युवक हत्यामा प्रहरीदेखि वडाध्यक्षको 'कनेक्सन'

|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-५ का २५ वर्षीय दिलीप महतो इन्जिनियरको अन्तिम परीक्षा दिएर १२ दिनअगाडि भारतको भोपालबाट घर फर्केका थिए।

उनी घर आएलगत्तै औरही खोलामा अवैध उत्खनन् गरिरहेका क्रसर उद्योग बन्द गराउन गाउँका युवासँग छलफल गरे। उनले चुरियामाई क्रसर उद्योगका संचालक विपीन महतोलाई भेटेरै अवैधरूपमा नदी दोहन नगर्न भनेका थिए, चार दिनअघि।

तीन दिनअघि दिलीपका बुवा रामजीवन महतोले जग्गा भाडामा दिएबापतको रकम माग्‍न क्रसर संचालक महतोकहाँ पुगेका थिए। संचालक महतोले दुई दिनपछि रकम दिने वाचा गरे।

साथै ‘तिम्रो छोराले क्रसर बन्द गराउने योजना बुन्दैछ, सम्झाउनु नत्र ज्यान लिन्छु’ भनेर रामजीवनलाई 'थ्रेट' पनि दिए। उनी घर फर्के। तर, फुर्सद नभएका कारण छोरालाई थ्रेटबारे जानकारी दिन भ्यानन्।

शुक्रबार एकाबिहानै करिब ४ बजे दिलीपलाई परोसी रोशन यादवले घरबाटै बोलाएर लगे। केहीबेरमै उनलाई क्रसरको टिपरले ठक्कर दिएको भनेर घर परिवारका सदस्यलाई सूचना पुग्यो। दिलीपकी बहिनी लक्ष्मीकुमारी महतो दौडेर क्रसर चलिरहेको ठाउँ पुगिन्। उनी पुग्दा भाइ दिलीप ढलिरहेका थिए।

‘म त्यहाँ पुग्दा दाइको मृत्यु भइसकेको थियो। तर मलाई वडाध्यक्ष श्यामबाबु यादवले 'टच' पनि गर्न दिएनन्’ उनले थपिन् 'प्रहरी पनि त्यतिबेला त्यहाँ पुगिसकेको थियो।' दाइको मृत्यु भइसक्दा पनि मुचुल्का नबनाइ हतारहतारमा जनकपुर पुर्‍याएको उनले सुनाइन्।

लक्ष्मीले दुर्घटना भनेर ढाकछोपको प्रयासस्वरूप हतारहतारमा दाइ दिलीपको शव जनकपुर प्रादेशिक अस्पताल पुर्‍याइएको बताइन्। पहिले कुटपिट गरी हत्या गरेर टिपरले टाउकोमा चढाएको उनले दाबी छ।

दिलीपका बुवा रामजीवनले क्रसर संचालकले चार दिनअघि नै धम्की दिएर आज हत्या गरेको बताए। बोल्दा उनले आँसु थाम्न सकेनन्। ‘मेरो छोराको योजनाबद्ध तरिकाले हत्या गरेका छन्। हत्यारालाई कडा कारबाही हुनुपर्छ,’ उनले भने।

उनले गाउँमा भएको झगडामा घाइतेको उपचारका लागि छोरा बाहिर गएका कारण क्रसर संचालकले दिएको धम्कीबारे जानकारी गराउन नपाएको बताए। उनले भने, ‘आज धम्कीबारे छोरालाई भन्छु सोचेँको थिए। तर, त्योभन्दा अगावै छोराको हत्या गरियो।’

छोराको मृत्यु भएपछि आमा चन्द्रकला महतो बेहोस् छिन्। उनको घरको चुलो बलेका छैन। बिहानै घटना हुँदा उनको परिवारमा सबै भोकभोकै छन्। गाउँ नै शोकमा डुबेको छ। उनको घरमा सान्तवना दिने स्थानीयको घुइँचो लागेका छन्। मृतक दिलीप जेठो छोरा थिए।

वडाध्यक्षदेखि प्रहरीसम्मको 'कनेक्सन'

दिलीपको हत्यामा क्रसर संचालकसँग वडाध्यक्ष श्यामबाबु यादव, इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव र परोसी रोषण यादवको कनेक्सन रहेको परिवारका सदस्यको आरोप छ।

घटनास्थलमा सबभन्दा पहिले वडाध्यक्ष यादव र प्रहरी निरीक्षक यादव पुगेका थिए। मृतककी बहिनी लक्ष्मी घटनास्थल पुग्दा उनीहरूलाई देखेकी थिइन्।

लक्ष्मी भन्छिन्, ‘वडाध्यक्ष, प्रहरी, रोषण र क्रसर संचालकको मिलोमतोमा दाइ दिलीपको हत्या भएको हो। घटनास्थलमै दाइको मृत्यु भइसके पनि मुचुल्का नै नबनाइ जनकपुर लग्नुले पनि उनीहरूको संलग्नता देखिन्छ।’

‘बिहानै ४ बजे दाइलाई रोषणले किन बोलाएर लग्यो?,’ उनले प्रश्‍न गरिन्, ‘यदि ठीक मनसायले लगेको भए रोषणलाई किन केही भएन? यो त्यतिकै योजनाबद्ध तरिकाले हत्या गरेको देखिएको छ।’ मिडियामा रोषणसँग दाइ 'मर्निङवाक' गएको भनेर सम्प्रेशन गरिएको समाचार झुठो भएको पनि उनले बताइन्।

आन्दोलनमा प्रहरीको आश्रुग्यास

घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। घण्टौँसम्म प्रदर्शन गरेपछि प्रदर्शनकारीमाथि प्रहरीले आश्रुग्यास प्रहार गर्‍यो। करिब १० सेल आश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी तितरबितर भए। अहिले राजमार्ग संचालनमा आएको छ।

त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ती, अपराधीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही र अवैध रूपमा संचालित क्रसर उद्योग बन्द गराउन माग गरेका छन्।

चालक पक्राउ, क्रसर संचालक फरार

प्रहरीले दिलीपलाई किचेर मारेको ना. ७ ख. ६४१३ नम्बरको टिपर र चालक मुनिन्द्र महतोलाई नियन्त्रणमा लिएको छ। चालक महतो महोत्तरीको बर्दिबास नगरपालिका-९ का हुन्। क्रसर संचालक महतो भने फरार छन्। साथै मृतक दिलीपलाई घरबाट बोलाएर लगिएका भनिएको रोषण यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

टिपर चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखिएको छ। घटनामा रोषणको पनि संलग्नता रहेको भनिए पनि प्रहरीले उनलाई सोधपुछ गरी छाडिसकेको छ।

प्रहरी निरीक्षक रामकुमार यादवले सोधपुछपछि रोषणलाई छाडेको बताए। तर इलाका प्रहरी कार्यालय पुग्दा प्रहरी निरीक्षक यादव भेटिएनन्। त्यहाँका सुरक्षाकर्मीसँग बुझ्दा रोषण अहिले नियन्त्रणमै रहेको र भेटघाट गर्न नदिने बताए।

अवैध क्रसर संचालन

विगत एक वर्षदेखि क्रसर उद्योग अवैध रूपमा संचालनमा रहेको खुलेको छ। सरकारी मापदण्ड लत्याएर नदीको डिलमै क्रसर उद्योग संचालन गरिएको छ। क्रसर उद्योगले नदीमा ठूला-ठूला खाल्डा खनेको छ। तर, नियमनकारी निकायको भने ध्यान पुगेको छैन।

अवैध संचालित क्रसर उद्योग बन्द गराउन पटक-पटक जिल्ला समन्वय समिति र अन्य सरोकारवाला निकायले निर्देशन दिएका थिए। तर, हालसम्म बन्द भएका छैन। नेतादेखि ठूला धनाढयको लगानी रहेका कारण उनीहरूको अगाडि प्रशासननिरीह बनेको  स्थानीयको आरोप छ।

टिपरले दिलीपको ज्यान लिएको क्रसर उद्योगका संचालक पनि नेपाली कांग्रेसका स्थानीय नेता भएको बताइएको छ। नेता र पैसाकै पावरमा उनले क्रसर अवैध रूपमा निर्धक्क चलाएको स्थानीय एक युवकले बताए। ‘प्रहरीदेखि वडाध्यक्ष र अनुगमन गर्ने सबै अधिकारीलाई पैसा खुवाउँछन्। त्यसैले त कोही बोल्दैनन्' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.