|

बाँके : माघे संक्रान्तिको समय नजिकिएसँग पश्चिम नेपालको थारू बाहुल्य क्षेत्रमा माघे संक्रान्तिको रौनक सुरु भएको छ। माघे संक्रान्तिलाई नयाँ वर्ष र स्वतन्त्रता पर्वको रूपमा लिइने भएकोले थारू बाहुल्य क्षेत्रमा माघे संक्रान्तिको स्वागतका लागि विभिन्न कार्यक्रम, महोत्सव र खानपानको तयारी सुरु भएको छ। यसले पश्चिम नेपालको तराईका जिल्लामा माघे संक्रान्तिको चहलपहल बढेको छ।

थारू जातिले माघे संक्रान्तिलाई पाँच दिनसम्म मनाउँछन्। यो पर्वको ऐतिहासिक महत्व जति छ धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ। पश्चिम तराईमा कमैया मुक्ति हुनुभन्दा पहिले कमैया बस्ने–नबस्ने निर्णय पनि यही माघे संक्रान्तिमा हुने गर्दथ्यो। भने, अधिया खेत जोत्नेलाई खेतबारी दिने या नदिने निर्क्योल पनि माघे संक्रान्तिका अवसरमा हुने गर्छ। त्यसैले माघे संक्रान्तिलाई सामाजिक सद्भाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वको रूपमा लिइन्छ।

थारू समुदाय माघे संक्रान्ति पर्वलाई कम्तीमा पाँच दिन मनाउँछन्। पौष मसान्तको अघिल्लो दिन नजिकको तालतलैया, नदी, सागर वा कुलोमा गएर माछा मार्ने चलन छ। यसलाई थारू जातिले मच्छीमर्ना माघ भन्दछन्।  माघे संक्रान्तिका दिन रातो मासु देखाउन हुँदैन भन्ने पौराणिक मान्यताअनुसार पुस मसान्तको दिन सुँगुर, बंगुर काट्ने प्रचलन छ। यो दिनलाई सुवर मर्ना माघ भनिन्छ।

धार्मिक, सामाजिक र सांस्कृतिक पर्व

माघ १ गते अर्थात् माघे संक्रान्तिको बिहान नदी, ताल र सागरमा गएर स्नान गर्ने कार्य नै माघे संक्रान्तिको मुख्य विशेषता हो। माघे संक्रान्तिमा नुहाउने दिनको अघिल्लो रात अर्थात् पुस मसान्तको रात मटावा (बरघर) को घरमा रातभर धुम्रु गीत गाउने र छोक्रा नाच नाच्ने परम्परा छ।

नाचमा वृद्धवृद्धादेखि युवायुवती सहभागी हुन्छन्। रातभर जाग्राम बसेर नाचगान गर्नेहरू भालेको डाँकोसँगै नाचगान गर्दै नदी, ताल वा सागरमा गएर स्नान गर्छन्। स्नान गरिसकेपछि आफूभन्दा मान्यजनसँग टीका लगाउने र साइनोअनुसार ढोगसलाम गरी आशीर्वाद लिइन्छ।

नदीमा नुहाउन गएकाहरुले सेतो टीका लगाउँछन्। थारू जाति प्रकृतिपूजक भएकोले चामलको सेतो टीका लगाउने चलन भएको थारू संस्कृतिका अन्वेषक अशोक थारूले बताए। उनले थारू जाति प्रकृतिसँग नजिक भएकोले सेतो टीका लगाउने चलन चलेको बताए।

‘निस्राउ कहर्ना’

आफूभन्दा मान्यजनसँग टीका लगाएर आशीर्वाद लिएपछि फेरि नाचगान गर्दै घर फिर्ता हुने चलन रहेको छ। घरमा आएपछि मान्यजनलाई ढोकसलाम गर्ने र आशीर्वाद लिने चलन रहेको थारू संस्कृतिका जानकार एकराज चौधरीले बताए। उनले स्नान गरेर आएपछि तिलको आगो ताप्ने र  चामल, नुन तथा मासलाई एउटा भाँडोबाट तीन, पाँच वा सात अञ्जुली अर्को भाँडोमा राख्‍ने चलन छ। यसलाई थारू जातिले ‘निस्राउ कहर्ना’ भन्दछन्।

‘निस्राउ काढेको नुन, चामल र मास आफ्ना चेलीबेटीलाई उपहारका रूपमा दिने चलन छ,’ एकराजले भने, ‘यसले दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्छ।’

माघे संक्रान्तिको दिन नदी, ताल र सागरमा गएर स्नान गर्ने हो भने वर्षदिनभर गरेको पाप नष्ट भई पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ।

स्नान गरेर फर्किनेको साइतका लागि युवतीले गाउँको गल्लीमा गाग्री, लोटालाई कलश बनाएर सजाउँछन्। कलशमा स्नान गरेर फर्किनेहरू आफ्नो गच्छेअनुसार रुपैयाँ पैसा हाल्ने परम्परा छ।

यी हुन् मुख्‍य परिकार 

माघे संक्रान्तिको मुख्य परिकार चामलको ढिक्री, अनदी चामलको रोटी, जाँड, रक्सी र मासु हो। सखरखण्ड, घुइँया, तरुल पनि उसिनेर खाने परम्परागत चलन थारू जातिमा अहिले पनि विद्यमान छ,’ साहित्यकार सुशील चौधरीले भने।

दौतरीसँग मिलेर नाचगान

थारू समुदायमा माघ १ गतेबाट मघौटा नाच सुरु हुन्छ। दिनभर घर र गाउँका छिमेकीको घरमा माघी मनाएका युवायुवती बेलुकीपख गाउँका मटावाको घरमा भेला भएर नाच सुरु गर्छन्। नाच्ने युवायुवतीले मघौटा नाचमा रुपैयाँ पैसा लुट्ने र लुटाउने प्रचलन छ। माघे सक्रान्तिको दिन थारू जातीले बर्ष दिनभर आफूले भोगेको दु:खसुखलाई गीतमार्फत प्रस्तुत गर्छन्।

मघौटा नाचको विशेष महत्व

माघे संक्रान्तिको दिन थारू जातिले नाच्ने मघौटा नाचको विशेष महत्व छ। बुढापाकाले आफ्नो दौँतरीसँग मिलेर आफू सुहाउँदो गीत गाउँछन् भने युवायुवती र बालबालिकाले आफ्ना दौँतरीसँग मिलेर नाचगान गरी रमाइलो गर्दै आएका छन्।

‘माघे संक्रान्तिमा जसले जे खाए पनि रोकटोक हुँदैन नै नाचगान गरेर रमाइलो गर्न पनि कसैले कसैलाई छेक्दैन। सबैजना स्वतन्त्र हुन्छन्,’ थारू संस्कृतिका जानकार एकराज चौधरीले भने। मघौटा नाच माघको ५–६ गतेसम्म नाच्ने गरिन्छ। 

सामाजिक सद्भाव तथा मेलमिलापको पर्व

माघ १ गतेलाई पुरुषको माघी भनिन्छ। भने, २ गतेलाई महिलाको माघीको रुपमा लिइन्छ। अधिकांश पुरुषले माघ १ गतेका दिन घर–घरमा गएर माघी मनाएपछि समूह बनाएर २ गते महिलाले माघी मनाउने गरेको पाइन्छ। ‘समूहमा रहेका महिलाले पनि घर–घरमा गएर माघी मनाउने भएकोले पुरुषले त्यसदिन महिलालाई खानपिन गर्न रोकतोक गर्दैनन्,’ थारू अगुवा लिकबहादुर चौधरीले भने, ‘त्यसदिन खानपिन र रमाइलोमा महिला स्वतन्त्र हुन्छन्।’

आफूभन्दा ठूलालाई साइनोअनुसार ढोगभेट गरिसकेपछि मात्र खानपिन गरिन्छ। हिन्दू धर्ममा आस्था राख्ने अन्य समुदायले होली पर्वलाई मेलमिलाप र भ्रातृत्वको पर्व भनेजस्तै थारू जातिले माघीलाई मेलमिलाप तथा भ्रातृत्व पर्वको रूपमा मनाउने गरेका छन्।

‘झैझगडा वा मनमुटाव भएर बोलचाल बन्द भएकाहरूले समेत माघी पर्वको अवसरमा साइनोअनुसार ढोकभेट गरी एकापसमा बसेर खानपिन र नाचगान गर्ने भएकोले थारू जातिको लागि माघी मेलमिलाप तथा सामाजिक सद्भाव पर्वको रुपमा लिने गरिन्छ,’ उनले भने, ‘यसले एकापसमा भएको रिसराग मेटिन गई समाजमा सद्भाव र मेलमिलाप कायम राख्‍न मद्दत मिलेको छ।’  

नयाँ वर्ष र विकासको पर्व

संक्रान्तिको दिन रमाइलो गरी माघी मनाएका थारू जातिले माघ २ गतेलाई माघी डेवानीको रुपमा मनाउँदै आएका छन्। माघ २ गतेलाई थारू जाति खोज्नीबोझ्नीको दिन पनि भन्दछन्। माघी डेवानीको दिन सपरिवार बसेर घरढुर्‍या (घरको मुली) सँग घरको आम्दानी र खर्चको विवरण माग्दछन्।

त्यसैगरी गाउँलेले गाउँको अगुवा (मटावा/बरघर) सँग वर्ष दिनको आम्दानी तथा खर्चको हिसाब किताब माग्दछन्। यही दिन परिवारका सदस्यले सल्लाह गरी आउने दिनको योजना बनाउँदै आएका छन्। त्यसैले यो दिनलाई थारू जातिले खोज्नीबोझ्नीको दिन भन्दछन्। 

सपरिवार बसेर वर्षदिनमा भएका राम्रो–नराम्रो कामको समीक्षा गर्ने र आगामी दिनको योजना बनाउने भएकोले घरबाहिर रहेका परिवारका सदस्य पनि घरमा आएर छलफलमा सहभागी हुने गरेका छन्।

‘अंश बण्डा, घर छुट्टिने, विवाह गर्ने, घर बनाउने, जमिन खरिद–बिक्री गर्ने, घरको मूली चयन गर्ने पनि यही माघी डेवानीको दिन नै गरिन्छ,’ दंगीशरण गाउँपालिका–३, चखौराका मटावा (बरघर) पूर्णबहादुर चौधरीले भने, ‘वर्षदिनको योजना बन्ने भएकोले यो दिनलाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ।’

यस्तै, अधिया खेत जोत्नेहरुले पनि माघी डेवानीकै दिन जग्गाधनीको घरमा गएर जोत्नका लागि खेतबारी माग्ने पम्परा अहिले पनि विद्यमान छ। यसैदिन जोताहा किसान र जग्गाधनीबीच के–के शर्तमा खेतबारी खनजोत गर्ने सहमति हुन्छ।

कमैया मुक्ति हुनुभन्दा पहिले माघी डेवानीकै दिन कमैया बस्ने र नबस्ने, बार्षिक कति हजार रुपैयाँ ज्याला लिने, सौँकी कसले तिर्ने? लगायतका छलफल भई निर्क्योले हुने गर्दथ्यो। भने, कम्लहरी मुक्ति हुनुभन्दा पहिले कम्लहरी बस्ने आमाबाबु र मालिकबीच पारिश्रमिक लिने–दिने निर्णय पनि यही दिननै हुने गर्दथ्यो।

प्रजातान्त्रिक प्रणालीको ज्वलन्त नमुना

गाउँको अगुवा अर्थात् मटावा (बरघर) पनि माघे संक्रान्तिको अवसरमा नै गर्ने प्रचलन छ। सपरिवार बसेर योजना बनाइसकेपछि गाउँको योजना बनाउने गरिन्छ। गाउँका हरेक घरबाट एक–एकजना बरघरको घरमा भेला भई गत वर्षको समीक्षा र आगामी वर्षको योजना बनाइन्छ।

गाउँ भेलाले बरघरले गरेका राम्रा–नराम्रा कामको समीक्षा गर्छन्। ‘गाउँलेलाई बरघरको काममा चित्त नबुझेमा अर्को बरघर चुन्ने चलन रहीआएको छ,’ दंगीशरण गाउँपालिका–४, बैबाङका बरघर कल्चु चौधरीले भने।

विरोध र समर्थन

माघी डेवानीका दिन बरघरको घरमा भेला भएर आफ्नो मनमा लागेका तीतामिठा कुरा खोलेर राख्न पाइन्छ। गाउँ र बरघरबाट भएका गल्ती र कमजोरीका बारेमा पनि खुलेर विरोध र समर्थन गर्न सकिन्छ। योजनाका बारेमा हुने छलफलमा पनि बादविवाद गरी विषयवस्तुलाई मन्थन गरी निर्णय गरिन्छ। ‘एकापसमा कुरा बादप्रतिवाद गरी निष्कर्ष निकालिन्छ,’ एकराजले भने, ‘कसैको विमति भए पनि सहमतिको आधारमा निर्णय गरिन्छ।’

माघी डेवानीका दिन हुने गाउँ भेलामा बरघरले पनि आफ्नो माग राख्दछन्। बरघरको भूमिका निर्वाह गरे बापत उसले पनि आफ्नो लागि गाउँलेसँग माग्ने परम्परा विद्यमान छ। बरघरले मागेको कुरामा पनि गाउँले वीच गहन छलफल भई सवैको सहमतिमा निर्णय हुने गरेको उनले बताए।

गाउँमा हुने झैँझगडा मिलाउने, विकास निर्माणका योजना ल्याउने, विकासे कार्यालयसँग समन्वय गर्ने भूमिका बरघरको हुन्छ। त्यसैले बरघरले भनेका कुरा गाउँलेले मान्नु पर्ने हुन्छ। गाउँमा हुने सामाजिक कार्यमा पनि बरघरको भूमिका महत्वपूर्ण मानिन्छ।

विवाह, पूजा, ब्रतबन्ध, काजक्रिया, मलामी जाने जस्ता क्रियाकलापमा गाउँलेलाई कामको बाँडफाड गर्ने काम पनि बरघरले नै गर्नुपर्छ। तर, सामाजिक कार्यका लागि गाउँलेको सल्लाह–सुझाव लिनुपर्ने प्रावधान छ। ‘बरघरले अपर्झट कुनै सामाजिक कार्य गरिहाले पनि गाउँ सभाबाट अनुमोदन गराउनु पर्ने परिपाटी छ,’ उनले भने।

स्वतन्त्रताको पर्व

थारू जातिमा माघे संक्रान्तिमा कसैलाई कसैको घरमा जान रोकटोक हुँदैन। माघ २ गते महिलाले पनि पुरुष जस्तै घर–घरमा गएर माघी मनाउँछन्। खानपिनमा कसैले छेकबार नलगाउने भएकोले महिलाले पनि निस्फिक्रीसाथ माघी मनाउँछन्।

माघको अवसरमा कमैया, बुक्रही र कम्लहरीले पनि मालिकको घरबाट बिदा पाउँथे। माघ १ गते कमैया, बुक्रही र कम्लहरीको वर्षदिन पुग्ने भएकोले तिनीहरूले माघ १ गतेलाई मुक्ति (स्वतन्त्रता) को दिनको रुपमा लिने गरेका थिए।    

त्यसैले, माघे संक्रान्ति थारू समुदायको लागि धार्मिक, सामाजिक, सांस्कृतिक पर्व, सामाजिक सद्भाव तथा मेलमिलापको पर्व, नयाँ वर्ष एवम् विकासका योजना बनाउने र स्वतन्त्रताको पर्वको रुपमा लिने गरिन्छ।

संरक्षणमा चासो

अहिले माघी पर्व सामूहिक पर्व जस्तै भइसकेको छ। आफ्नो कला, संस्कृतिको माया गर्नेहरूले अर्को जाति र समुदायको कला, संस्कृति, संस्कार तथा परम्पराको सम्मान गर्न सकेको खण्डमा मात्र धार्मिक एवम् सामाजिक सद्भाव कायम हुन सक्छ भन्ने बुझेर गैरथारूले पनि माघी पर्वको उत्थानमा लागेका छन्।

यो पर्वको अवसरमा दाङको रिहार, बाह्रकुने दह, बैवाङको सतीदेवी मन्दीर, बाँकेको भुवरभवानी, बागेश्वरी, बर्दियाको ठाकुरबाबा मन्दिर, कैलालीको घोडाघोडी मन्दिरलगायत स्थानमा मेला लाग्ने गरेको छ।

योसँगै पछिल्लो समय माघ पर्वको महत्व बढ्दै गएको छ। त्यसैले यो थारू जातिमा मात्र सीमित नभई अन्य समुदायले पनि मनाउन थालेका छन्। फलस्वरूप पश्चिम नेपालको तराईका जिल्लामा हरेक वर्ष माघी महोत्सव हुन थालेको छ। थारू समुदायको पहिचान बोकेको माघी पर्वको संरक्षणका लागि स्थानीय सरकारले पनि बजेट विनियोजन गर्न थालेका छन्।

दंगीशरण गाउँपालिकाले २५–२६ पुसमा वीरेन्द्र माविको मैदानमा माघ महोत्सव आयोजना गर्ने भएको छ। त्यसैगरी, घोराही उपमहानगरपालिकाको सहयोगमा थारू कल्याणकारिणी सभा, दाङले सदरमुकाम घोराहीमा माघ महोत्सव आयोजना गर्ने भएको छ। २६–२९ पुससम्म आयोजना हुने महोत्सवमा माघीमा थारू जातिले नाच्ने नाचगानका साथै थारू संस्कृति झल्काउने झाकी प्रस्तुत गरिने सभाका सभापति भुवन चौधरीले बताए।

माघी थारू जातिको अस्तित्‍व

थारू जातिको लागि माघ एउटा महत्वपूर्ण पर्व हो। यो पर्व थारू जातिको इतिहास, संस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्‍वसँग जोडिएको छ। नयाँ वर्षको रुपमा पनि लिइने यो पर्वको ठूलो महत्व छ। तर, थारू जातिमा यसको महत्व विस्तारै हराउँदै गएको छ। माघी पर्वमा गाउने गीत र पुरानो नाचको ठाउँमा हिन्दी र नेपाली भाषाका गीतमा नाच्न थालिएको छ।

देशमा भएका कला, संस्कृतिको जगेर्ना गर्ने दायित्व राज्यको पनि हो। थारू जातिको भेषभूषा, भाषा, संस्कृति, रीतिरिवाज हराउँदै जाँदा पनि राज्यको तर्फबाट ठोस पहल हुन सकेको छैन। एउटा कहावत छ, ‘सीमा अतिक्रमणभन्दा कला र संस्कृतिमाथि हुने अतिक्रमण हजार गुणा खतरा हुन्छ।’

त्यसैले राज्य थारू जातिको कला, संस्कृति, रीतिरिवाज, भेषभूषा संरक्षणको लागि ठोस कदम चाल्नुपर्ने बेला भएको छ। आफ्नो समुदायमा भएको राम्रा संस्कार, संस्कृति, परम्परा, भेषभूषा, खानपानको संरक्षण तथा सम्‍वर्द्धनका लागि थारू जातिका युवा पुस्ताले पनि चासो देखाउन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.