सांस्कृतिक आदान-प्रदानको प्रतिवद्धता

|

बुटवलः बुद्ध जन्मस्थल लुम्बिनी अवस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्स्त्रेमादुरा प्रदेशको काथेरेर शहरबीच भगिनी सम्बन्ध कायम भएको छ। 

लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सायला हुलियनले ऐतिहासिक सम्बन्ध स्थापनार्थ हस्ताक्षर गर्दै सझदारी पत्र आदानप्रदान गरे। 

भगिनी सम्बन्धले बुद्ध जन्मस्थल लुम्बिनी र मध्ययुगीन पुरातात्विक महत्वको नगरपालिका काथेरेस बीच कला र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्‍याउने दुवै नगरपालिकाका प्रमुखहरूले बताए। काथेरेस सन् १९८६ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो भने लुम्बिनी सन् १९९७ मा सूचीकृत भएको हो। 

भगिनी सम्बन्धसम्बन्धी समझदारी पत्र हस्ताक्षर कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी र एक्स्त्रेमादुरा प्रदेश कि सांस्कृतिक तथा पर्यटन मन्त्री नुरीया फ्लोरेस रेदोन्दोको समेत उपस्थिति रहेको थियो।

शुक्रबार कार्यक्रममा बोल्दै प्रदेश ५ का पर्यटन मन्त्री गिरीले लुम्बिनीको विश्वव्यापीकरणमा स्पेनीस शहरसँगको यो सम्बन्ध महत्वपूर्ण हुने दावी गरे। सोही कार्यक्रममा रुपन्देही, नवलपरासी र कपिलवस्तुका ७ वटा स्थानीय सरकार र लुम्बिनी गार्डेन फाउण्डेशनबीच पनि समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बुद्धको मावली रुपन्देहीको देवदह नगरपालिका, बुद्धसँग जोडिएका मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका, बुद्धको अस्तु धातु रहेको भनिएको नवलपरासीको रामग्राम नगरपालिका, बौद्धकालीन सम्पदा रहेका कपिलवस्तुका कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका र शुद्धोधन गाउँपालिका तथा   लुम्बिनी गार्डेन फाउन्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

समझदारी पत्रमा स्थानिय सरकारका तर्फबाट देवदहका प्रमुख हिराबहादुर केसी, मायादेवीका अध्यक्ष ध्रुबनारायण चौधरी, गैडहवाका अध्यक्ष बच्चुलाल केवट, रामग्रामका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तुका प्रमुख किरण सिंह, बुद्धभूमिका प्रमुख केशबकुमार श्रेष्ठ र शुद्धोधनका अध्यक्ष निसार अहमद खानले फाउण्डेशनसँगको छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

फउण्डेशनका तर्फबाट अध्यक्ष होसे मानुयल भिलानोभाले हस्ताक्षर गरी एक आपसमा समझदारी पत्र आदानप्रदान गरे। 

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा भारत र नेपालका लागि स्पेनका राजदूत होसे रामोन बरन्यानो, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, एक्स्त्रेमादुरा सरकारका वैदेशिक मामिलाका महानिर्देशक रोसा बालास तोरेस, हङकङकी प्रतिष्ठित व्यवसायी हायना याङ्, बुद्ध लुम्बिनी ग्रुप स्पेनका महासचिव एकराज गिरीलगायतको उपस्थिति रहेको थियो। 

हस्ताक्षर कार्यक्रम पूर्व प्रदेशका पर्यटन मन्त्री गिरीले एक्स्त्रेमादुराकी समकक्षी रेदोन्दोसहितको स्पेनीस डेलीगेट्सलाई मायादेवि मन्दिर र आसपासका सम्पदाको अवलोकन गराएका थिए।

अवलोकनपछि मायादेवि मन्दिर परिसरको पिपलको रुखमुनि भन्तेहरूको मन्त्रावाचनका बीच पाहुनाले धुप प्रज्जवलन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.