|

काठमाडौं: उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलले गरेको आन्दोलनलाई समर्थन जनाउँदै आएका महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सरकारले सचेत गराउने भएको छ।

महान्यायाधिवक्ताले आफ्नो पदीय दायित्व भन्दा बाहिर गएर काम गरेको भन्दै सरकारले श्रेष्ठलाई सचेत गराउने भएको हो। सचेत गराउँदा समेत श्रेष्ठले आफ्नो व्यवहार नसच्च्याए उनलाई पदमुक्त गर्ने कानुन मन्त्री अजयशंकर नायकले बताए।

उच्च अदालतमा न्यायाधीश नियुक्ति हुँदा सरकारी वकिलबाट ४ जना समावेश भएपनि अझै दुईजना समावेश हुनुपर्ने भन्दै सरकारी वकिलले देशभर बहस बहिष्कार गरिरहेका छन्।

महान्यायाधिवक्ता श्रेष्ठले न्यायाधीश नियुक्ति गर्दा संविधानको धारा १४० को उपधारा ३ को उल्लंघन भएकाले निर्णय सच्चिनुपर्ने भन्दै सरकारी वकिलको आन्दोलनलाई समर्थन जनाइरहेका छन्। 'संवैधानिक व्यवस्था अनुसार कम्तिमा प्रथम श्रेणीको न्याय समूहको अधिकारी उच्च अदालतको न्यायाधीश हुनसक्छ' महान्यायाधीवक्ता श्रेष्ठले भने 'जेष्ठता, योग्यता र कार्यसम्पादन पनि हेरिन्छ। न्यायाधीश नियुक्ति गर्दा त्यसो भएन।'

सरकारी वकिलका प्रमुख समेत रहेका महान्याधिवक्ता श्रेष्ठले आफू उनीहरुको अभिभावक भएकाले उनीहरुमाथि भएको अन्यायमा चुप लाग्न नमिल्ने तर्क गरेका छन्।

सरकारले नियुक्त गरेको महान्यायाधिवक्ता नै सरकारी निर्णयको विरुद्धमा लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुनमन्त्री नायकले महान्यायाधिवक्ता श्रेष्ठसँग गत आइतबार नै स्पष्टीकरण सोधिसकेका छन्।

'हामीले उहाँसँग स्पष्टीकरण सोधिसकेका छौँ। उहाँले सरकारी वकिलकको कोटा बढाउनुपर्ने प्रतिवद्धता खोज्नुभएको छ,' कानुन मन्त्री अजयशंकर नायकले भने।

महान्यायाधिवक्ता श्रेष्ठले भने आफूसँग सरकारले स्पष्टीकरण सोधेको कुरा सत्य नभएको बताए। 'यो बाहिर चलेको हल्ला मात्रै हो मसँग कुनै स्पष्टीकरण सोधिएको छैन,' श्रेष्ठले भने।

'अटेर गरे हटाइने'

महान्यायाधिवक्ता श्रेष्ठको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई सचेत गराउने भएको छ। बिहीबारभित्रै सकारले महान्यायाधिवक्तालाई सचेत गराउने कानुन मन्त्री अजयशंकर नायकले बताए।

महान्यायधिवक्ताले पदीय दायित्वभन्दा बाहिर गएर सरकारी वकिललाई खुसी पार्न लागेकाले सचेत गराउन लागेको मन्त्री नायकको भनाई छ।

जनतालाई मर्का पर्ने गरी सरकारी वकिलले गरेको आन्दोलनमा महान्यायाधिवक्ताको समर्थन अशोभनिय रहेको मन्त्रीले बताए। 'महान्यायाधिवक्ताले अशोभनिय काम गरेकाले उहाँलाई हामी एकदुई दिनभित्रै सचेत गराउँछौँ' मन्त्री नायकले भने 'सचेत गराउँदा समेत अटेर गरे हामी उहाँलाई हटाउनेछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.