घटनाको छानबिन गर्न आफन्तको माग

|

काठमाडौं : हत्या अभियोगमा पक्राउ विष्णु लामामाथि प्रहरीले पक्राउ गरिसकेपछि गोली हानिएको दाबी आफन्तले गरेका छन्। 

आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई उनीमाथि गोली हानेको आरोप आफन्तले लगाएका छन् । आइतवार जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेका बेला समातेर लगिएका लामालाई जबमुडाँडामा लगेर गोली हानेको आफन्तले बताएका हुन्। गोली हानेर घाइते भएका लामालाई भेट्न पनि नदिइएको गुनासो उनीहरुले गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विष्णुकी पत्नी मनमायाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् ।

‘यसरी गोली हान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिँड्छ। प्रहरीले नै आत्मसमर्पण गरेकोलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास लाग्दैन’, उनले भनिन्, ‘गोली हान्नेमाथि कडा कारबाही गरिनुपर्छ।’

मनमायाले पतिलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको बताइन्। तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने उनले जानकारी दिइन् । 

‘यस्तै हो भने प्रहरीले जोकोहीलाई मार्दै हिंड्नेछ । विष्णु लाई गोली हान्न आदेश दिनेमाथि कारबाही हुनुपर्छ’, उनले थपिन्, ‘गोली लागे पनि श्रीमान् बाँचे। खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कसले लिन्छ?’

उनी दुई बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित थिइन्। घाइते अवस्थामा उपचाररत पतिलाई प्रहरीले भेट्न नदिएको उनले बताइन्। 

पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने उनको राय छ। उनले भनिन्, ‘जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ।’ 

नेकपा जिल्ला सदस्य पदमबहादुर श्रेष्ठले विष्णुलाई लगाइएको अभियोग ठीक भए पनि समातेर गोली हान्नु गलत भएको बताए। पक्राउ गरेपछि बाहिर लगेर गोली हानिएको भन्दै उनले निष्पक्ष छानविनको माग गरे । 

वीर अस्पतालमा उपचाररत विष्णुका आफन्तलाई भेट्न नदिएकोमा उनले आपत्ति जनाए। विष्णुका भाइ विश्वले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लगेर गोली हानेको बताए।

‘प्रहरीले हथकडी लगाएर लगेपछि गोली हानिएको छ’, उनले भने, ‘कानुन अनुसार कारबाही हुनुपर्नेमा गैरन्यायिक तरिकाले गोली हानिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.