साहित्य

'महरा' तिम्रो याद आइरहन्छ!

पुस २६, २०७६

    काठमाडौं : हो महरा, म तिम्रो यादबाट पर भाग्न सकिरहेको छैन। जुन दिन तिमी पूरा—पूरा शपथ लिएर म भित्र प्रवेश गरेका थियौ, म पूर्ण विश्वस्त थिएँ तिमीले नि:स्वार्थ, निष्कलंक, विभेदरहित भएर आफ्नो जिम्मेवारी पूरा गर्नेछौ भनेर।

    तर,अफसोच ! तिमीले मेरै बदनाम गरिदियौ। के गल्ती थियो मेरो। मलाई मुखवहीन बनाएर गयौ। हेर त, आज म मुखविहीन भएको छु। यसरी, जसरी मिओ बिनाको दाइँ, बाउबिनाको घर, हाकिमबिनाको अफिस, प्रधानमन्त्री बिनाको क्याबिनेट अनि राष्ट्रपति बिनाको शीतलनिवास।

    म बालुवाटारलाई सम्झन्छु, म शीतलनिवासलाई सम्झन्छु। कति मोज छ तिनलाई। अभिभावक छ र त मोज छ। तर, यता खडेरी छ आजकल। सल्लाह बढी हल्ला धेर छ यहाँ। तिमी छैनौ नि त भन्नलाई 'मान्य सदस्य बसौं, बसौं मान्य सदस्य, बोल्ने अनुमति दिइन्छ बसौं।'

    खण‍डहर पो बनाइदिन्छन् कि झैँ लाग्छ आजकल। तिमी गएपछि देश हल्लियो, राजनीति हल्लियो, कतिका चेत खुले होलान् 'सम्बन्धप्रति इमानदार नहुँदा, जथाभावी सम्बन्ध राखेर परिवारलाई पीडा दिँदा, तिम्रो सम्मान खातिर आफ्नो जीवन अर्पित गर्ने संगिनीलाई आँसु दिँदा, बाउ छन् अझै भन्दै गर्वले छाती ठोक्ने छोरालाई परस्त्रीको सेवाखातिर खटाउँदा, एउटी महिलाको आत्मसम्मानमा कुल्चेर उसलाई खुट्टाको धुलो सम्झिँदा' दुष्परिणाम निस्कने रहेछ भनेर।

    त्यसो त, म तिम्री उनी उपनाम पाएकी उनलाई पनि पानीमाथिको ओभानो बन्न खोजेको बाहेक कम देख्दिनँ। स्वार्थले भरिएको सम्बन्धलाई बेहोसी र आवेगमा ओकलेर कालान्तरमा पछुताउँदै बहुलाई कहलाउन्नुबाहेक कुनै खास परिणाम देखिएन उनका लागि। जेसुकै होस्, तिमी त देशको कानुन बनाउने सर्वोच्च स्थानमा थियौ जहाँ बस्ने अधिकारीहरूले हात उठाको भरमै हजारौँ पीडितले न्याय पाउने अस्त्र बन्छ।

    यस्तो ओहदाको मान राख्न सकेनौ। निर्विवाद हुन सकेनौ बरु केही थिएन। निष्‍कलंकित हुन सकेनौ, यसले घोचिरहन्छ मेरो छाती! तिम्रा हर्कतको सजाय हेर कतिले भोग्दैछन्। तिम्रा परिवार, तिम्रा आसेपासे अनि म पनि भोग्दैछु।

    लथालिंग भएको छु। बिजनेसको थान थुप्रिसके र पनि म अघि बढ्न सकेको छैन। मभित्रका काठे टेबल बज्दैन आजकल, न ड्यास् भरिन्छ, न कसैले मभित्र उभिएर औँलो उचाली-उचाली 'सरकारले यसो गर्‍या भएन, उसो गर्‍या भएन' भन्छ। न तिम्रो कुर्सीमा बसेर कसैले 'मान्य सदस्यहरू आजको कारबाही सुरु हुन्छ' भन्छ। न क्यामेरा र माइक तेर्स्याउने कोही आको छ। म छु त यसै पनि निर्जीव। त्यसमा पनि यो सुनसानले मलाई साँच्चै एक्ल्याएको छ, महरा।

    तिम्रा पूर्व-सहकर्मीहरू पनि के भाका, तँछाड-मछाड गरिराछन्। भागबण्डा नमिलेर मलाई मुखविहीन बनाइरहेका छन्। बोल्ने मुख्य मुख नहुँदा म गोडा भएर पनि लंगडो भएको छु, हात भएर पनि डुँडो जस्तो भएको छु, आँखा भएर पनि दृष्टिविहीन भएको छु, कान भएर पनि नसुन्ने झैँ भएको छु।

    तर, तिम्रा पुर्वसहकर्मीहरू बुझिरहेका छैनन् मेरो हाल। उनीहरूलाई के छ, जसरी पनि प्रतिपक्षीलाई स्थान नदिनु छ अनि एउटी महिलालाई 'उप' मै सीमित राख्नु जो छ। 'म सक्छु यो जिम्मेवारी सम्हाल्न' भनेर एउटी डा. चिच्याइरहेकी मात्र छैनन् उनको अडानको त म सम्मान नै गर्छु। तर, तिम्रा पूर्वसहकर्मीहरू सुनेको नसुन्यै गरी उनलाई अन्तै तह लगाउन खोज्दैछन्।

    जसरी पनि उनीहरूलाई अंशबण्डा मिलाउनु छ। मेरो के वास्ता! ठिकै छ, म निर्जीवको त वास्ता गरेनन् ३ करोड सर्वश्रेष्ठ नेपालीमनहरूको त ख्याल गरून्। उनीहरू चाहन्छन् संसद निरन्तर बिजनेस गरिरहोस्, आफूहरूको भलो हुने कानुन बनाएर सकोस्, मुलुकलाई संक्रमणकालीन अभ्यासबाट मुक्त गरोस्। खोइ बुझेको।

    दैनिक कम्तीमा दुई पटकको मीनभवन—बबरमहल—बबरमहल—मीनभवनको यात्रा गरिरहँदा म चुपचाप ठडिएको संसद भवनलाई देख्छु। ऊमाथि लेखिएका हरफहरू बोलिरहेको महसुस गरिरहन्छु। अनि अझै कति दिनसम्म 'संसद भवन अझै सभामुखविहीन, सभामुख चयन प्रक्रियामा ढिलाइ' भनेर सुनाउने होला भनेर सोचमग्न हुन्छु।

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]