आशबहादुरकाे राहदानी नै साहुसँग
आशबहादुरकाे राहदानी नै साहुसँग
अश्विन दानी
गोरखा : इरान र अमेरिकाको युद्धले ती देशका मानिसलाई मात्रै पीडा परेको छैन। दुई राष्ट्रबीचको द्वन्द्वले नेपालबाट कमाउनका लागि इराक पुगेका नेपाली भने आत्तिन थालेका छन्।
दिनहुँ बमको आवाज सुनेर त्रासमा काम गर्नुपर्ने त्यहाँ रहेका युवालाई बाध्यता छ भने छिटो घर फर्किए हुन्थ्यो भन्ने आशा नेपालमा रहेका परिवारलाई छ। बुढेस कालका सहारा इराकबाट फर्कने आशमा बृद्ध ‘बा।’ घार्चे गाउँपालिका ३ उहियाका कामी गुरुङका तीन छोरा, जेठो २८ वर्षीय जीतमान बिगत नौवर्षदेखि इराकमै छन्।
२६ वर्षीय माइलो छोरा आशबहादुर र २२ वर्षीय कान्छो छोरा साइबहादुर पनि जेठा दाइले भिसा पठाएपछि इराक पुगेको गत मंसिरले ठ्याक्कै दुई वर्ष पूरा भयो।तीनवटै छोरा इराकमा गएर राम्रै कमाई गर्न थालेपछि उनी पनि सन्तुष्ट थिए। तर, अघिल्लाे हप्ता अघि कामीलाई फोनमा जेठा छोराले इरान र अमेरिकाको युद्धको बिषयमा बताउँदै आफू खतरामा भएको जानकारी दिए। त्यसदिनदेखि उनी सँधै रेडियो, टेलिभिजनको खबर सुनिरहन्छन्। सोचिरहन्छन्, ‘मेरो छोरालाई केही नहोस्। छिट्टै घर फर्किउन्।’
लडाइँको कुरा सुन्ने बित्तिकै छोरालाई काम छाडेर नेपाल फर्कन आग्रह गर्ने गरेको कामी बताउँछन्। ‘१५/१६ वर्ष अघि नै श्रीमतीले अर्कै विहे गरिन्। अहिले मेरो साहारा भनेको तीनै छोराहरू मात्र हुन्,' उनले भने, ‘तीन वटै छोरा अनि ज्वाइँ इराकमा छन्। केही दिन अघि जेठो छोराले फोनमा हामी अलि खतरामा छौँ बा भन्याे।'
छाेराले त्यसाे भनेकाे दिनदेखि कामीले ज्यान भन्दा धन ठूलाे हाेइन सबै घर भनेकाे भन्यै छन्। जेठो छोराले द्वन्द्व अझै गम्भीर भयो भने मिलाएर घर फर्कने आश देखाएको कामी बताउँछन्। ‘पैसा नै ठूलो कुरा होइन। डरमा काम नगर घर फर्किऊँ भन्दा जेठो छोराले द्वन्द्व अझै गम्भीर भयो भने आइहाल्छु भन्थ्यो’, कामीले भने, ‘अचेल त परिवारले चिन्ता गर्छन् भनेर हो कि, खोइ किन हो? युद्धको विषयमा पनि कुरै गर्दैन। आउने कुरा पनि गरेको छैन। अप्ठ्यारोमा काम गर्नुभन्दा छिट्टै घर फर्किए हुन्थ्यो भन्ने आश लाग्या’ छ।’
‘धन चाहिँदैन, उहाँ फर्किए पुग्छ’
सँगै जीउने अनि सँगै मर्ने कसम खाएर बिवाह गरेको ५ वर्ष नबित्दै सारा बाचा कसमलाई थाँती राख्दै श्रीमती स्मृतिलाई छाडेर आशबहादुर इराक गएको दुई वर्ष पूरा भयो। तर, जब इरानले आफ्नो एकजना सैन्य जनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेको घटना सुनिन् उनको मन हरेकपल श्रीमान् कै चिन्तामा अतालिरहन्छ।
‘हिजो इमोमा कुरा हुँदा म काम गर्ने घरमाथि जतिखेरै हेलिकोप्टर उडिरहन्छ। बेला बेलामा बम पड्किएको आवाज पनि सुनिन्छ भन्नुभाथ्यो’, स्मृतिले भनिन्, ‘जतिखेरै डर लागिराख्छ। मन आत्तिन्छ। धन चाहिँदैन उहाँ छिट्टै घर फर्किनु भए पुग्छ।’
२०७४ साल मंसिरमा इराकमा काम गर्न पुगेका आशबहादुर राजधानी बग्दादस्थित एक होटलमा कार्यरत छन्। श्रीमतीकाअनुसार आशबहादुर काम गर्ने होटलबाट बाहिर निस्कन पाएका छैनन्। ‘बाहिरको अवस्था तनावग्रस्त भएकोले काम गर्ने ठाउँबाट बाहिर निस्कन पाउनु भएको छैन रे’, उनले भनिन्,‘खाने, बस्ने अनि काम गर्ने सबै एकै ठाउँमा हो भन्नुहुन्थ्यो।’
छुट्टी मिलाएर आउन चाहे पनि अनुकूल नभएको उनी बताउँछिन्। ‘मैले त सकेसम्म नेपाल फर्कनु जसोतसो यतै गरी खाउँला, पैसा नै सबै कुरा होइन। ज्यान जोखिममा राखेर कमाएको धनले के गर्नु भनेको छु,’ उनले निराश हुँदै भनिन्, 'तर,पासपोर्ट साहुसँग छ रे। साहु काम गर्ने ठाउँमा आएकै छैन। आयो भने छुट्टी मिलाएर आउँछु भन्नुहुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।