|

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० सुरु भइसकेको छ। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। राजधानी यतिखेर हरियाली, सफा र धुलोमुक्त हुनुपर्ने थियो। तर, यहाँको अवस्था ठिक उल्टो छ। साँझ पर्न नपाउँदै यहाँको चोक, सडक र गल्लीहरूमा फोहोरको डंगुर थुप्रिने गरेको छ।

 राजधानीको व्यस्त सडक मानिने लाजिम्पाट-महाराजगञ्ज सडक हो। राष्ट्रपति कार्यालयदेखि प्रहरी अस्पताल,प्रहरी तालिम केन्द्रदेखि सरकारी अस्पताल महाराजगञ्ज शिक्षण अस्पताल त्यहीँ सडकमा पर्छ। राष्ट्रपति कार्यलयदेखि दक्षिण पाँच सय मिटर साँझ नपर्दै फोहोर थुप्रिन्छ।

अझ भनौँ देशको सबैभन्दा चर्चित टिभी च्यानल न्युज २४ को कार्यालय अगाडि फोहोरको डंगुर साँझ नपर्दै थुपारिन्छ।

बाह्य मुलुकबाट आउने पर्यटक केन्द्रीय राजधानी काठमाडौंमा अवतरण गर्छन्। पाहुनालाई स्वागत गर्नलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सरसफाइ गर्ने अभियान चलाइसकेको छ। रिङ रोडदेखिभित्र सहरका चोक-चोकमा भिजिट नेपालका डिजिटल बोर्ड राखिएका छन्। ठाउँ-ठाउँमा सेल्फी बोर्ड पनि राखिएका छन्।

वरपरका स्थानीय घर,कार्यालय र पसल भएका मानिसले साँझ पर्दै फोहोर फाल्ने गरेको स्थानीय व्यापारी रानीबारी बस्ने रोशन कुलु बताउँछन्। उनका अनुसार वरिपरिका मानिसहरू आएर झोलाझोला फोहोर फालेर घर जाने गर्छन्। यहाँ वर्षौंदेखि यसरी फोहोर फाल्दै आइरहेका छन्। बेलुका राखेको फोहोर बिहान नउठाउँदा सानो सिसडोल जस्तै हुन्छ।

‘बिहानको ७ बजेसम्म यतिकै फोहोर हुन्छ, ‘उनले भने,’ सबै गाडी हिँडिसकेका हुन्छन्। प्रहरीको गस्ती रातभर हिँडछ कसैले मुख्य बाटोमा फोहोर नगर्नु भन्दैनन्। महानगरपालिकाको गाडी बिहान ७ बजे पछाडि मात्र आउँछ।‘

राष्ट्रपतिको कार्यालय, प्रहरी अस्पताल यहीँ नजिक छ तर, पनि यो बाटोमा सधैँ साँझ पर्नेबितिकै फोहोर हुने गरेको उनले बताए। उनले भने, ’न्युज २४ टिभीको कार्यालयअगाडि सधैँ फोहोर थुप्रिन्छ। टिभी च्यानलले पनि केही गर्न सकेको छैन। वडा कार्यालय पनि राष्ट्रपति कार्यालय अगाडि छ। तर, बेलुकादेखि व्यस्त सडकमा फोहोर थुप्रिने गरेको छ।'

साँझको समयमा पर्यटक यो सडक भएर ओहोरदोहोर गर्ने हो भने भ्रमण वर्षको राम्रो सन्देश नजाने उनको दाबी छ।‘फोहोर राख्नु छ, फोहोरको लागि कन्टेनरको व्यवस्था हुनुपर्छ,’उनले भने,’ रातको समयमा कुकुरहरू झगडा गरेर फोहोर मुख्य सडकसम्म आएको हुन्छ।'

भित्री बाटो बनिरहेकोले मुख्य सडकमा फोहोर फालिएको काठमाडौं महानगरपालकिा वडा नम्बरका ३ का अध्यक्ष दीपक केसीले बताए। स्थानीयको फोहोर फाल्ने ठाउँ नभएकोले न्युज २४ को कार्यालय अगाडि फालिएको हो,' उनले भने,' यसको लागि वैकल्पिक स्थान खोजी भइरहेको छ। फोहोर फाल्ने कन्टेनरको व्यवस्था गर्ने तयारी गरिरहेको छौँ।' सोमबारदेखि त्यस स्थानमा फोहोर देख्न नसकिने केसीको दाबी छ।

यो सडक विशिष्ट व्यक्ति हिँडने बाटो हो त्यसको लागि भए पनि यो बाटो सफा गर्ने उनले बताए। 'यो सडक सबैभन्दा व्यस्त सडक हो तर,स्थानीय नागरिक जिम्मेवार नबन्दा पनि साँझमा फोहोर फालिरहेका छन्,'उनले भने। सरकारले पर्यटन वर्ष मनाउने भनेर घोषणा गरिसकेको छ, फोहोरले पनि भ्रमण वर्षलाई जिस्काइरहेको उनले स्वीकारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.