|

पर्सा : नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगन्जका उद्योगी व्यापारीलाई तथ्यहीन कुरा नगर्न चेतावनी दिएका छन्। हरेक अर्थमन्त्रीसँग वीरगन्जका उद्योगी व्यापारीले भन्दै आएको कुरा ‘कुल राजश्वको ४५ प्रतिशत हामी (वीरगन्ज) ले मात्र तिर्छौं, त्यो अनुसारको सुविधा सरकारले दिँदैन' भन्ने कुराको खण्डन गर्दै उनले तथ्यहीन कुरा नगर्न चेतावनी दिए।

‘वीरगन्ज नाका प्रयोग गरी आयात भएका सबै सामानको राजश्व यहाँका उद्योगी व्यापारीले मात्र तिरेको होइन। वीरगन्ज बाहिरका उद्योगी व्यापारीले यो विन्दुबाट मगाएको सामानको राजश्व (कर) उसले यहि नाकामा तिरेको हुन्छ। त्यो सामान मुलुकका जुन कुनासम्म पुग्छ। त्यहाँका पनि उपभोक्तासम्मले कर तिर्ने गर्छन्। अनि यो नाकाको तथ्यांक जोडेर हरेक पटक यस्तो तथ्यहीन कुरा नगर्नुस्। आइन्दा यस्तो कुरा अरू अर्थमन्त्री झैँ मलाई नसुनाउँनुस्' उनले चेतावनी दिँदै भने।

विगत २५ वर्षयताका संघका साधारणसभामा आइपुग्ने उच्च पदस्थ व्यक्ति तथा अर्थमन्त्री तथा नेतासामु वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वकर्ता र यहाँका राजनीतिकर्मीले समेत यही कुरा सुनाउँदै आएका थिए। शुक्रबार पनि यो कुरा दोहोरियो।

वीरगन्ज उद्योग वाणिज्य संघको ४४औँ साधारणसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले तथ्यहीन कुरा गर्नुभन्दा मुलुकका अरू नाकाभन्दा बढी सामान यो नाकाबाट भित्रिदा वातावरण प्रदूषित हुने यहाँका भौतिक पूर्वाधार चाँडो कमजोर हुने कुरा जोडेर विवेकपूर्ण माग गर्न सुझाव दिए।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वअर्थ सचिव कृष्णहरी बाँसकोटाका पालमा वीरगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा आएको बखत तत्कालीन संघका अध्यक्ष ओमप्रकाश शिकारियाले यो कुरा उठाएका थिए। सो समयमा पर्सा बाराका उद्योगीले मात्र वीरगन्ज नाकामा दिएको राजश्व होइन भनी भाषणका क्रममा दुवै जनाले खुलस्त पारे।

तथापि संघको गोपाल केडियाको नेतृत्वले पुरानै कुरा दोहोर्‍याउँदा अर्थका विज्ञ अर्थमन्त्री डा खतिवडाले पनि सारमा सबैकुरा बताइ दिएका हुन्। कांग्रेस निकटका अर्थअन्त्रीहरूले चाहिँ उक्त कुरालाई सुन्ने तर प्रतिवाद नगरी जाने गरेका थिए।

संघका एजेण्डा डेढ दशकबाट एउटै

निजी क्षेत्रले डेढ दशकबाट साधारणसभामा एजेण्डा लाँदै पारित गर्दै गरेको वीरगन्ज-पथलैया औद्योगिक कोरिडोर घोषणाका सवालमा अर्थमन्त्री डा. खतिवडाले आवश्यक पूर्वाधार निर्माणमा काम सुरु भएको बताए। त्यसैगरी, हुलाकी राजमार्गको लागि पनि निर्माण कम्पनीले गल्ती गरे सुझाव दिन आग्रह गर्दै उनले सरकारको तर्फबाट बजेट दिने कुरामा कन्जुस्याइ नहुने प्रतिबद्धता गरे।

'उद्योगी व्यापारीले आफूहरूलाई सरकारले थुन्न थाल्यो भन्ने कुरा गर्नु हुन्छ भने युवराज खतिवडाले गल्ती गरे पनि त सजायको भागिदार बन्नु पर्ला नि? तपाईंहरूले पनि गल्ती गर्ने काम नै नगर्नुस् न्याय सिद्धान्तले पनि त्यसै भन्छ' उनले भने।

काठमाडौं विमानस्थलको विकल्प निजगढ

फरक अर्को प्रसंगमा मन्त्री डा. खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विमानस्थलको विकल्प भएको बताए। 'यो विमानस्थल जसरी पनि बन्छ। यसमा शंका नगर्नुस्' उनले भने। उनले निजगढ-काठमाडौं द्रुतमार्ग पनि निधारित समयमा पूरा हुने उनले बताए।

वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको संघको ४४औँ साधारणसभामा पर्सा १ बाट निर्वाचित सांसद प्रदीप यादवले वीरगन्जलाई खासै ध्यान नदिएको बताए। उद्योगी व्यवसायीको हितमा सरकारको काम नभई आइसी खोल्न दिने त्यो अनुसारको सामान आयात गरी बिक्री वितरण गर्दा दुःख दिने गरेको मरिच र केराउको आयातको पैठारीको उदाहरण दिँदै उनले बताए।

खपतका आधारमा आयातको व्यवस्था गर्न उचित हुने उनले सुझाव दिए। त्यसैगरी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले निजी क्षेत्रले सरकारसँग नीति सुधार चाहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.