अन्य वस्तुको निर्यातमा पनि पर्न सक्छ असर
अन्य वस्तुको निर्यातमा पनि पर्न सक्छ असर
काठमाडौं : धेरै आर्थिक सूचक सन्तोषजनक नरहँदा चालु आर्थिक वर्षको सुरुदेखि नै सरकारका लागि सन्तोषको विषय थियो व्यपार।
निर्यात व्यापारसँगै आयात व्यापार बढेको विषय सरकारले सफलताको एउटा सूचक मानेको थियो। अझ निर्यात वृद्धिदर उच्च रहेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक कार्यक्रममै सरकारको रणनीति अनुसार निर्यात वृद्धि गरिएको दाबी गरेका थिए। उनले त्यही अनुसार आयत घटेको भन्दै यसको श्रेय लिन खोजेका थिए।
चालु आर्थिक वर्षको पहिलो महिना १२ प्रतिशले आयात व्यपारमा कमी आएको थियो। त्यसयताको पाँच महिनासम्म आउँदा गत वर्षको त्यही अवधिको तुलनामा ४.२ प्रतिशले कमी आएको छ।
मंसिर महिनामा आयातको वृद्धिदर गत वर्षको भन्दा बढी देखिएको छ। यस हिसाबले चालु आर्थिक वर्षमा गत वर्षको भन्दा बढी नै आयात व्यापार हुने देखिएको छ।
तर निर्यात व्यापार निरन्तर देखिएको वृद्धिदरले भने सरकारले उत्साहित भइरहेको छ। तर, नेपालमै उत्पादित सामाग्रीको निर्यात वृद्धिदरमा ह्रास आएकाले यो उत्साह धेरै नटिकी जोखिम बढ्न सक्ने चिन्ता अर्थविद्हरूले गरेका छन्। उनीहरुले यसबारेमा सरकारको ध्यानाकर्षण नै गरेका छन्।
अब लाग्यो झट्का
सरकारले निर्यात व्यापारको खुसी बाँडिरहेका बेला नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु नै भारतको प्रतिबन्धमा परेको छ। यससँगै नेपालको करिब १० वर्षअघिको लक्ष्य यस वर्ष पूरा हुने सम्भावना अब समस्या आउने विज्ञहरूले बताउने गरेका छन्।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिसम्म नेपालले १० अर्ब रुपैयाँको निर्यात वृद्धि गरेको छ। गत वर्षको पाँच महिनामा ३७ अर्ब रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पाँच महिनामा ४७ अर्ब रुपैयाँको निर्यात भएको छ।
सबै वृद्धिदर पाम तेलको कारण देखिएको छ। पाँच महिनाको अवधिमा गत वर्षको त्यही अवधिको तुलनामा ७५६ प्रतिशतले वृद्ध भइ १० अर्ब रुपैयाँ बढी देखिएको छ। गत वर्ष यस समयमा एक अर्ब ३४ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको पाँच महिना ११ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ।
अर्थविद्हरु गत वर्ष पनि नेपालको निर्यात वृद्धिदर पाम तेलकै कारण सम्भव भएको बताउँछन्। आर्थिक वर्ष २०७४/७४ मा नगन्यरुपमा भएको पाम तेलको आयात अघिल्लो वर्ष १० अर्ब ३३ करोड रुपैयाँको भएको थियो।
सरकारलाई दोहोरो घाटा!
पाम तेल चार देशबाट आयात गरेर नेपाले भारतमा मात्रै बेच्ने गरेको छ। यसले स्थिर जस्तो देखिएको निर्यात व्यापार वृद्धिदर देखाएको एकतर्फी रहेको देखाउँछ। अर्कोतर्फ भन्सार राजस्व पनि घटेको अवस्थामा नेपालमा खपत नहुने वस्तुको आयात गरेर पनि राजस्व बढेको छ।
सरकारले निर्यात व्यापार सुधार भएको भन्दै प्रचार गरिरहेको अवस्थामा घटिरहेको भन्सार राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पाम तेलको आयातबाट भएको थियो। नेपालबाट निकासी हुने वस्तुमा पाम पहिलो नम्बरमा छ भने नेपालमा सबैभन्दा बढी आयत हुने वस्तुमा पाम नै १२औँ नम्बरमा छ।
अब के गर्ने?
पाम तेललाई प्रतिबन्ध गरेपछि भारतले आफ्नो धारणा राखिसकेको छ। उसले नेपाललाई केन्द्रित गरेर मात्रै पाम आयतको आयात नरोकिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिष कुमारले बिहीबार भनेका छन्, 'हामीले नेपाललाई मात्रै मध्यनजर गरेर पाम तेलको आयात रोकेको होइन। इन्डोनेसिया, थाइल्यान्डबाट पनि प्रतिबन्ध लगाएका हौँ। यो हाम्रो नीति अनुसार नै हो।'
उनले नेपालको नाम नै लिएर दिएको व्यक्त्व्यमा यो निर्णय कुनै देशसँग नजोडिएको जिकिर गरे। यो निर्णय भारतको वस्तु आयात-निर्यात नीति अनुसार भएको उनले बताए।
पाम तेल आयातमाथि भारतले प्रतिनबन्ध लगाएसँगै नेपालले यसबारे कूटनीतिक पहल गरेको स्रोतले जनाएको छ। तर भारतले यस निर्णयबाट पछि नहट्ने जनाउ गरिसकेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पामको निर्यातमा लागेको प्रतिबन्धले नेपाललाई ठूलो असर गर्ने बताएका छन्। 'हाम्रोबाट सबैभन्दा बढी निर्यात भएको पाममा भारतले प्रतिवन्ध लगाएको छ', उनले भने, 'यसले हाम्रो निर्यात व्यापारलाई प्रभाव पार्छ, अन्य निर्यातजन्य सामाग्रीबारे पनि हामीले ध्यान दिनुपर्छ।'
भन्सार विभागका महानिर्देशन सुमन दाहाल पनि अब केही गर्न सक्ने अवस्था नरहेको बताउँछन्। 'जे हुनु भइसकेको छ, पामको खपत हुने क्षेत्र नेपालमा बढाउन सकिन्छ भने ध्यान दिने हो', दाहालले भने, 'पाम इएउटा कच्चा पदार्थ हो। खाने तेलका रुपमा मात्रै नभइ साबुन र सरफ बनाउन पनि प्रयोग गर्न सकिन्छ।'
अर्थविद् केशव आचार्य नेपालको निर्यात व्यापारमा तत्कालका लागि यसको प्रभाव देखिने बताउँछन्। तर यसले अन्य क्षाेत्रमा पनि प्रभाव पार्ने देखिन्छ।
'नेपालको उत्पादन होइन भन्ने कुरामा भारत प्रष्ट हुँदाहुँदै पनि निर्यात गरेको अवस्था थियो,' आचार्यले भने 'अब नेपालमा उत्पादित वस्तुलाई पनि भारतले कुन देशबाट लिएको भनेर शंका गर्ने अवस्था आउन सक्छ। यसैलाई लिएर भोलि समस्या पार्न सक्छ भारतले।'
आचार्यका अनुसार यही महिनाबाटै पाम निर्यात ठप्प नहुन सक्छ। 'भारतलाई पाम आवश्यक नै नपर्ने भनेको होइन। कश्मीर विवादमा मलेसिया बोलेपछि सिधै त्यहाँबाट आयात गरेको थिएन', उनले भने, 'मलेसियाले कश्मीरबारे फेरि बोलेपछि नेपालबाट जाने पनि भारतले रोकेको हो। अब उसले गेडा लिएर रिफाइन्ड गर्न सक्छ, त्यसका लागि केही समय लाग्ला।'
केही अर्थविद्हरुले भारतले अन्य देशबाट आयात गर्ने वस्तु मारोक लगाएपछि नेपालका एकखालका व्यापारीहरू त्यसैमा ध्यान दिएर नाफा कमाउन लाग्ने बताउँछन्।
'विगतमा पनि भारतले रोक लगाएकै वस्तु नेपालमा आयात गरेर निर्यात गरिएको थियो', एक अर्थविद् भन्छन्, 'अहिले पनि त्यस्तै देखियो, सरकारले दुईचार करोड राजस्वका लागि लोभ गर्दा र व्यापारीलाई आफ्नो उत्पदान भन्दा बाहिरबाट ल्याएको वस्तुमा नाफा कमाउने समस्याले अन्य वस्तुको निर्यातमा पनि समस्या पर्न सक्छ।'
अहिलेको अवस्थामा पाम तेलको निर्यात हुन नसकेको खण्डमा यस वर्ष नेपालको निर्यात व्यापार बढ्न सक्ने स्थिति पनि देखिँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।