|

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले सरकारी नीति कै कारण नेपाली उद्योगको विकास हुन नसकेको बताएका छन्।

भक्तपुर घरेलु तथा साना उद्योग संघको २९ औं तथा महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले उद्योग नीति आलोचनायोग्य भएको बताउँदै कर प्रणाली प्रगतिशील हुनुपर्नेमा जोड दिए। सरकार भारतीय पुँजीपति वर्गको पक्षपोषणमा लागेको आरोप लगाउँदै उनले विदेशी पुँजीको पैसाले निर्वाचन जितेका दलले विदेशीकै हितमा काम गर्ने र ऐन-कानुन पनि तिनीहरूकै पक्षमा बनाउने बताए।

बिजुक्छेले नेपाल–चीनबीचको व्यापारिक सम्बन्धलाई कमजोर बनाउने ढंगले अहिलेको सरकार लागि परेको बताए। व्यापारीले पनि देशको राजनीतिका बारेमा चासो राख्नुपर्ने बताउँदै उनले नेपाली सामान प्रयोग र प्रवर्द्धन गर्न नेपाली नै अग्रसर हुनुपर्नेमा जोड दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्योग धन्दाको विकास देश विकासको प्रमुख आधार भएकाले नगरपालिकाले घरेलु उद्यमीलाई प्रोत्साहित पार्न यहाँका मौलिक उत्पादनहरू ताइचीन चिउरा, जुजु धौ, हाकुपटासी र भादगाउँले टोपीलाई भक्तपुरको मौलिक उत्पादनको रुपमा परिभाषित गरेको जानकारी दिए।

भक्तपुरको मौलिकता विदेशी बजारमा प्रचार गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघले पर्यटन क्षेत्रमा आफ्नो लगानी बढाउन आग्रह गरे।  उनले सरकारले देशमा सञ्चालित उद्योगको संरक्षणको लागि सस्तो ब्याज दरमा ऋण प्रवाह गर्नुपर्ने बताए। उनले विदेशी वस्तुमा कर बढाउने, नेपालभित्र रहेका बैंक तथा सहकारी संस्थाको पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कला, संस्कृतिले भरिपूर्ण भक्तपुरको मौलिक उत्पादनलाई गुणस्तरीय बनाउँदै यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको खाँचो औंल्याए। भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिले लघु घरेलु तथा साना उद्योगको विकास विना देश विकास सम्भव नभएको र नेपाल सरकारले पुँजीको लागि बैंकमार्फत घरेलु उद्यमीलाई सहज ऋण उपलब्ध गराउनु आवश्यक भएको बताए।

कार्यक्रममा प्रभु लाइभ इन्सुरेन्स, प्रदेश ३ का प्रमुख प्रबन्धक सागर केसी, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, महिला उद्यमी समितिका प्रतिनिधिले सरकारले घरेलु उद्योगको विकासका लागि लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.