केन्द्रको म्यासेज नेकपाका सांसदको बोली लरबरियो

|
फाइल फोटो

हेटौँडा :  प्रदेश-३ को राजधानीको विषयमा बिहीबार पनि प्रदेशसभामा चर्काचर्की परेको छ। बिहीबार पनि प्रदेश-३ को राजधानी हेटौँडा र काभ्रेको पक्षमा जोडदार आवाज उठेको छ।

नुवाकोटलाई पनि राजधानीको माग भएको छ। बिहीबार प्रदेशसभामा राजधानीको लागि फरकफरक तर्क आए। राजधानीको स्थानको विषयमा घुम्ती राजधानीदेखि दुई स्थानमा राख्नेसम्मको प्रस्ताव आएको हो।

घुम्ती राजधानी

प्रदेशसभा सदस्य जीवन डंगोलले विश्व इतिहासको उदारहण दिँदै प्रदेश-३ को राजधानी घुम्ती राजधानी शैलीमा राख्नु पर्ने तर्क गरिन्। उनले अष्ट्रेलियामा मेलबर्न, सिड्नीजस्ता शहरमा राजधानी राखेको भन्दै प्रदेश-३ को राजधानी केही दशक हेटौँडा, केहि दशक काभ्रेसहित अन्य ठाउँमा राख्दा उपयुक्त हुने तर्क गरिन्।

यता, कांग्रेस सांसद नीमा लामाले मुटुमाथि ढुंगा राखी नहास्न, बरु छातीमाथि हात राखेर राजधानीको विषयमा निर्णय आग्रह गरे। बुधबार संसदमा बोल्ने काभ्रेबाट निर्वाचित सदस्य बसुन्धारा हुमागाईंले राजधानीको विषयमा निर्णय गर्न सकस परिरहेको सन्दर्भ कोट्याउँदै  उनले यस्तो बताएका हुन्।

लामाले बैठकमा बोल्दै राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन ढुसी लागेपछि छलफलमा ल्याएको भन्दै व्यंग्यसमेत गरे।

यस्तै, कांग्रेस सांसद राजेन्द्र गुरुङले काभ्रे राजधानी राख्नु पर्ने धारणा व्यक्त गरे। उनले राजधानी राखेर हेटौँडा पनि काठमाडौंजस्तै प्रदूषित गराउन नहुने तर्क गरेका हुन्।

काभ्रे र हेटौँडा दुवै स्थान राजधानी

राजधानीको बहसबारे दोस्रो दिन बैठकमा पहिलो वक्ताको रुपमा बोलेका नेकपा नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले राजधानीको विषयमा  सबैभन्दा फरक मत राखे। पाण्डेले अन्तर्राष्ट्रिय अभ्यासको परिभाषा दिँदै काभ्रे र हेटौँडा दुवैतिर राजधानी बनाउने तर्क गरे।

उनले राजधानीको विषयमा अनौठो प्रस्ताव गरेका हुन्।  उनले राजधानी काभ्रे र हेटौंडा राखौं भन्ने तर्क रहेको प्रष्टीकरण गर्दै भौगोलिक हिसाबले   भने काभ्रे नै उपयुक्त भएको बताए।

यस्तै, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले सकेसम्म काभ्रेमा राजधानी राख्नु पर्ने बताए। उनले त्यहाँ सम्भव नभए मकवानपुरको फाखेलमा राजधानी राख्न आग्रह गरे। उनले फाखेलमा राजधानी राख्न नयाँ शिराबाट बहस र छलफल गर्न आग्रह गरे।

श्रेष्ठले प्रदेशको शक्ति केन्द्रहरूलाई तीन जिल्लामा बाँडफाँड गर्न सुझाव दिए। काभ्रेमा कार्यपालिका, ललितपुरमा व्यवस्थापिका र हेटौँडामा न्यायपालिका राखेर बाँडफाँड गर्दा राम्रो हुने सांसद श्रेष्ठले सुझाए। 

काभ्रेको पक्षमा खुट्टा काम्यो?

प्रदेशसभा सदस्य रमेश पौड्यालले काभ्रेकै पक्षमा बोल्ने सांसदले किन खुट्टा कमाएको भन्दै प्रश्‍न गरे। प्रदेशको राजधानी काभ्रे बनाउनु पर्छ भनेर बोल्ने काभ्रेका सांसदको बोली लरबरिएको सांसद पौड्यालले बताए।

उनले केन्द्रको म्यासेज नेकपाका सांसदको बोली लरबरिएको दाबी गरे। उनले राजधानी हेटौँडा नभई काभ्रे नै उपयुक्त हुने बताए। सत्तारूढ दलले राजधानी हेटौँडा राख्न निर्देशन दिनु इतिहासकै महाभूल भएको विवेकशील दलका सांसद पौड्यालले बताए।

राजधानीको छलफलमा बोल्दै प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश ३ को नाम नौलो राख्न प्रस्ताव गरे। महर्जनले नेताहरूले ठाडो निर्देशन दिएको कारण प्रदेशको नाम 'नेताबा' राख्न पर्ने भन्दै व्यंग्य गरे। महर्जनले 'नेताबा' लाई परिभाषित पनि गरेका छन्। उनले नेः नेवा, ताः ताम्सालिङ र बाः बाग्मती भन्दै परिभाषित गरेका हुन्।

हेटौँडाको विकल्प छैन

काभ्रेको पक्ष एक धार भइरहँदा हेटौँडाको पक्षमा पनि बिहीबारको प्रदेश सभामा सशक्त ढंगले आवाज उठेको छ। बुधबार नै कमल थापा नेतृत्वको राप्रपाकी सांसद रीता माझीले हेटौँडा समर्थन गरिन्।

राप्रपा (संयुक्त) की प्रदेशसभा सदस्य रीना गुरुङले पनि हेटौँडा प्रदेशको राजधानीको विकल्प नरहेको बताइन्। उनले हेटौँडा हरेक हिसाबले राजधानी हुन उपयुक्त हुने भन्दै राजा महेन्द्रसम्मको कुरा जोड्दै राजधानी हेटौँडाको पक्षमा आफू रहेको प्रष्ट पारिन्।

यस्तै, नेकपाकी प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा राजधानीको विकल्प नभएको बताइन्। सिग्देलले इतिहासको कालखण्डदेखि नै मकवानपुरमा राजाले शासन गरेर बसेको बताउँदै रणनीतिक रूपमा हेटौँडा हुनु पर्ने तर्क गरिन् ।

यस्तै, सांसद मिलनबाबु श्रेष्ठ चितवन ले पनि राजधानी दाबी गर्ने भन्दै उनले हेटौँडाबाट राजधानी सार्न खोज्नु सजिलो विषय नभएको बताए।  यता, नेकपा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, ओम बहादुर ग्लान, कांग्रेसका सांसद सन्त चेपाङसहित केही सांसद हेटौंडाको पक्षमा मतदान गर्न आग्रह गरे।

प्रदेशसभा सदस्य आशमाया तामाङ, शान्ति थिङले नुवाकोटमा राजधानी माग गरेका थिए। बिहीबार बसेको प्रदेश सभाको बैठकमा २१ जना प्रदेशसभा सदस्यले राजधानीको विषयमा बोलेका थिए।

प्रदेशसभा बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जनाए। शुक्रबार प्रदेशसभाको बैठकमा राजधानी अध्ययन सम्भाव्यता अध्ययन  समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि उठेको प्रश्‍नको जवाफ दिने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.