|

काठमाडौं :  सूर्यास्तको सिन्दूर बादलको शिर र धर्तीको छातीभरि पोखिएको छ। एउटा निअर्थक सोच मस्तिष्कभरि अड्याएर म हिँडिरहेकी छु। यो प्रगति गर्न नसकेको अतिरिक्त दिनहरुको मानसिकता हो।

यस बिन्दुमा उभिँदा मलाई यो सडकमा बगिरहेको र ठूल्ठूला घरहरुमा चम्किरहेको साँझप्रति वितृष्णा लाग्छ। एकजना निकै पीडित आइमाईको अनिश्‍चित फोन कलमा गरेको याचना, म मेरो कान वरपर नोस्टाल्जिक हुँदै सुनिरहेकी छु। उनको स्वरसँग भित्र कतै खुम्चिँदै `फस्ट एड बक्स´ र केही आवश्यक मलहम बोकेर उनको घरतर्फ हिडिँदिएकी छु।

म नजिकै कतै झाङ्गिरहेको छ त्यहीँ मलिलो स्वर...'डाक्टर नानी, केही सस्तो औषधि छ भने लेराइदिनु न है! हिजो एकदम नमज्जाले लाग्यो कोखामै। '

अनि थपिन्छ मेरो नियमवद्ध समयमा हिसाब राख्नुपर्ने यो एक दिन।

चारैतिर एक अभ्रान्त व्याप्त छ, सडकमा चहलपहल एकदम कम छ।

मेरो आँखा गहिरिएको आकाश, भासिएको खोल्चा, देवल, पिपल चौतारी, तोरीबारी, पसल, मन्दिर इत्यादिमा टाँसिदै उनको घर पुग्ने अन्तिम मोडमा आइपुग्छ। खुट्टा एकाएक कमजोर भइदिन्छन्।

लाग्छ, मेरो पछाडि तन्कदै गरेको छाया सुलुत्त अगाडि सरेर मलाई त्यस बाटोमा डोर्‍याइदियोस्। मस्तिष्क सचेत गराउँदै छ मलाई एक अवाञ्छनीय स्थितिप्रति। एक हप्ताअघि म दृढताका साथ यही बाटो हिँडेकी थिए। उनको लाटो हुन नपाएका घाउहरुमा मलमपट्टी लगाउँदा मैले उनको सारा शरीर र अभिव्यक्तिलाई नियाल्दै सोचेकी थिएँ, 'उनको यो जिन्दगी केही पनि त होइन। उनलाई बानी परिसक्यो, प्रत्येक रात चहानाहरुको चिसो मसानमा सुत्‍ने। '

म झल्झली सम्झन्छु, विपन्‍न समाजको एक सस्तो उदाहरण बनेकी त्यस स्वास्‍नी मान्छेलाई मैले शिक्षा र स्तरले सञ्चार गरिदिएको साहस कोट्याउँदै, केही जीजिविषा भर्न खोजेको थिएँ।

उनको कट्कटिएको मैलो धोतीप्रतिको विरक्तिलाई लुकाउँदै भनेकी थिएँ, 'तिमी यसरी कमजोर भएर नबस। तिम्रो लोग्ने एउटा 'स्याडिष्ट' हो। ऊ मानसिक रोगी हो। उसलाई सम्झाउने कोशिश गर। उसलाई प्रतिकार गर। तिम्रो क्षमा र सहनशीलताले गल्ती गर्नेको आत्मामा हीनताबोध कहिल्यै फस्टाउँदैन। उता उसलाई सामन्तीहरुले पिरोल्छन्। तिमी सस्तो उपलब्धि नबनिदेऊ, उसको रिसहरुको। प्रत्येक रक्सीको बाससँगै तिमी सती नगइदेऊ। भोलि उसले तिम्रो छोरा कुट्नेछ। जस्तो तिम्रो लोग्नेको विसङ्गत छन्, त्यही प्रकारमा तिम्रो छोराको भइदियो भने यो भयङ्‍कर चक्र कहिल्यै समाप्त हुने छैन। '

उनले निर्दोषिता र भय आँखाभरि संगालेर हेरेकी थिइन्।

त्यो फाटेको चोली भित्रको हाडमासु लिएर बाँच्‍नु, प्रत्येक रात आफ्नै लोग्‍नेबाट लुटिनु, भाग्यले ठगिनु, सुरक्षाको हत्या हुनु, प्रत्येक रात सुक्सुकाउँदै पल्टनु र प्रत्येक बिहान थकित उठ्नु।

म कल्पना पनि गर्न सक्दिनँ।

उनको लोग्‍ने हिंश्रक पशुजस्तो भए पनि बाँचेको छ। अनि उनी?

सायद आफ्नोपनको आभासको नाउँमा उनीसँग केवल धर्म छ र दुई सुकुमार छोरा छन्। उनले मन्द गतिमा भनेकी थिइन्, 'हुन्छ डाक्टर नानी, तर केही समय लाग्छ। '

म त्यहीँ मोडनिरको खम्बामा यथावत उभिरहेकी छु। टाढाबाट एक आकृति मलाई सम्बोधन गर्दै नजिक आइरहेको छ। मेरो कलेज पढ्दाको साथी, उसको नाम सरिता हो। सिङ्गारिएको अनुहार, मग्मगाइरहेको अत्तर, आधुनिक लुगा र अङ्ग्रेजी धेरै मिसाएर बोल्ने स्वभावले म विश्वस्त हुन्छु कि ऊप्रति मलाई कहिल्यै घनिष्टता महसुस भएको थिएन र हुने पनि छैन।

औपचारिकता सकिएपछि उसले कफी खान जाने आग्रह गर्छे। म स्वीकार गरिदिन्छु। यो बडो अभद्र आइमाई हो, थाहा छ, तर मनले अरु विपरितार्थ भेट्दैन। एकैछिनको पलायन भोग्नु छ...के फरक पर्छ र?

हामी एउटा क्याफेको कुनामा आमने-सामने भएर बसेका छौँ। ऊबिना कुनै पृष्ठभूमि आफ्नो अतीतको विवरण बताउँछे।

सुरुमा बडो उत्सुकता देखाउँदै कुनै फेसबुकमा बोलेको, गाडीमा भेटेको, साथीले चिनाएको केटाको रुपरंग, संस्कार, सम्पत्ति र ऊप्रति गर्ने व्यवहार, घुमघामको खर्चदेखि `ब्रेकअप´ पछि पिएको रक्सीको नामसम्म सुनाउँदा ऊ केही अल्छी मानिसक्छे।

नयाँ पुरुष पात्रहरुको आलोचना सकिएपछि ऊ एकछिन टोलाउँछे र अन्त्यमा भन्छे, 'सबै केटाहरु बोका हुन्।' चुरोटको लामो सर्को तानेर हावामा रुमल्लिरहेका धुवाँलाई हेरिरहेकी उसलाई देख्दा एकछिन त लाग्छ, 'कतै ऊ पनि निमेषभर मै बिलाउने त होइन? 'तर ऊ एकदम खोक्रो छे। बिना पश्‍चताव म उसलाई उसको नक्कली औंठी जस्तै सस्तो परिभाषासँग दाँजिदिन्छु।

उसलाई चस्काउने व्यङ्ग्य गरिदिन पनि मन लाग्छ तर उसको तटस्थताले मलाई तर्साउन सक्छ। थाहा छैन, हामी दुईबीचको भिन्‍नताप्रति ऊ कतिको बिचार गर्छे।

केही छिन मौनता साटेपछि ऊ बोल्छे, 'अनि भन, बिहे किन नगरेको? ब्वाई फ्रेन्ड कोही छ कि अझै केटा मान्छे देख्दा झर्को लाग्छ?'

म सोच्छु, सायद कुनैबेला मैले उसको यस्तै कुनै कमशल प्रश्‍नहरुलाई टालिदिन भनेको हुनुपर्छ, 'मलाई लोग्नेमान्छेको गन्ध मनपर्दैन।' उसको उछिट्टिएको छाती र फुलेको यौवनले मलाई थोरै उपहास गरेको पनि हुन सक्छ।

म सौम्य तरिकाले उत्तर दिन खोज्छु, 'छैन कुनै ब्वाई फ्रेन्ड! मलाई कसैको गृहस्थी सम्हालेर वा कसैको स्वास्‍नीका रुपमा स्थापित भएर बस्‍ने रहर छैन। मेरो आफ्नै पहिचान छ।'

हुन पनि हो, म चिकित्सक भइसके र ऊ...`बजारबीचकी उषा?´ ...ऊ घोरिन्छे...

सायद बल्ल मूल्यांकन गर्दै छे ऊ, हामीबीचको भिन्‍नता। फेरि भेट्ने प्रतिज्ञा गर्दै हामी त्यहाँबाट छुटिन्छौं।

ऊ मोबाइल चलाउँदै कतै बतासिन्छे, म फेरि त्यही मोडमा ठोकिन्छु।

हीनताबोधले आज एकदम लखेटिरहेको छ। उनको नाम `रमा´ हो। उनैको घरमा म सरासर पसिदिन्छु। उनी एकतमासले टोलाइरहेकी हुन्छिन्। साँच्चिकै आजको साँझ एक्लै बस्‍नुपर्ने जस्तो भइरहेको छ। उनी पुलुक्क मतर्फ हेर्छिन्।

स्वागतको भावमा उनी आफ्नो दरिद्र मुस्कान गाह्रो मानी अनुहारमा झुन्डाउँछिन्। म भुइँमा झोला राखेर थोत्रो तन्‍ना ओछ्याइएको खाटमा बस्छु।

उनी अफ्ट्यारो हुँदै उठ्छिन्, घाउहरु कति ठाउँमा दुखेका होलान् ..म गिन्ती बिर्सिसक्छु।

बाहिर अन्धकारको अधिराज्य चल्न थालिसकेको छ। उनी पर्दा लगाउँदै छिन्। यो बडो उचित समय हो। म एकैछिनपछि 'खाना पकाउन ढिलो भयो, अहिलेलाई जान्छु' भनेर उम्कन सक्छु।

एक तल्लो दर्जाको बोध पचाउँछु।

'नानी' भन्दै उनी म छेउको भुइँमा बसिसकेकी हुन्छिन्। आफ्नो दुवै हात पछाडि लगेर चोलो फुकाल्न थाल्छिन्। उनको आँसु रोकिँदैनन्, उनको सानो छोरो नजिकैको कोक्रोमा निदाइरहेको हुन्छ। म निकै नमज्जाले आतिन्छु। उनी धोतीको एक सप्को मुखभरि कोचेर आफ्नो क्रन्दन रोक्छ खोज्छिन्। यो पक्कै पनि बेल्टले हानेको डामहरु हुनुपर्छ।

यसअघि उनी छातीभरिको रगताम्य रुपमा पिल्सिँदै थिइन्। लगत्तै उनी धोती उचाल्छिन्, खुट्टाहरुका निला-निला धर्साहरुमा म नैतिकतालाई प्रश्‍न गर्न खोज्छु।

प्रश्‍न मेरो मुखसम्म पनि आइपुग्दैन। उनी आँखाले केही आँसु सोस्दै भन्छिन्, 'हिजो जेठो छोराले एउटा औषधि लगाइदिएको थियो, दुख्या ठाउँमा लाउने रे! बेसार पनि दलेको थिएँ। एकदम गाह्रो भा´थ्यो। के औषधि थियो कुन्‍नि? हिजो घरबाट निस्किएको अझै आएको छैन। '

म उनको छाला तताइदिने घाउलाई सुम्सुम्याउन थाल्छु। आज हातमा पटक्कै ऊर्जा छैन। उनलाई एकचोटी यति निर्विरोध किन भएकी भनेर हप्काउन पनि मन लाग्छ। 'महानगरीयहरु तिम्रो भित्ताहरुको दरिद्रता नाप्‍न सक्छन्। एकपटक पाखुराका डामहरुलाई स्वतन्त्र छोडिदेऊ। पिंडुलाका सुम्लाहरुलाई खुला हावाको स्पर्श गराइदेऊ। जीवनका बिरानोपन तेर्साइदेऊ तिम्रो घरनिरको निलो बर्दी भिरेका जवान सामू। तर तिमी त्यस्तो गर्दिनौं। मलाई थाहा छ, तिमीलाई सधैं लाचार बनाइदिन्छ, अपराध सहनु´ र `अपराध लुकाउनु´को अपराधले', मलाई भन्‍न मन लाग्छ, 'तिमीलाई माया लाग्छ आधा-भोको पेटको, रातो सिउँदोको, यो घरको र तिम्रो सुकुमार छोराहरुको। तिमीले आफ्नो बैँस सुम्पिएको मूल्य मागेकी छैनौं। तिमी कसरी सन्तुष्ट हुन्छौ यो छोराहरुको निर्धो अनुहारमा शोष झैं रहेको भविष्य देखेर? यो खुम्चिएको कोठाको बेरंग तालप्रति समर्पित भएर? भोलि यहाँ नयाँ स्वास्‍नीको स्थापना हुन सक्छ। तिम्रा छोराहरुको अस्तित्व मेटिन सक्छ, तिम्रो भगवानको घाँटी छिन्‍न सक्छ। भोलि यहाँ विध्वंश हुन सक्छ र तिमी `दिनहरु त यतिकै कटिदिन्छन्´ भन्छौं। 'तर  म चुपचाप घाउ सफा गर्दै, त्यहाँ औषधि लगाइदिन्छु र पट्टीले बेर्न थाल्छु।

अनुमान लगाउन सकिन्छ, घाउमा हेर्दै उनी सोचिरहेकी छिन्, `हिजो फेरि म परास्त भएकी छु, एउटा सिङ्गो युगसामु। मेरो इतिहासमा फेरि दाग लागेको छ।´ ढोका खोलेको आवाजसँगै उनको जेठो छोरो भित्र पस्छ। हाम्रो स्थिति बुझिसकेपछि ऊ तन्‍नाले बारेको अर्को कुनामा गुट्मुटिएर बस्छ।

हामी सबै चाल पाउछौं, गाँजाको गन्ध कोठाभरि छरिएको छ, तथापि हामी मौन छौं। म साउती गर्दै मेरो सामुन्‍ने ढाड फर्काएर बसेकी आइमाईलाई उनको जोठो छोराको उमेर सोध्छु। उनी भन्छिन्, '१७ पर्ष लाग्यो।' पर्दाको सानो प्वाँलबाट उसलाई नियाल्छु। लाग्छ, ऊ सङ्घर्ष गरिरहेको छ।

उसका पिल्सिएका आँखाले सधैंसधैं यो परिधिबाट उम्कने प्रयास गरेका छन्। ऊ ठोक्किरहेको छ, आफ्नो सम्भावनाको सानो दलिनमा, उसको परिचय यहाँ रित्तो छ। हामीबीच केही सामन्जस्यता भेट्टाउँछु। हामी दुवै यस वर्तमानबाट निख्रिएर केही स्वाभिमान बचाउन खोजिरहेका छौँ। उन्‍नति र प्रगतिका लागि हाम्रो हात सक्सकाउँछन्। हामी 'भाग्य' भन्‍ने शब्दप्रति उसको आमाजस्तो उन्मुख छैनौं।

क्रमश: 'म पकाउने´ बहाना गर्दै उम्कन्छु। हामी सबै वास्तविकता चिन्‍न सक्छौं। उनको अजिङ्गर लोग्ने आइपुग्यो भने यहाँ सन्त्रासले जन्म लिनेछ।

लाग्छ, 'यो एक पिञ्‍जडा हो। 'निस्कनुअघि म उनको अनुहारको निष्क्रिय भाव पढ्छु', अनुहारले भन्छ, 'कसैलाई नभन्‍नु है नानी, यो समाज मेरो होइन।'

म भन्‍ने पनि छैन। घर पुग्दा म सिकिस्तै थाकिसकेकी हुन्छु। मानसिकता त्यसै त्यसै न्यास्रो भइरहेको छ। बिहानैको बासी भात भुटेर चपाइदिन्छु र ओछ्यानमा पल्टँदै सोच्छु, 'अखबारहरुमा यस्तो घरेलु हिंसाको प्रकरण र सचेतनाका खबर निकै टाँसिएको हुन्छ। वश यही एक आशा छ।'

 कति बजे म जान्दिनँ, एउटा फोन कलले म बिउँझिन्छु। आतङ्कित स्वरमा एउटा स्वास्‍नीमान्छे बोल्छे, 'नानी झट्टै आउनु! आज छोराले बाउलाई सिध्याउने भो!'

म कुनै स्वचालित यन्त्रझैँ किचेनमा पुगेर चक्कु समाउँछु। मेरा आँखा लाटो भइसक्छन्, मेरो शरीर उत्तेजनाले बहुलाइसकेको हुन्छ। अर्धचेतमै म सडकमा उत्रिन्छु। यहाँ निकै सुनसान छ। यही हो विध्वंश हुनुअघिको गाढा सन्‍नाटा!

लेखक रत्नराज्यलक्ष्मी क्याम्पसमा स्‍नातक  प्रथम वर्षमा अध्ययनरत छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.