|
प्रतीकात्मक तस्वीर

डोटी : डोटीका १७ प्रतिशत युवती २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलामध्ये २० वर्ष मूनिका १७ प्रतिशत किशोरी गर्भ चेकजाँच गराउने गरेको पाएको हो।

स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७५/७६ मा डोटी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको संख्या पाँच हजार ५३७ रहेको थियो। तीमध्ये ९३७ जना अर्थात् करिब १७ प्रतिशत २० वर्ष मूनिका रहेका छन्।

सरकारले विवाह गर्नका लागि २० वर्ष अनिवार्य पुग्नुपर्ने कानुनी व्यवस्था गरेको भए पनि बालविवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन।

आर्थिक वर्ष ०७४/७५मा गर्भ जाँच गराउने कुल पाँच हजार चार सय ८५ महिलामध्ये एक हजार ८२ अर्थात् १९ प्रतिशत २० वर्ष मूनिका रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

‘सुरक्षित गर्भपतन सेवा लिनेहरूमा पनि ६ प्रतिशत २० वर्ष मूनिका महिला रहेका छन्। यस्तै, परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नेहरूमा पाँच प्रतिशत २० वर्ष मूनिका रहेको कार्यालयको तथ्यांकमा छ’ बोहराले भने।

२० वर्ष नपुगी विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्थासमेत गरिएको छ। तर, डोटीमा गर्भ जाँच गराउन स्वास्थ्य संस्था आउने महिलामध्ये उल्लेख संख्यामा २० वर्ष मूनिका किशोरी रहेको पाइएको छ।

स्वास्थ्य कार्यालयको उक्त तथ्यांकले डोटी जिलामा अहिले पनि बालविवाह व्याप्त रहेको देखाएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। ‘बालविवाह हुनुको मुख्य कारण परम्परागत र रूढीगत मान्यता नै हो, त्यसका साथसाथै अहिले सञ्चार माध्यमको गलत प्रयोगले पनि बालविवाह बढ्दै गइरहेको छ’ उनले भने।

अभिभावकले गराउने बालविवाहमा कमी आएको भए पनि मोबाइलबाट सम्पर्क गर्दै केटा र केटी भागेर बिहे गर्ने प्रचलन बढेको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पनि बालविवाह कायमै रहेको महसुस गरे।

सानै उमेरमा गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने बताउँछिन्, डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डे। ‘सानै उमेरमा पाठेघर पूर्णरूपमा विकास भइसकेको हुँदैन, यसले बच्चा अपाङ जन्मन सक्ने खतरा पनि हुन्छ’ उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.