|

काठमाडौं : सरकारले विगत पाँच बर्षदेखि हरेक माघ एक गतेका दिन योग दिवस मनाउँदै आएको छ।

यो वर्ष पनि ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्‍ने नाराका साथ विभिन्‍न कार्यक्रम गरी योग दिवस मनाइँदै छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले योग दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको छ।

पछिल्लो समय मानिसहरुमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बेला मानिसलाई यस्ता जोखिमबाट बचाउनको लागि योग महत्वपूर्ण मानिने बताइन्छ। सन् २०३० भित्र प्रत्येक परिवारमा एकभन्दा बढी व्यक्तिमा मानसिक रोग देखापर्ने चुनौती रहेको बेला त्यसको नियन्त्रणको प्रमुख पाटो योग रहेको बताइन्‍छ। नियमित योगाभ्यासबाटै मानसिकलगायत नसर्ने रोगबाट बच्‍न सकिने विज्ञहरु बताउँछन्‌।

योग साधकहरु यसलाई व्यायामभन्दा पनि साधनाका रुपमा लिन्छन्‌। योगबाट शरीरका समस्त अङ्गप्रत्यङ्ग र हरेक ग्रन्थीको व्यायाम हुन्छ र शारीरिक तन्दुरूस्ती कायम हुन्छ। नियमित रूपमा योगसाधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ, फलस्वरूप मानिस निरोगी बन्छ।

के हो योग ?

सजिलो भाषामा भन्दा मनलाई शरीर र आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीच संयोग स्थापित गर्नु नै योग हो। अङ्गप्रत्यङ्गको आसनभन्दा अघि बढेर आफ्नो चैतन्य खोज्‍न योग गरिन्छ। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु र आत्म-साक्षात्कार गर्नु नै योग हो।

योगका प्रकार

उपनिवेशहरूमा हजारौं योगाभ्यासबारे उल्लेख छ। तर शारीरिक अभ्यासहरूमा हठयोग र अष्टा‌ङ्गयोग धेरै प्रचलित छ। जसमा आसन र प्राणायामहरूको धेरै व्याखा गरिएको छ। जसले शरीर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ। श्रीमद्भागवत गीतामा भने १८ प्रकारका योगको व्याख्या गरिएको छ। गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ। त्यसैले १८ वटा योग त गीतामा मात्र उल्लेख गरिएको छ। हजारौं उपनिषद् छन्‌ भन्‍ने गरिन्छ। लिखित प्रमाणका रुपमा अहिले हामीसँग २ सय १८ वटा उपनिषद्‌ मात्र प्राप्त छन्‌। ३२ वटा उपनिषद्‌मा योगबारे व्याख्या गरिएको छ। त्यसैले सामान्य मानिसले चिन्‍ने भनेको अष्टा‌ङ्ग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लगाएतका हुन्‌।

तर हाम्रो समाजमा अहिले मानिसले चिन्‍ने योग भनेको आसन योग हो। तर यो वास्तवमा योग होइन। अष्टाङ्ग योगमा आठ वटा अङ्ग हुन्छन्। ती हुन्‌ : यम, (सामाजिक अनुशासन), नियम (व्यक्तिगत अनुशासन), आशन (शारीरिक अनुशासन), प्राणायाम (प्राण शक्तिलाई नियन्त्रण गर्नु) र प्रत्यहार (शरीरमा रहेका ज्ञानेन्द्रियहरूलाई बाहिर जानबाट रोक्ने)।

धारणा, ध्यान र समाधि अष्टांग योग हो। आधुनिक समाजमा बिहान-बेलुका घर वा योगशालामा गएर गरिने आसनलाई योग भनिएको छ, तर वास्तवमा यो योग होइन। 

के छन् त योगका फाइदारु

धेरैजसो मानिसका लागि आज योगविद्या केवल केही आसनहरूको संग्रहमात्र हो, जसको माध्यमबाट हामी शरीर स्वास्थ्य बनाइराख्न चाहन्छौं। ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं। त्यसैले योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ। तर उपयुक्त तरिकाले योग गर्न सकेमा सबै अङ्ग, प्रत्यङ्ग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ। रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ।, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ।

प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ। नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्‍ने (ब्याक पेन) को समस्या कम गर्छ। महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेट भित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चारवर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।

यस्तै नियमपूर्वक गरिने योगले– विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन निराकरण र शरीरमा सन्तुलन हुने गर्छ।शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ। शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।योगासन र ध्यानले जोर्नीको समस्या कम गर्छ, तनाव हटाउँछ, राम्रो निद्रा लाग्छ र पाचन प्रक्रिया ठिक हुन्छ। स–साना बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुन्छ भने शारीरिक रूपमा पनि स्वस्थ रहन्छन्। नियमित योगाभ्यासबाट कार्यक्षमतामा वृद्धि तथा शान्ति प्राप्त हुन्छ। प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ।ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, सकारात्मक सोचको विकास हुन्छ र अनावश्यक विचारबाट मुक्ति दिलाउँछ। शरीर, मन र आत्माबीचको समन्वय, ऊर्जा प्राप्ति, आत्मज्ञानलगायत सकारात्मक गुणको विकास हुन्छ।

यी कुरामा ध्यान पुर्‍याउनुपर्छ 

योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिन जरुरी हुन्छ। जो कसैले योग गर्दा सुरूमा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ। शारीरिक रुपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाई जस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। यस्ता मानिसले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्‍ने खालका योग अभ्यासहरू गर्नु हुँदैन। यसले गर्दा मुटुमा प्रेसर पर्न जान्छ। तनाव लिएर योग गर्नु हुँदैन, किनभने तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मासंपेशी दुख्‍ने, टाउको दुख्‍ने समस्या पनि देखा पर्न सक्छ।

(स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँगको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.