|

नक्खु जेल विद्रोह भएको ४० वर्ष पुग्दै रहेछ। तत्कालीन राजनीतिमा निकै ठूलो महत्व राख्ने र त्यसपछिको समयमा जेल विद्रोहको श्रृङ्खला निर्माण गर्न प्रेरित गर्ने त्यो घटनाप्रति शायद हामी सरोकारवालाको ध्यान गएन भन्नुपर्छ। नेकपा एमालेको पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘कम्तिमा पनि दस्तावेजीकरण त हुन्छ, एकपल्ट सबैलाई भेला गरौं न’ भन्नु भयो।

पन्ध्र जना थियौं हामी त्यतिबेला सुरुङ खनेर बाहिर निस्कने। एकजना साथी अशोक न्यौपानेको निधन भैसकेको र अर्का साथी कामेश्वर हलवाई सुरुङबाट निस्किएपछि कहिल्यै सम्पर्क नभएको बाहेक १३ जना त उपस्थित भइएला भन्ने लागेको थियो। तर हुन सकिएन।

दोश्रो बैठकमा सबैलाई भेला गर्ने जिम्मा हामीले नरेश खरेललाई दियौं। किनभने अनुपस्थित हुनेमा तीनै जना साथी झापा र नक्सलबाडीमा हुनुहुन्थ्यो। नक्सलवाडी, मेची पूर्व दार्जिलिङ जिल्लामा पर्छ।

नरेशले सम्पर्क गर्नु भएछ नेमुसिंहसँग। उहाँले भन्नु भएछ, ‘सँगै राजनीतिमा हिँडेका र जेल बसेका साथी प्रधानमन्त्री भए, उपप्रधानमन्त्री भए। तर आफूलाई कसैले चिन्न चाहेनन्। अहिले तपाईंले सोधखोज गर्नुभयो यसका लागि धन्यवाद। तर म काठमाडौं आउन सक्दिन। किनभने मसँग खुट्टामा लाउने जुत्ता छैन, जाडो छेक्ने स्वीटर अथवा ज्याकेट छैन।’

नेमुसिंह झापा सङघर्षलाई सघाउन झापा आउनु भएको थियो–भारतीय कम्युनिस्ट पार्टी (माले) को प्रतिनिधि भएर। झापाली साथीहरुसँगै उहाँ पनि जेल पर्नुभयो। जेल विद्रोहपछि कोअर्डिनेशन केन्द्रले उहाँलाई फिर्ता पठाउने निर्णय गरेछ। उहाँ फर्किनु भयो भग्नप्रायः भैसकेको भाकपा (माले) को भावभूमि नक्सलवाडीतिर।

चालिस वर्ष भनेको धेरै हो। जेल विद्रोह गर्दा हामीले बीसको दशकमा थियौं अर्थात यस्तै बाइस पच्चिसका। यतिबेला हामी सबै बुढा भैसकेका छौं थकाइ मार्न चौतारीमा बसेका यात्री जस्ता।

नेमुसिंहको यस्तो समाचार शायद झापाली साथीहरुले थाहा पाइसक्नु भएको थियो होला। उहाँहरुप्राविधिक मात्र होइन, भावनात्मक रुपमा एकअर्कासित नजिक हुनुहुन्थ्यो। हामी कोअर्डिनेशनमा पछि समाहित भएकाहरु प्रति नेमुसिंहको त्यस्तो भावनात्मक सान्निध्य थिएन। हाम्रो पनि रहेन।

पहिलो पटक नेमसिंहको प्रतिकृया सुन्दा झस्को पसेको थियो मभित्र पनि। के क्रान्तिकारी आदर्श फेरिएकै हो? के राजनीतिको धार फेरिएकै हो? के नेमुसिंहका सङ्कटकालका साथीहरु प्रधानमन्त्री, उपप्रधानमन्त्री भएर बिग्रिएकै हुन्? एक जना, दुई जना अथवा दश जना विग्रनु स्वभाविक होला। तर के उनान्सय प्रतिशत सहकर्मीहरु बिग्रनु स्वभाविक हुनसक्छ? सक्दैन।

अर्थात समय मात्र होइन, नेपालको सन्दर्भमा युग नै फेरियो। जुनबेला नेमुसिंह आउनु भएको थियो, त्यतिबेला नेपाल भारत दुबैतिर माओत्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मान्ने कम्युनिस्ट पार्टीहरुको बोलबाला थियो। समयक्रममा भाकपा मालेलाई नेकपा मालेले उछिन्दै गयो। नेपाल कम्युनिस्ट पार्टीको पाचौं महाधिवेशनमा, जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रुपमा पारीत गरेपछि नेकपा एमालेले दक्षिण एशियामै नयाँ तरङ्ग ल्यायो। कसैले अनुमानसम्म नगरेको मत प्राप्त गरेर नेकपा एमालेले ‘कार्यकर्ता आधारित श्रमजीवि जनताको पार्टी’ बनायो।

जनताको बहुदलीय जनवाद एउटा नयाँ विचार थियो। घोषित रुपमै त्यसले बहुलवाद, मानव अधिकार, जस्ता कम्युनिस्टका लागि छुत लाग्ने सोचलाई आफ्नो विचारमा समाहित गरेको थियो। एमालेले आफ्नो मान्यतालाई व्यवहारमा स्थापित गर्ने काम पनि गर्‍यो।पहिलो निर्वाचनमा त्यो प्रमुख प्रतिपक्षी भयो भने दोश्रो निर्वाचनमा त्यसले सरकार बनायो।

संसदीय प्रणालीलाई स्वीकार गरेपछि नेकपा एमालेले आफूलाई पनि अद्यावधिक गर्नु पर्‍यो। भूमिगत जीवन शैली संसदमा नौटङ्की हुन्थ्यो। त्यसमाथि ‘क्रान्तिपूर्व पनि सरकार बनाउन सकिन्छ र जनहीतका काम गर्दै शक्ति आर्जन गर्न सकिन्छ’ भन्ने कार्यनीति बोकेको पार्टीका नेता कार्यकर्ताको जीवन शैली झुत्रे लुगाबाट सुकिला लुगामा, फाटेको चप्पलबाट जुत्तामा आउनु स्वभाविक थियो। ०५१ सालको सरकार गठनमा यही ध्येयप्राप्तीको काम गरिएको थियो। त्यो सरकारमै जनताको बहुदलीय जनवादको तुलो हल्लिन थालेको थियो। ०५३ सालमा त जनताको बहुदलीय जनवाद खोपाको देउता भयो र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको राजनीतिक स्खलन तीब्र गतिमा ओरालो लाग्न थाल्यो।

हो परिस्थिति फेरिएको छ। तर परिस्थिति फेरिएको नाउँमा इमान त फेरिँनु हुँदैन नि ! इमान भन्ने कुरा सामूहिक हुँदैन। व्यक्तिगत हुन्छ। हिजो हामी गाउँमा बस्थ्यौं। हाम्रा ९९.९ प्रतिशत कार्यकर्ता आश्रयदाता प्रति समर्पित थिए। नैतिकता, सरलता, सहयोग तिनको परिचय थियो। लुगामा फेरबदल भए पनि, बसको साटो हवाइजहाजमा चढ्ने भौतिक सुविधा प्राप्त भए पनि, ससाना झुप्राबाट ठूला ठूला होटल र पार्टी प्यालेसमा जाने गरी औकात बढे पनि माथि भनिएका नैतिकता, सरलता र सहयोगको रुप त फेरिँदैन नि !

अहिले राजनीति पनि फेरिएको छैन। समाजमा शोषक र शोषित रहेसम्म राजनीति फेरिँदैन। राज्य पूजीवादी हुँदा पनि राजनीति फेरिँदैन। राजनीतिको रुप फेरिन सक्छ तर त्यसको सार फेरिँदैन। राजनीतिको सार फेरिन मुलुकभित्र राज्यका सम्पूर्ण अवयवहरु समाप्त हुनुपर्छ। नागरिकले आफ्नो सार्वभौमसत्ताको परिचय बनाउनु पर्छ। विश्व राजनीतिक मञ्चबाट साम्राज्यवाद र विस्तारवाद समाप्त हुनुपर्छ।

जो अहिले असम्भव छ। अहिल युद्धको विभिषिका बोकेको पूँजीवाद जीवित छ। पूजीवाद जीवित छ त्यसैले साम्राज्यवाद र विस्तारवाद पनि जीवित छ। यतिमात्र होइन अब पूँजीवादको गर्भबाट समाजवाद जन्माउने कार्लमाक्र्सको पालाजस्तो शक्तिशाली मजदुर वर्ग पनि छैन। त्यसैले सोभियत समाजवादीहरुले देखेको जस्तो पचास वर्षपछि समाजवाद आउने सपना अहिलेको राजनीतिमा कसैले देख्नु हुँदैन।

दक्षिण एशियामा गरीवीको साम्यवाद एउटा रमाइलो व्यङ्ग्य भएको छ। कम्युनिस्ट भएपछि राम्रो लाउनु हुँदैन, कमाएरै पनि राम्रो खानु हुँदैन भन्ने सोच त्यही गरीवीको साम्यवाद हो। कमाएर खाउ, चाहिने भन्दा बढी पैसाको लोभ नगर। भ्रष्टाचार नगर। सक्छौ भने असहाय र दुःखीलाई सहयोग गर। सक्दैनौ भने त्यो पनि नगर।

तर नैतिकता, सदाचार र सहयोगको भावनालाई नछोड। राजनीति फेरिए पनि, मान्यता फेरिए पनि सच्चा कम्युनिस्ट त्यही भैरहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.