कृषि क्षेत्रलाई प्राथमिकता

|

पाल्पा : फागुन १ गतेदेखि ११ गतेसम्म तानसेनमा पाल्पा महोत्सव आयोजना गरिने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा तानसेन नगरपालिका–९ मदनपोखराको माडीस्थित दमकडामा महोत्सव आयोजना गर्न लागिएको हो। 

‘व्यापार विविधीकरण : कृषि तथा पर्यटन प्रवद्र्धन राष्ट्रको आधार’ नाराका साथ फागुन १ गतेदेखि ११ गतेसम्म महोत्सव सञ्चालन हुने संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए।  ‘जिल्लाको कृषि, पर्यटन, व्यापार प्रवद्र्धन र विकासका लागि सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। आर्थिक तथा सामाजिक उत्थानका लागि शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पुग्ने छ,’उनले भने ‘आन्तरिक बजार सवलीकरणका साथै पर्यटन विकासका लागि व्यावसायिक उत्थान गर्नेछ।’

उनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० फल पार्न स्थानीय वस्तु तथा सेवाको पहिचान, बजार प्रवद्र्धनका लागि उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहित गर्ने छ। पाल्पाली ढाका र करुवाको बजारीकरण गर्न पनि महोत्सवले सहयोग पुर्‍याउने अध्यक्ष पोखरेलले दाबी गरे। 

महोत्सवमा ताजा तरकारी, फलफुल, माछा तथा अन्य कृषि उपज, दुग्ध र दुग्धजन्य वस्तु, बीउविजन तथा मलखाद, कृषि औजार, प्रविधि, यन्त्र, जडीबुटीजन्य औषधी, छालाजन्य सामग्री, फर्निचर तथा फर्निसिङ्ग, दैनिक उपभोग्य वस्तु, पाल्पाली ढाका तथा करुवा प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिनेछ।  

महोत्सवमा २०० बढी स्टल राखिने र अधिकांशमा कृषिसम्बन्धी प्रदर्शनी गरिनेछ। महोत्सवलाई करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ। महोत्सवबाट करिब ७० लाख रुपैयाँ आम्दानी हुने र यसमध्ये ४० लाख रुपैयाँ खर्च गरिने तथा ३० लाख रुपैयाँ नाफा हुने अनुमान रहेको सचिव पर्शुराम पौडेलले बताए। 

उनका अनुसार महोत्सवमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, गाउँपालिकास्तरीय विभिन्न सँस्कृति झल्कने सांस्कृतिक प्रतियोगितासमेत हुनेछ। महोत्सव अवलाकन गर्न सर्वसाधारणले ५० रुपैयाँ र विद्यार्थीले २५ रुपैयाँ तिर्नुपर्ने छ भने जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निःशुल्क प्रवेश पाउने सचिव पौड्यालले बताए। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती समेत दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.