तीन तहको सुरक्षाले पनि काम गरेन

|

काठमाडौंः आमाको १३ दिने किरिया गर्न वसन्त केसी अहिले पशुपति क्षेत्रको वनकालीस्थित किरियापुत्री घरमा बसिरहेका छन्। आमाको देहवसानको पीडाका बीच पशुपतिमा किरिया बसेका उनले पाँचाैं दिन त्यहाँ अर्को नराम्रो घटना ब्यहोरे-किरियाघरबाटै उनको मोबाइल चोरी भयो।  

राति चार्जमा राखेको मोबाइल बिहान उठदा हराइसकेको उनले बताए। ‘ढोका-झ्याल सबै लागेको छ तर, भेन्टिलेटर फुटेको छ। मुख्य प्रवेशद्वारमा पनि गेट छ, सुरक्षा गार्ड पनि छन्,' उनले भने,'सुतेको ठाउँबाट मोबाइल चोरी हुँदा यहाँको सुरक्षा व्यवस्थापनमा शंका गर्ने अवस्था देखियो, 'किरिया बसेकै घरबाट सामान हराउँदा तनाव भएको छ, यहाँको सुरक्षा व्यवस्था मजबुत नभएको देख्यौँ।' सुरक्षाको फितलोपनाका कारण किरियापुत्रीमाथि नै प्रश्‍न उठेको उनले महशुस गरेका छन्‌। 

किरियापुत्री भवनमा किरिया बस्दा पशुपति विकास कोषले दिनको दुई सय रुपैयाँदेखि रकम उठाउँछ। तर किरियापुत्रीका सामानको सुरक्षा गर्न नसक्नु कोषको कमजोरी भएको केसी बताउँछन्‌। 'झ्यालको सिसा फुटेको छ, त्यसको मर्मत गरिएको छैन। यहाँबाट महिनामा लाखौ रुपैयाँ संकलन हुन्छ,'उनले थपे ,'त्यो पैसाले फुटेका झ्याल निर्माण गर्न सकिन्थ्यो तर गरिएको छैन।'

त्यसैगरी नाम नबताउने शर्तमा अर्का किरियापुत्रीले आफूलाई भेट्न आएका आफन्तको जुता-चप्पल समेत हराइरहेको बताए। उनले भने, 'केही दिन अगाडि मेरो आफन्तको जुत्ता हरायो, किरियापुत्री भवनमा चोरीको समुह सक्रिय छ, हामी यहाँ आएर बसेपछि मोबाइल हराएको सुन्याैं, यहाँको सुरक्षा व्यवस्था कमजोर रहेको छ।' यस्तै घटना बढदै जाने हो भने पशुपतिमा सुरक्षाको कारणले किरिया गर्नलाई आउनेको संख्या घटने उनको भनाइ छ।

किरियापुत्री रुङ्न साथी आएका यहाँको सुरक्षा व्यवस्था कमजोर रहेको श्याम शर्मा बताउँछन्। रातको समयमा आउने हरेक मानिसको नाम, नम्बर र ठेगाना टिपेर राख्नुपर्ने उनले सुझाव दिए। दिउँसो आएका सबै आफन्तको नाम टिप्‍न असम्भव भएपनि रातको समयमा आउनेको नाम टिपेर राख्नुपर्ने र शंका लागेमा त्यस्ता मानिसहरुलाई सम्पर्क गर्नुपर्ने उनले बताए। यस्तो पवित्र स्थानमा चोरीको घटना बढेमा बाहिर नराम्रो सन्देश जाने उनको भनाइ छ।

तर, पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुली चाहिं कोषले पशुपति क्षेत्रमा तीन तहको सुरक्षा व्यवस्था गरेको दाबी गर्छन्‌। उनले भने,’ विकास कोषको प्रहरी, निजी कम्पनीको सुरक्षा गार्ड र सशस्त्र प्रहरीले यहाँ सुरक्षा दिइरहेका छन्‌, सुरक्षामा कुनै पनि कमी आउन दिएको छैन।' तीन तहको सुरक्षा हुँदा पनि सामग्री हराउनु दुःखद घटना भएको पराजुलीले बताए। सामान चोरीका घटना जानकारीमा आएकाले अहिले आफूहरुले अनुसन्धान गरिरहेको, तर किरियापुत्री भेट्न आउनेलाई कडाइ गर्न नमिल्ने उनको तर्क छ। 

किरियापुत्री भवनको सुरक्षार्थ झ्याल-ढोका निर्माण गरिरहेको कोषले जानकारी दिएको छ। विकास कोषका तीनवटा किरियापुत्री भवनमा ४० वटा कोठा छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.