|

काठमाडौं : क्यान्सर रोगीको उपचारका लागि वीर अस्पतालले एक वर्षअघि ल्याएको अत्याधुनिक ‘टोमोथेरापी’ मेसिन प्रयोगमा नल्याउँदा बिरामीहरु निजी अस्पताल धाउन बाध्य भएका छन्‌। 

अमेरिकी ‘इकुरे’ नामक कम्पनीले उत्पादन तथा विकास गरेको ‘टोमोथेरापी’ उपकरण वीरले गत वर्ष ४० करोड रुपैयाँमा खरिद गरेको थियो। अस्पतालले प्रयोगमा नल्याएपछि सो मेसिन हाल बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालभित्र बेवारिसे रुपमा थन्किएको छ।

२० वर्षअघि ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीको 'रेडियोथेरापी' सेवा पूर्ण रूपमा बन्द भएको थियो। तीन वर्षदेखि बिग्रिएर काम नदिएको पुरानो कोबाल्ट मेसिन हटाउन नसक्दा नयाँ मेसिन सञ्चालनमा समस्या परेको अस्पताल प्रशासनले बताउँदै आएको छ।

वीर अस्पतालमा दैनिक ५० जनासम्म क्यान्सरका बिरामी आउने गर्छन्‌। तर उपचारका लागि आवश्यक नेरापी मेसिन नहुँदा बिरामीहरुलाई अन्यत्र रिफर गर्न बाध्य भएको अस्पतालका अल्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यले बताए। उनले भने ‘नयाँ मेसिन लामो समयसम्म जडान गर्न नसक्दा बिरामीहरुलाई अन्यत्र रिफर गर्न बाध्य भएका छौँ।‘

अस्पतालले पुरानो कोबाल्ट मेसिन विस्थापन गर्न नसक्दा नयाँ मेसिन सञ्चालनमा ल्याउन नसकेको हो। नयाँ मेसिन जडान भएपनि सञ्चालनका लागि जनशक्ति अभावलगायतका समस्या रहेको अस्पताल प्रशासनले जनाएकाे छ। 

नयाँ टोमोथेरापी मेसिन सञ्चालनमा ल्याउन पुरानो कोबाल्ट मेसिन नष्ट गरेर मात्र पुग्दैन, नयाँ मेसिनका लागि उपयुक्त स्थानसमेत बनाउनुपर्छ। हाल नयाँ टोमोथेरापी मेसिन राख्‍न बंकरको निर्माण भइरहेकाले सेवा सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्‍ने अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनले भने ' हामीले पुरानो बिग्रिएको मेसिनलाई नष्ट गर्ने प्रकृया पनि अघि बढाइसकेका छौँ, नयाँ मेसिन राख्‍ने बंकर पनि बनाउँदैछाैं, अब बैशाखसम्ममा नयाँ टोमोथेरापी मेसिन सञ्चालनमा ल्याउँछाैं।'

अस्पतालले सुरुमा नयाँ मेसिन खरिदको बाेलपत्रमा ठेक्का सकार गर्ने कम्पनीले नै पुरानो कोबाल्ट मेसिन नष्ट गर्नुपर्ने सर्तनामा गराएको थियो। तर, मेसिन नष्ट गर्न भारतमा सम्भव नभएपछि समस्या सिर्जना भएको छ। पछिल्लो समय सो मेसिन जर्मनी लगेर नष्ट गर्ने प्रक्रिया अगाडी बढाइएको छ। 

दैनिक ७० जनाले सेवा पाउने

नयाँ मेसिन सञ्चालनमा ल्याएपछि दैनिक ६० देखि ७० जना क्यान्सरका बिरामीले सेवा पाउने अस्पताले जनाएको छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरूलाई रेडियोथेरापीमार्फत उपचार गर्ने गरिएको थियो। तर यो सेवा बन्द भएपछि हाल क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। वीर अस्पतालले यो सेवा १० हजार रुपैयाँमै दिने तयारी गरेको छ। नयाँ मेसिन सञ्चालनपछि दुई सिफ्टमा गरी दैनिकी ६०/७० जनासम्मलाई उपचार सेवा दिने अस्पतालको लक्ष्य छ। 

के हो 'टेमोथेरापी' मेसिन?

टेमोथेरापी मेसिन क्यान्सरका बिरामीको उपचारको लागि आवश्यक उपकरण हो। यो क्यान्सरका बिरामीको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि हो। क्यान्सर भएको शरीरको भागमा मात्रै यो मेसिन प्रयोग गर्न सकिन्छ, जसकारण उपचार गर्दा शरीरको अन्य भागमा असर गर्ने सम्भावना कम हुन्छ। वीरले ल्याएको 'टोमोथेरापी' मेसिन अमेरिकी एकुरे कम्पनीसँग मात्रै रहेकाले त्यहीँबाट खरिद गरिएको थियो।

बिग्रिएको पुरानो मेसिनलाई व्यवस्थापन गर्नेबित्तिकै नयाँ मेसिन जडान गरी क्यान्सरका बिरामीहरूको उपचार थालिने अस्पतालले जानकारी दिएको छ। यस्तो खाले मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै छ। नेपालले चार वर्षको पहलपछि यो मेसिन पहिलोपटक भित्र्याएको हो।

हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.