हटाउन नसकिरहेको उनको भनाइ छ। 

'पर्यटन वर्षलाई लक्षित गरी यस्ता पसललाई कडाइ पनि गरिरहेका छौँ,' उनले भने,'विश्वसम्पदा सूचीमा रहेका स्थानमा बढी पर्यटक आउने भएकोले सधैँ सरसफाइमा पनि ध्यान दिइरहेका छौँ। धुम्रपानजन्य वस्तुले यस्ता क्षेत्रमा विक्री गर्दा बाह्यय पर्यटक प्रति नराम्रो सन्देश जान्छ।'

महानगरको कार्यक्षेत्र भित्र नपरे पनि विश्वसम्पदाको आसपासमा धुम्रपान जडित वस्तु विक्री गर्न नदिने उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.