फिचर

सत्ता र शक्तिको आडमा ठडियो छायाँदेवी कम्प्लेक्स

बुढापाका भन्छन् : ‘सानो छँदा कमलपोखरीमा फूल फुलेको देख्‍थ्यौँ’

पुस २८, २०७६

    काठमाडौं : ‘ठमेलमा रहेको भगवान बहालको मन्दिरअगाडि विशाल पोखरी थियो। राणाकालमा पर्खालले छोपिएको थियो। म सानो छँदा पर्खालमाथि चढेर हेर्दा पोखरीमा चराचुरुङ्गीहरू कराउँथे,’ ऐतिहासिक कमलपोखरीमा गैरकानुनी रूपमा छायाँदेवी कम्प्लेक्स बनाइएकोबारे सोमबार रिपोर्टस क्लबमा गरिएको पत्रकार सम्मलेनमा ठमेलका ५८ वर्षीय स्थानीय नरेश श्रेष्ठले बाल्यकाल सम्झिए,‘छायाँदेवी भवन बनेको ठाउँमा पहिले पोखरी नै थियो। हामीले पात, रूख कमलको फूल देख्थ्यौँ। अचम्मको फूल थियो।  रमणीय दृश्य देखिन्थ्यो।’

    श्रेष्ठका अनुसार त्यहाँ चकँ :द्य जात्रा,कुमारी जात्रालगायत ऐतिहासिक विभिन्न सात दिनसम्म जात्रा हुन्थ्यो। त्यही ठाउँमा तिब्‍बतीयन व्यापारीसँग लभ परेको इतिहाससमेत छ। उनले ऐतिहासिक कमलपोखरीमा गैरकानुनी रूपमा व्यापारिक भवन बनाइएको उनले बताए। उनले भने,‘विदेशी पर्यटक भनेको ऐतिहासिक सम्पदाहरू हेर्न आउने गर्छन्। ठूल्‍ठूला महलहरू होइन। यसरी मासिँदै लगेपछि के हेर्न आउलान्। पछि रत्नपार्क,टुँडिखेलमा पनि व्यापारिक भवन बन्ला।’ 

    श्रेष्ठले अहिले पनि तिब्‍बतीयनहरू उक्त पोखरीको बिहारमा लेखिएको सुन र चाँदीको अक्षर हेर्न आउने गरेको जानकारी दिए। ‘व्यापारिक भवनको नाममा ऐतिहासिक सम्पदा मास्नु हुँदैन,’उनले भने,‘यस्ता सम्पदाको संरक्षण हामीले नै गर्दै जानुपर्छ। सम्पदा हडप्‍ने राजनीति बन्द गर्नुपर्छ। व्यापारिक भवन भत्काएर पुरानै अवस्थामा फर्काउनुपर्छ।’ 

    ठमेलस्थित पुरातात्विक कमलपोखरी पुन: स्थापना अभियान र नेवा राजनीतिक अभियान नामक दुई संस्थाले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका थिए। सम्पदा अभियान्ता एवं ठमेलस्थित पुरातात्विक कमलपोखरी पुन: स्थापना अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानले सत्ता र शक्तिको आडमा ऐतिहासिक कमलपोखरी हडपेर छायाँदेवी कम्प्लेक्स भवन बनाइएको आरोप लगाए।

    उनले भने,‘ऐतिहासिक,पुरातात्विक,सांस्कृतिक सम्पदाहरूको संरक्षण,सम्बर्द्धन गर्नु राज्यको दायित्व हो।  तर, संरक्षण हुन सकिरहेको छैन। अहिले दलाल,भूमाफिया, भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा सरकारी नीतिगत तवरबाट सम्पदाहरू मासिँदै गएको छ।’ उनले कमलपोखरी पुन:स्थापना नगरेसम्म आन्दोलन गर्दै जाने चेतावनी दिए। प्रधानले भने,‘विभिन्न प्रमाणले यो ऐतिहासिक कमलपोखरी नै हो। पोखरीको अध्ययन गरेरै 'कमलपोखरी' पुस्तकसमेत लेखेको छु' उनले थपे,'बनेको भवन भत्काएरै छाडिन्छ।’ 

    यसरी हडपियो ऐतिहासिक कमलपोखरी 
    प्रधानका अनुसार जनरल केशर शमशेरको मृत्युपछि छोरा केयुर शमशेरले २०२५ सालताका पोखरीको केही भाग सुकाउने काम गर्दथे। पोखरी संरक्षण गर्न शमशेरविरुद्ध २०२७ सालमा धर्म कीर्ति रक्षार्थ जिल्ला अदालतमा धर्मलोपको मुद्‍दा दायर गरे। त्यो पोखरी मासियो भने धर्म लोप हुने स्वीकार्दै त्यस पोखरीको डिल कायम गरी साबिकबमोजिम गुठीको नाममै दर्ता कायम गर्ने मन्जुर गरी २०३३ सालमा गुठी संस्थानको रोहवरमा सर्वोच्व अदालतमा मिलापत्र गरियो।

    १९६५ सालको रसिदअनुसार क्षेत्रफल २६ रोपनी ५ आनामा फैलिएको पोखरी र डिलसमेत गरी २०३३ सालको शहरी क्षेत्रको नापी हुँदा यस पोखरीलाई मात्र कित्ता नम्बर १६७ मा पारी १२ रोपनी १३ आनामा सीमित पारी बाँकी सबै जग्गा हडपेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

    प्रधान भन्छन्,‘केयुर शमशेरले सत्ता र शक्तिको आडमा मोही नलाग्ने प्रकृतिको पोखरीमा दर्तावाला मोही कायम गराई हतारहतार २०३९ सालमा कित्ता नम्बर १६७ को पोखरीलाई कित्ताकाट गरी १६१६ नम्बर कित्ता सुधा पौड्याललाई ६ रोपनी कित्ता नम्बर १६१७ विना पौड्याललाई २ रोपनी १० आना राजीनामा गरी बाँकी कित्ता न.१६१८ केयुरर शमशेरले आफ्नै नाममा मोही कायम गरेको देखिन्छ।’ 

    २०३३ सालको गुठी ऐनले दर्तावाला मोहीको हक अधिकार नै समाप्त पारिसकेको छ। कानुनअनुसार पोखरी न त दर्तावाला न जोताहा मोही नै कायम हुन्छ। केयुर शमशेरको मृत्युपछि त्यस पोखरीको दूषित मोहियानी दर्ता निवेदनमा पोखरी नै होइन,पोखरी नाम गरेको जग्गा भनी २०४२ सालमा श्रीमती अम्बिका राणाले पत्र लेखेको देखिएको प्रधानले बताए।

    डिल्लीबजार मालपोत कार्यालयको नापी शाखामा रहेको २०३३ सालको फिल्डबुकमा कित्ता नम्बर १६७ को पोखरी र कित्ता नम्बर १०४० को सार्वजनिक चोक उल्लेख छ। तर, केशरशमशेर राणाकी बुहारी अम्बिका राणाले २०३९ सालदेखि नै मोही दर्ता गरी आफ्नो नाममा सो सार्वजनिक जग्गा पारेको देखिन्छ।

    भूमिसुधार तथा व्यवस्थापन विभाग मालपोत कार्यालय डिल्लीबजारमा हाल कित्ता न.१६७ को १२ रोपनी १३ आना जग्गा सरकारको नाममा छ भने, कित्ता न.१०४० को ९ आना २.३ पैसा जग्गा अम्बिका राणाको नाममा छ। २०४१ सालमा अम्बिका राणाको श्रीमान्को शेषपछि २०४२ सालमा उनले गुठी लगतमा गरेको निवेदन पत्रमा ‘पोखरी जग्गा भन्ने नाउँको जग्गा’ उल्लेख छ। यो पत्रको आधारमा राणाले पोखरी नभएको स्पष्ट गराउन चाहेको देखिन्छ। तर, उनका श्रीमान् केयुर शमशेरले भने धरौटी राखेको विषयलाई लिएर भगवान बहाल गुठीलाई लेखेर पठाएको पत्रमा ‘मेरो क्याम्पाभित्र पर्न आएको श्री भगवान बहाल गुठीको पोखरी’ भनी उल्लेख गरेका छन्। 

    धार्मिकस्थल व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने

    गुठी संस्थान ऐन २०३३ को दफा २५ (४) अनुसार देवी, देवता, देवस्थल पर्व जात्रासँग सम्बन्धित धार्मिक एवै सार्वजनिक पर्ती जग्गा व्यक्तिको नाममा दर्ता नहुने व्यवस्था छ। ऐनको दफा २७ (ख) अनुसार पर्ती जग्गामा मोही हक लाग्नसक्ने अवस्था देखिँदैन। सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएमा बदर हुनसक्ने व्यवस्था पनि मालपोत ऐन २०३४ को दफा २४ ले गरेको छ। 

    गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले गुठीयारहरूले सर्वोच्चमा निवदेन दिएकाले विचाराधीन अवस्थामा रहेको मुद्दामा केही बोल्न नमिल्ने बताए। उनले त्यो जग्गा राजगुठीको रहेको समेत बताए।

    २०७३ को निस्सा सुनुवाइ नभई व्यापारिक भवन ठडियो

    व्यापारिक कप्लेक्स बन्न लागेपछि स्थानीयले २०६९ सालबाटै विरोध जनाई जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।  त्यस मुद्दामा जिल्ला अदालतमा वादीलाई हराइयो भने पुनरावेदनले विपक्षी नझिकाईकन शुरु फैसला सदर गरिदियो। तर, सर्वोच्व अदालतमा जिल्ला र पुनरावेदनले गरेको निर्णय प्रतिकूल भई त्रुटिपूर्ण छ भनी २०७३ साल चैत ६ गतेमा निस्सासहित दोहोर्‍याई हेर्ने आदेश दिएको छ। 

    यस मुद्दाको किनारा नलागीकन मुद्दा विचाराधीन अवस्थामै कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायाँदेवी कम्लेक्स भवन ठडिएको छ। सर्वोच्व अदालतमा २०७३ सालमा दिएको निस्साको विपक्षीहरूले पटकपटक पेसी नै सारेर स्थगित भई हालसम्म पनि इजलालमा सुनुवाइ हुन दिइरहेको छैन। करिब ५ अर्ब लगानीमा २०७१ सालदेखि छायाँदेवी कम्प्लेक्स बनाउन सुरु गरिएको थियो। 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]