|

काठमाडौं : हरेक दुई दुई वर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०६५ सालयता पटकपटक मिति तोकिए पनि विद्यार्थी संगठनहरुबीच सहमति नहुँदा स्थगित भैरह्‍यो। यसपटक त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ। मिति नजिकिँदै गर्दा त्रिवि र विद्यार्थी संगठन चुनाव केन्द्रित गतिविधिमा लागेका छन्।

पढ्नुस्: क्याम्पसहरुमा लाग्न थाल्यो स्ववियू चुनाव: वाल पेन्टिङदेखि झडपसम्म

त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाको नेतृत्वको समितिले प्रस्ताव गरेको स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धी निर्देशिकामा प्रमुख विद्यार्थी संगठनहरुले समर्थन जनाएका छन्।

नेविसंघका अध्यक्ष नैनसिंह महरले थाहाखबरसँग भने 'स्ववियू निर्वाचन आचारसंहितामा हामी सबै संगठनले समर्थन जनाइसक्यौं।'

अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले विद्यार्थी संगठनहरु निर्वाचन कार्यतालिकाको पर्खाइमा रहेको बताए। 'टियूले छिट्टै कार्यतालिका ल्याउँछ भन्नेमा ढुक्क छौं। जुनसुकै हालतमा चुनाव गराउन कार्यतालिका आउनुपर्छ भन्ने हाम्रो भनाइ हो' उनले भने, 'निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि सबै संगठन निर्वाचनमा जानेछन्।'

पारित भैसकेको आचारसंहिता निर्वाचन कार्यतालिका आएपछि लागू हुने अनेरास्ववियू क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए। 'अहिले केही साथीहरुले वाल पेन्टिङ गरिरहेका छन्। अब कार्यतालिका आएपछि आचारसंहिता अनुसार काम हुन्छ।'

आचारसंहिताको व्यवस्था

समानुपातिक निर्वाचन प्रणालीका आधारमा चयन हुने स्ववियुमा २८ वर्ष नाघेका विद्यार्थी उम्मेदवार बन्न पाउने छैनन्। निर्वाचनका बेला यसअघि जस्तो क्याम्पसका पर्खालमा नाराहरु पोतिने छैनन्, तुल/ब्यानर देख्न पाइने छैन। क्याम्पसमा माइकिङ गरेर कुनै पनि उम्मेदवार वा संगठनले प्रचार प्रसार गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको छ। 

प्रचार प्रसारमा अपनाउनुपर्ने शैली

१. क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारहरुलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम सञ्चालन गरिने।

२. प्रत्येक संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र वा उम्मेदवारको नामावलीको पर्चा मात्रै प्रचार प्रसार गर्न पाउने छ। उक्त सामाग्री ए फोर कागजमा ब्ल्याक एन्ड ह्वाइटमा मात्र हुनेछ।

उम्मेदवारले गर्न हुने १० कुराः  

१. उम्मेदवारले मनोनयन पत्रमा १ जना प्रस्तावक र १ जना समर्थकको हस्ताक्षर सहित क्याम्पसको परिचय पत्रसमेत राखी निर्वाचन समितिमा पेश गर्नुपर्ने। 

२. कुनै पदको १ उम्मेदवारको प्रस्तावक वा समर्थक भइसकेको व्यक्ति सोही पदको अन्य उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाइने। तर, सदस्यको हकमा भने जति जना प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुपर्ने हो त्यति नै जनाको प्रस्तावक वा समर्थक बन्न पाइने।

३. उम्मेदवारले जुन पदमा आफूले उम्मेदवारी दिएको छ सोही पदको अन्य उम्मेदवारको समर्थक वा प्रस्तावक बन्न नपाइने।

४. प्रत्यक्षबाट निर्वाचित हुने पदको लागि संघ, संगठन, समूह वा स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिन पाइने। मतपत्र तयार पार्दा सहमतिको आधारमा समूहगत/संगठनात्मक रुपमा तयार पार्न सकिने। मतपत्रमा संगठन वा समूहको नाम राख्दा वर्णानुक्रम देवनागरिक लिपि अनुसार हुने।

५. संघ, संगठन वा समूहबाट उम्मेदवारी दिने उम्मेदवारले विद्यार्थी संगठनले निर्वाचन अधिकृत समक्ष आफ्नो संघ संगठन वा समूहको आधिकारिक सिफारिस पत्र पेश गर्नुपर्नेछ। क्याम्पस इकाइ समितिको अध्यक्षको पत्रलाई आधिकारिक मानिनेछ। उम्मेदवारीमा विवाद भएको खण्डमा सम्बन्धित संघ, संगठन वा समूहको केन्द्रीय अध्यक्षको सिफारिसलाई आधिकारिक मानिने।

६. मतदाता सूचीमा नाम भएको व्यक्तिले स्ववियु कार्य समितिको कुनै १ पदको पदाधिकारी वा सदस्यको लागि मात्रै उम्मेदवारी दिन पाउने।

७. प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार हुने विद्यार्थीले उमेर खुलेको नागरिकताको प्रमाणपत्रको सक्कल र फोटोकपी निर्वाचन समितिमा पेश गर्नुपर्नेछ। 

८. कुनै कारणवश स्ववियु निर्वाचन सम्पन्न हुन नसक्ने अवस्था आएमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी पछि मिति तोकी निर्वाचन गर्न सक्ने।

गर्न नहुने ५ काम  

१. निर्वाचन मिति प्रकाशित भएपछि क्याम्पस हातामा निर्वाचनलाई प्रभाव पार्न सक्ने सांस्कृतिक कार्यक्रम गर्न पाइने छैन। सम्बन्धित क्याम्पसका विद्यार्थीहरुले बाहेक बाहिरका व्यक्तिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने।

२. प्रत्यक्षतर्फ उम्मेदवार भएका व्यक्तिले समानुपातिक तर्फ उम्मेदवार हुन नपाउने।

३. क्याम्पसको पर्खालको बाहिर र भित्र पट्टी अनि क्याम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने।

४. निर्वाचन सम्बन्धि तुल, फ्लेक्स र कुनैपनि प्रकारको पोस्टर टाँस्न नपाइने। त्रिवि वा क्याम्पसलाई हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार प्रसार गर्न नपाइने।

५. प्रचार प्रसारका क्रममा एक-अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्यहरु बोल्न नपाइने।

६. सभा र माइकबाट कुनै पनि प्रकारको प्रचार प्रसार गर्न नपाइने।

स्ववियू निर्वाचनको आचार संहिता सम्बन्धि निर्देशिकाको पूर्ण पाठः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.