ब्लग

सजिलो खोज्‍नेले त आफ्नै गाडी चढ्नू नि!

काठमाडौंका सार्वजनिक सवारी, आपतै-आपतका भारी

पुस २६, २०७६

    तपाईंले संघीय राजधानी सहर काठमाडौंमा सार्वजनिक यातायातको अनुभव लिनु भएको छ? साना र पुराना गाडीमा कोचाकोच मान्छेसहित यात्राको अनुभवले नै तपाईंलाई धेरै कुरा सिकाउँछ। देशकै सुविधाको केन्द्र राजधानीको सार्वजनिक यातायातको अनुभव यो ब्लगमार्फत यहाँ पस्किँदैछु।

    काठडौंमा सार्वजनिक यातायात प्रयोग गर्दा सहज यात्राको कल्पना गर्नु नै बेकार छ, सुविधा खोज्‍न थालियो भने कहिल्यै गन्तब्यमा पुग्‍न सकिँदैन। ट्याक्सीलाई अहिले छाडिदिनुस्, बस-माइक्रोबस चढ्ने गर्नुभएको छ भने तपाईं पनि म जस्तै कयौँ हैरानीको भुक्तभोगी हो। चढ्नु भएको छैन भने पनि कमसेकम सार्वजनिक यायायातको सास्ती त पक्कै देख्नु भएकै होला।

    म कार्यालयको काम सकेर बेलुकी साढे ८ बजेतिर बबरमहलबाट तीनकुनेतिर जाने बस चढ्छु। चढ्छु के भन्‍ने, खाँदिन्छु, कोचिन्छु, ठेलिन्छु। बसमा चढिसकेपछि म एउटा मान्छेबाट निर्जीव वस्तुमा परिणत हुन्छु। जसलाई सह-चालकले तिखो र कर्कस स्वरमार्फत' पछाडि-पछाडि सर्न अह्राउँछन्, हप्कीदप्की गर्छन्।

    ठेलमठेल गरिरहेका यात्रु गोलो वरपर भुनभुनाइरहेका माहुरीजस्तै लाग्दछन्। प्रायजसो बिहान होलो हुने नगरबस कार्यालय समय सुरू भएसँगै क्रमश: माहुरीको गोलो र अचारको बट्टामा परिणत हुँदै जान्छ।

    म कार्यालयको काम सकेर बेलुकी साढे ८ बजेतिर बबरमहलबाट तीनकुनेतिर जाने बस चढ्छु। चढ्छु के भन्‍ने, खाँदिन्छु, कोचिन्छु, ठेलिन्छु। बसमा चढिसकेपछि म एउटा मान्छेबाट निर्जीव वस्तुमा परिणत हुन्छु। जसलाई सह-चालकले तिखो र कर्कस स्वरमार्फत' पछाडि-पछाडि सर्न अह्राउँछन्, हप्कीदप्की गर्छन्। बसमा नचढुञ्जेल महजस्तो लाग्‍ने सहचालकको बोली यात्रु चढिसकेपछि चुकमा बदिलने गरेको अनुभव संगालेकी छु।

    'ओ दाइ! पछाडि सर्नूस्!'

    'ओ दिदी, कान छैन?'

    'कस्तो अटेर गरेको!'

    कान त छ नि, तर पछाडि सर्नलाई ठाउँ कहाँ छ! दस मिनेटको यात्रामा त्यस्तो आग्रह कयौंपटक सुन्‍नुपर्छ। सहचालकहरू कहिलेकाहीँ अपमानजनक टिप्पणी गर्छन्। बसको डण्डी समातेर झुन्डिइरहेकी म मनमनै अमिलिन्छु। दुइटा गोडा राम्ररी भुइँमा टेकेर उभिन पाए भाग्य!

    उनी बाहिरकालाई फकाउँछन्, भित्रकालाई हकार्छन्, 'ढोकामै किन थुप्रिनुपरेको? पछाडि जानुस्।' म पछिल्तिर हेर्छु, सर्ने ठाउँ भए पो! पछाडि त क्रमश: छुट्दै गएको सडकमात्र देखिन्छ। सवालजवाफ गर्नुको अर्थ छैन, नत्र 'सजिलो खोज्‍ने आफ्नै गाडी चढ्नू नि !'

    उपत्यकामा सवारी चाप बढेको सुन्दै आएका छौं, सुनाउँदै आएका छौं। तर सरकारले चुस्त व्यवस्थापनमा ध्यान दिएको न सुन्‍न पाइयो, न सञ्चारकर्मीको नाताले सुनाउन नै पाइयो। साँघुरा सडक, अत्यधिक गाडी ! सरर्र यात्रा गर्दा १० मिनेट लाग्ने बाटोमा आधा पौने घण्टा खर्च गर्नु काठमाडौंसीको नियति नै भइसक्यो।

    कहिलेकाहीँ खाली गाडी नभेटिने होइन, तर त्यो औँसीपूर्णेको कुरा हो। खाली गाडी भेट्न भाग्य बलियो हुनुपर्छ। अन्यथा, भेडाबाख्राझैं कोचिनु सामान्य भइसक्यो। बसमा कोच्चिइरहेका बेला अर्को खाली गाडी 'क्रस' भयो भने घुटुक्क थुक निल्छु। तर ओर्लेर गाडी फेर्ने आँट गर्न सक्दिनँ। घुइँचो पन्छाएर ओर्लिउन्‍जेलसम्म अघिको खाली गाडी कहाँ पुग्छ कहाँ!

    बाहिर भएकालाई फकाइरहेका र भित्र भएकालाई थर्काइरहेका सहचालकलाई नियाल्छु। उनी बाहिरकालाई फकाउँछन्, भित्रकालाई हकार्छन्, 'ढोकामै किन थुप्रिनुपरेको? पछाडि जानुस्।' म पछिल्तिर हेर्छु, सर्ने ठाउँ भए पो! पछाडि त क्रमश: छुट्दै गएको सडकमात्र देखिन्छ। सवालजवाफ गर्नुको अर्थ छैन, नत्र 'सजिलो खोज्‍ने आफ्नै गाडी चढ्नू नि !' भन्दै ओठे जवाफ फर्काउन सह-चालकले निमेष पनि लगाउँदैनन्।

    सार्वजनिक यातायात हो, सहनैपर्छ!

    काठमाडौंका अधिकांश सार्वजनिक सवारीमा 'पर्सनल स्पेस' कत्ति पनि हुँदैन। उभिएका यात्रुहरू एकअर्कासँग बिल्कुल टाँस्सिएका छन्। एक किसिमले किचाघानजस्तै हुन्छ। यस्तोमा महिला यात्रुको स्थिति के हुन्छ, तपाईं आफैं जान्‍नुहुन्छ।

    जिम्मेवार निकायमा बसेकाले यसबारे खासै चासो देखाएको थाहा छैन। सायद उनीहरूलाई सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने बाध्यता छैन। अथवा हुनसक्छ, उनीहरू योभन्दा भयंकर समस्यासँग जुध्‍ने योजना बनाउँदैछन्, यो कुनै समस्या नै होइन।

    सार्वजनिक यातायातको आपत् यत्तिकैमा सकिँदैन।

    बस वा माइक्रोका चालक जहिल्यै 'फुल भोल्युम'मा गीत सुन्‍ने मुडमा हुन्छन्। चेप्टिँदै, खादिँदै, ठेलिँदै शरीरको सन्तुलन मिलाउन कोशिश गरिरहेका बेला गीतले कहिले 'चल् नचले' भन्छ, त कहिले 'बोतलको पानी'को चर्चा गर्छ। यस्तोमा मधुर गीत पनि कर्कस लाग्छ।

    बोतलको पानी चढाएर बस चढेका स्वाँठहरू सार्वजनिक यातायातका तेस्रो आपत् हुन्। तिनको मुख र शरीरबाट आएको गन्ध झेल्न नसकेर मास्कले निमेषभरमै माफी माग्छ। तर, त्यस्ता मान्छेलाई अरू यात्रुले भोग्‍नु परेको सकसको केही पर्वाह हुँदैन। कोहीकोही त अनुहारमा गीतकै भावभङ्गीमा ल्याउन खोज्छन्। त्यो दृष्य, संसारकै कुरुप दृष्यजस्तो लाग्छ। तर सार्वजनिक यातायात हो, सहनुपर्छ !

    अर्काको जुत्ताले टेकिएर खुट्टाको बेहाल हुन्छ। बेसोमतीहरू ठाउँकुठाउँ कुहिनो जोत्न ल्याउँछन्। दुर्गन्धले बान्तै आउलाजस्तो हुन्छ। तर सार्वजनिक यातायात हो, सहनुपर्छ!

    बोतलको पानी चढाएर बस चढेका स्वाँठहरू सार्वजनिक यातायातका तेस्रो आपत् हुन्। तिनको मुख र शरीरबाट आएको गन्ध झेल्न नसकेर मास्कले निमेषभरमै माफी माग्छ। तर, त्यस्ता मान्छेलाई अरू यात्रुले भोग्नु परेको सकसको केही पर्वाह हुँदैन। कोहीकोही त अनुहारमा गीतकै भावभङ्गीमा ल्याउन खोज्छन्।

    सार्वजनिक यातायात सञ्चालकहरूलाई पनि यस्तो कुराको कुनै पर्वाह छैन। यात्रुलाई 'सहज यात्रा गराउनु'लाई तिनीहरू आफ्नो कर्तव्य नै ठान्दैनन्। नाममात्रै सार्वजनिक यातायात हो, हप्कीदप्की गर्न होस् वा चर्को गीत बजाउन, बसमा तिनको निजी मनपरी सहनुपर्दछ।

    अब ओर्लने बेलाको सकस !

    खुजुरा लिएर चढिएको छैन भने अन्तिम हप्काइ यहाँनेर खानुपर्छ। 'ठीक्क पारेर राख्नुपर्दैन?,' सहचालक च्याँठ्ठिन्छन्। ‌ओर्लेर भाडा दिनु कुनै विकल्प नै होइन। ओर्लेर भाडा मिलाउने आग्रह गर्दा सहचालकले यस्तरी हेर्छन्, मानौं म भाडा नतिरी कुलेलम ठोक्नेवाला छु।

    जसोतसो भाडा तिर्‍यो, बस राम्ररी नरोकिँदै ओर्लिइहाल्न भन्छन्।

    'हाम्फाल्नू ?', म रिसाएजस्तो गर्छु।

    मेरो कुरा सुनेर हो कि अर्को यात्रु देखेर हो, ड्राइभर झ्याप्प ब्रेक लगाउँछन्। परिणाम, पछाडि बसिरहेका यात्रुहरू अगाडिकाको पिठ्युँमा बुर्कुसी मार्न पुग्छन्।

    बसमा हलल्ल हाँसो छुट्छ। म जसोतसो सम्हालिन्छु। अर्को मान्छेको जिउले आधाजसो थिचिएकी किशोरी बोझ र अपमानले निलीकाली हुन्छे। स्वाँठहरू रमाइलो मानेर तमासा हेरिरहन्छन्।

    म ओर्लन्छु, र अपमानले रनथनिँदै अँध्यारो गल्लीभित्र छिर्छु।

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]