नेवाः ताम्सालिङले समर्थक नै पाएन

|
फाइल फोटो

हेटौँडा : नेकपा प्रदेश-३ संसदीय दलको बैठक लगातार पाँच दिनसम्म बसेपछि नेकपाले ठोस निर्णय सार्वजनिक गर्‍यो। तर नेकपाको यो निर्णयप्रति प्रदेशसभा सदस्यहरुले फरक मतसमेत दर्ता गरेका छन्।

काभ्रे राजधानी माग गर्नेले तथा नेवाः तामसालिङ र नेपाल मण्डल नामाकरण माग गर्ने प्रदेशसभा सदस्यले 'नोट अफ डिसेन्ट' लेखेको एक प्रदेशसभा सदस्यले बताएका छन्।

काभ्रे राजधानीका लागि ३२ सांसदको हस्ताक्षर

प्रदेश राजधानी काभ्रे हुनुपर्ने भन्दै नेकपा प्रदेश संसदीय दलका नेता डोरमणि पौडेललाई ३२ सांसदले हस्ताक्षर गरेर बुझाएका थिए। त्यसलाई राजेन्द्र पाण्डे र केशव स्थापितसहित चारजनाले थप समर्थन गरेका ती प्रदेशसभा सदस्यले बताए। 

शुक्रबार साँझ काभ्रे राजधानी माग गर्दै संसददेखि नेकपा संसदीय दलमा समेत बोलेका लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, सरेश नेपाल, चन्द्र लामा, गोमा भुर्तेललगायतका प्रदेशसभा सदस्य हस्ताक्षर गरेर बुझाएको ती सांसदले बताए।

यद्यपि, संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले जानकारी लुकाएका छन्। उनले भने, 'यो विषयमा अहिले चर्चा गर्न आवश्यक छैन, दर्ता भएका मत सुरक्षित छन्।'

नेवाः ताम्सालिङमा २३

राजधानीमा मात्रै नभइ नामको विषयमा पनि नेकपा संसदीय दलको निर्णयमा फरक मत दर्ता भएको छ। प्रदेश ३ को नामकरण बागमती नहुने भन्दै नेवाः ताम्सालिङको माग गर्दै २३ सांसदले पार्टीको निर्णयप्रति 'नोट अफ डिसेन्ट' जनाएका छन्।

२३ प्रदेशसभा सदस्यले पार्टीको निर्णय जनभावनाअनुरूप नभएको र विगतमा उठाएको मुद्दामा पछि हटेको भन्दै पार्टीमा आफूहरूले मत दर्ता गरेको अर्का एक सांसदले थाहाखबरलाई बताए।

नेपाल मण्डलमा पनि

नामकरण बागमती भएपछि नेवाः ताम्सालिङ माग गर्नेहरूले मात्रै फरक मत दर्ज गरेनन्। संसदमा नै नेपाल मण्डल माग गर्दै आएका आठ प्रदेशसभा सदस्यले पनि संसदीय दलको निर्णयप्रति 'नोट अफ डिसेन्ट' जनाएका छन्।

पहिचान र समग्र प्रदेशलाई समेट्ने गरि नामको अर्थ रहेको नेपाल मण्डल नाम गरेका प्रदेशसभा सदस्यहरूले बताए। उक्त नाम माग गर्ने अधिकांश उपत्यकाका सांसद रहेका छन्।

फरक मतको सम्मान : अष्टलक्ष्मी शाक्य

संसदीय दलको बैठकमा नै संसदमा 'ह्विप' लाग्ने निर्णय गरेता पनि नेकपा प्रदेश-३ ले पनि आफ्नो धारणा पार्टीमा राख्न पाउने जनाएको छ।

पार्टीमा फरक मतको सम्मान गर्ने भन्दै संसदमा एक भएर गए पनि पार्टीमा फरक मत दर्ज गर्न दिइएको प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन्।  फरक मत राखेको अभिलेखका लागि पनि यसलाई मान्यता दिइने शाक्यले बताइन्।

समर्थक नै नभएपछि ...

पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै आएका तत्कालीन नयाँ शक्तिबाट विजयी स्वतन्त्र सांसद प्रेम तामाङले आफूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न खोजे पनि समर्थक नपाएको बताए।

सत्ता पक्ष नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, साना दल विवेकशील, नेमकिपा, राप्रपा र राप्रपा (संयुक्त) ले प्रदेशको नाम बागमती राख्न संयुक्त प्रस्ताव दर्ता गरेपछि नामकरणको लागि समर्थक नभेटिएको उनले बताए।

सांसद तामाङले प्रदेशको नाम नेवा: ताम्सालिङ प्रस्ताव गर्दै फारम पनि भरे। तर उनलाई समर्थन गर्ने कोही भएनन्। प्रदेशसभाका कुनै पनि सदस्यले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्दा दुई प्रदेशसभा सदस्य समर्थक चाहिने व्यवस्था छ। जब संसदमा प्रस्ताव भएको नामकरणको विषयमा छलफल भयो उनले आफ्नो फारम देखाउँदै इतिहासले सराप्ने बताए।

पहिचानको नाममा शहीद बनाएर उनीहरूको सपनामाथि खेलेको भन्दै उनले आफ्नै एजेण्डामा बोल्न नसक्ने 'राता सांसदलाई रातै सलाम' गरेका थिए। सांसद तामाङले संसदमा दर्ता गर्न नसके पनि मुटुमा दर्ता भएको भन्दै फारम मुटु छेउमै राखेर सांसदहरूलाई देखाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.