थाहा संवाद

नेकपाले मलाई राजीनामा गर्नू भन्‍न मिल्दैन

मार्गप्रशस्त गर्छु भनेकै छु, दबाबले हुँदैन

पुस २९, २०७६

    प्रतिनिधिसभा करिब ४ महिनादेखि सभामुखविहीन अवस्थामा छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएसँगै यस्तो अवस्था आएको हो। गत पुस ४ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन पनि सभामुखको अभावमा अघि बढ्न सकेको छैन। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चलिरहे पनि प्रतिनिधिसभाको बैठक तीनपटक स्थगित भइसकेको छ। 

    तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ नेकपाले पदबाट राजीनामा दिन भनिसकेको छ। तर, उनी सभामुखको निर्वाचन हुने वातावरण नबनेसम्म राजीनामा नदिने अडानमा छिन्। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर आफू नबाहिरिने उनको अडान छ। यसै सन्दर्भमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

    अहिले संसदमा एउटा गतिरोध देखिएको छ। तीन तीन पटकसम्म संसदको बैठक बस्‍न सकेन। यो कहिलेसम्म रहन्छ?

    अब यो गतिरोध अन्त्य गर्ने अर्थात् प्रतिनिधिसभाको बैठक सुचारु गर्ने भन्‍ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ उसको हातमा छ।

    किन रोकिएको छ संसद्? बिजनेस नभएर हो या अन्य केही कारणहरू भन्‍न मिल्छ?

    यसमा बिजनेस हामीसँग छ। प्रतिनिधिसभाको सभामुख पद रिक्त छ। उक्त रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया अगाडि बढाउनुपर्ने थियो। उक्त निर्वाचन प्रकृया अगाडि बढाउनको निम्ति सत्तारूढ दलले मैले उम्मेदवार बनाउँछु भनेर उसले अगाडि भनेको थिएन र अहिले तीन दिन जति भयो उसले सभामुख पदमा उम्मेदवा बनाउँछु भनेको छ। यद्यपि, त्यो दलले आफ्नो उम्मेदवार तयार गरेको छैन। जसको कारणले पुस २७ गतेको बैठकलाई पनि केही दिन पछाडि सारौं भन्ने आग्रह उहाँहरूले गरेपछि बैठक हामीले पछाडि सारेका छौँ। अब माघको ६ गते प्रतिनिधिसभाको बैठक छ। सम्भवतः त्यो दिन प्रकृया अगाडि बढ्ने सम्भावना छ। 

    संसदको गतिरोध त संसद भिन्‍नैबाट खोल्ने अभ्यास हो। तर, विभिन्‍न सञ्चारमाध्यममा सुनिए, छापामा आएअनुसार त संसदभन्दा बाहिर कुनै राजनीतिक दलको राजनीतिक निर्णयबाट खोल्ने अथवा त्यसको गतिरोध अन्त्य गर्ने भन्‍ने कुराहरू आइराखेका छन्। यसबारेमा तपाईंलाई कत्तिको जानकारी छ? यसलाई कसरी लिनुभएको छ?

    यसमा के हुन्छ भने, संसद् भिन्‍न देखिएको गतिरोधलाई व्यवस्था गर्न अथवा अन्त्य गर्नको निम्ति प्रतिनिधिसभा भिन्‍न जुनजुन दलहरूले प्रतिनिधित्व गरेका हुन्छन् ती दलहरू भिन्‍न कुन विषयमा कसरी गतिरोध भयो भन्‍ने विषयलाई निर्क्योल गरेर, छलफल गरेर, अन्तरसम्वाद गरेर व्यवस्थापन गर्ने कुरा रहन्छ। तर अहिलेको विषय फरक हो। किन भने अहिले प्रतिनिधिसभा सभामुख पद रिक्त छ।  

    संसदलाई लामो समयसम्म नेतृत्वविहीन बनाउने पक्षमा छैन किनकि संविधानले रिक्त बनाउनुपर्छ नेतृत्वविहीन बनाएर जाऊ भनेको छैन। संविधान सबैभन्दा ठूलो हो। संविधानले निर्देशित गरेर राष्ट्र चल्छ, राज्य चल्छ। त्यस मातहत रहेर नै सबै दलहरू चल्नुपर्ने हुन्छ। त्यही आधारमा अहिले मैले प्रतिनिधिसभालाई रिक्त बनाउने अवस्थामा छैन र राजीनामा नदिएको हो।

    त्यो रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया बढाउनुपर्ने तर अगाडि बढाउनको निम्ति सत्तारूढदलले उम्मेदवार दिन्छु भनेर भर्खर घोषणा गर्‍यो। अब योभन्दा अगाडि के गर्छु भनेर त्यो दलले भनेको थिएन। अन्य दलहरूले सभामुख पदमा उम्मेदवार दिएर पनि उसले निर्वाचनमा निर्वाचित हुने सम्भावना कम छ त्यसैले जसले जित्छ त्यो दलले नै उम्मेदवारी दिनुपर्ने हुन्छ र आहिलेसम्म दिएको अवस्था थिएन। त्यही कारणले गर्दा हामीले संसद् अथवा प्रतिनिधिसभाको बैठकबाट सबैभन्दा पहिला सभामुख पदको निर्वाचन गर्नुपर्ने हो र त्यो प्रकृयालाई अगाडि बढाउनुपर्ने हुन्छ।  

    पछिल्लो समय सञ्चारमाध्यममा आएको प्रसंग नै उल्लेख गर्न चाहन्छु। यसको केन्द्रित पात्रको रूपमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पनि राखिएको र राजीनामा मागिएको भन्‍ने निर्णय नै हामिले पढ्न पायौं। तपाईंलाई राजीनामा मागिएको बारे जानकारी छ?

    यहाँले ठीकै कुरा गर्नुभयो। केन्द्र विन्दुमा अहिलेको प्रतिनिधिसभा जहाँ सभामुख पद रिक्त छ र त्यो भइसकेपछि प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्ने र नेतृत्वदायी भूमिकामा बसेर कामकारबाही गर्ने उपसभामुख केन्द्रविन्दुमा रहने स्वाभाविकै हो यसलाई अन्यथा मान्न मिल्दैन र स्वाभाविक रूपले संस्थालाई नेतृत्व प्रदान गर्न पर्छ। र अहिले भर्खरै यहाँले भन्नुभयो मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको नेकपाले राजीनामा दिनको निम्ति निर्देशन जारी गर्‍यो भन्‍ने थाहा पाएको थिए। 

    तर, यसपछाडि मैले के भनेँ भने म एउटा स्वतन्त्र‍ संस्था, जुन संस्था एउटा देशको तीन प्रमुख संस्थाहरूमध्ये एउटा संस्था व्यवस्थापिका र त्यो व्यवस्थापिकामा प्रमुख पदमा रहेको व्यक्तिले राजीनामा दिएपछाडि दोस्रो तहमा बसेको व्यक्ति जो उपसभामुखले नेतृत्व गरिराखेको छ त्यसलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाऊ भनेर भन्न संविधानतः मिल्दैन। र म अहिले प्रतिनिधिसभामा बसेर काम गरेपछाडि म एउटा स्वतन्त्र व्यक्ति हुँ। 

     

    जतिबेला मलाई दलले उम्मेदवार बनाएर म निर्वाचित भएँ त्यसपछाडि मैले दल त्याग गरेकी छु। म कुनै पनि पदमा साधारण सदस्यसमेत नरहने गरी दलबाट बाहिर निस्किएँ। र बाहिर निस्किएपछि स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व गर्नुपर्छ र अहिले पनि गरिरहेकी छु। यद्यपि, यहाँले जुन जिज्ञासा राख्नुभएको छ आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहुरूले यही जिज्ञासा राखेर बसिरहनुभएको मैले अनुभूति गरेको छु। 

    अहिलेको सन्दर्भमा उपसभामुख किन राजीनामा नदिई बस्यो त। दलले निर्देशन दिइसक्यो तर अटेर गर्‍यो भन्‍ने पनि सुनेको छु। तर यस कुरामा मेरो कुरा के छ भने यो प्रतिनिधिसभा एउटा संस्था हो र जुन संस्थालाई मैले नेतृत्व प्रदान गरिराखेको छु। नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजीनामा दिएर बाहिर निस्क भन्‍न मिल्दैन र भने पनि मैले यो संस्थालाई खाली गर्न हुँदैन भन्‍ने नै हो। किन भने संविधानले प्रतिनिधिसभालाई कुनै एउटा समयमा रिक्त हुन भनेर कल्पना गरेको छैन। 

    सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छ भनेर नै कल्पना गरेको छ। त्यो परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ। अहिले म उपसभामुखबाट नेतृत्व गरिरहेको छु। जबसम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन त्यतिबेलासम्म मैले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छोडने पक्षमा म छैन। किन भने मैले जतिबेला उपसभामुख पदको लागि शपथ लिएको थिए त्यसबेला संविधानलाई टेकेर, संविधानलाई कार्यान्वयन गर्छु भनेर कसैको डर नमानीकन अगाडि बढ्छु भनेरै मैले शपथ लिएको छु।

    त्यो भनेको के हो भने प्रतिनिधिसभालाई मैले नेतृत्व प्रदान गर्छु, जतिबेलासम्म मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर म बसेको हुँ। र अहिले पनि त्यही अवस्थामा छु र जसको कारणले गर्दा मैले राजीनामा दिएको छैन र अझै पनि म राजीनामा दिने अवस्थामा छैन। किनभने दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन। दलले आफ्नो उम्मेदवार अगाडि बढापछि मैले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन राजीनामा गर्छु।  यो कुरा मैले यसअघि नै भनिसकेकी छु।

    त्यो गरिसकेपछि उपसभामुख पद पनि खाली हुन्छ सभामुख पद खाली छँदैछ। अनि निर्वाचन प्रकृया अगाडि बढ्छ। र मैले के सोचेकी छु भने संविधानतः पनि मलाई दिइएको जिम्मेवारी मैले पूरा गर्नुपर्छ। मैले पूरा गर्दा प्रतिनिधिसभा छोटो समय नेतृत्वविहीन रहन्छ।

    लामो समयसम्म नेतृत्वविहीन बनाउने पक्षमा छैन किनकि संविधानले रिक्त बनाउनुपर्छ नेतृत्वविहीन बनाएर जाऊ मलाई भनेको छैन। त्यसैले संविधान यो नेपालमा सबैभन्दा ठूलो हो। संविधानले निर्देशित गरेर राष्ट्र चल्छ, राज्य चल्छ। त्यस मातहत रहेर नै सबै दलहरू चल्नुपर्ने हुन्छ। त्यही आधारमा अहिले मैले प्रतिनिधिसभालाई रिक्त बनाउने अवस्थामा छैन र राजीनामा नदिएको हो।

    एउटा व्यावहारिक नजिर हेर्दा जो अहिले हटेर जानु भएको सभामुख उहाँलाई पनि दलले निर्देशन दियो उहाँले राजीनामा दिनुभयो अथवा पद त्याग गर्नुभयो। तपाईंलाई पनि त्यसैगरी भनेको छ। त्यही निर्देशन सभामुखलाई लागू हुने तर उपसभामुखलाई लागू नहुने भन्‍ने हुन सक्छ?

    तपाईंको प्रश्‍न नै मिलेन। किन मिलेन भने एउटा त्यो विषय अनुसन्धानको क्रममा रहेको थियो। निवर्तमान सभामुखलाई चार्ज लगाएको सबैलाई थाहा छ। त्यो चार्ज लगाएर दलले सभामुख पदबाट राजीनामा दिएर बाहिर निस्कन निर्देशन दिन सक्ने अवस्था थियो। त्यतिबेला निवर्तमान सभामुखलाई पक्राउ गरिसकेको अवस्था थियो। त्यो घटना फरक हो र अहिलेको घटना फरक छ। 

    निर्देशन पनि कुन प्रसंगमा दिएको भन्‍ने छुट्याउनुपर्‍यो नि त। निवर्तमान सभामुखको सन्दर्भ उहाँलाई चार्ज लगाएको घटना फरक प्रसंग हो। यो विषयलाई धेरै नकोट्याऊँ। त्यतिबेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो। तर, अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो। किन गलत हो भने प्रतिनिधिसभा त एउटा स्वतन्त्र संस्था हो। दल एउटा संस्था हो राजनीतिक दल हो ऐनअनुसार दर्ता भएर चलेको संस्था हो त्यो पनि। पार्टी पनि दर्ता भएर चल्छ ऐनअनुसार चल्छ। प्रतिनिधिसभा संविधानमार्फत चल्छ।

    दललाई पनि संविधानले नै हिँडाएको हुन्छ। तर यो संस्था स्वतन्त्र हो। यी दुई संस्था फरकफरक ढंगले चल्ने संस्था हुन्। आफ्नोआफ्नो काम छन्। र अहिले प्रतिनिधिसभाको उपसभामुख पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको नेतृत्व गरेको व्यक्तिलाई राजीनामा दिएर छोड भनेर निर्देशन दिन मिल्दैन। साधरण अवस्थामा उपसभामुखलाई पनि निर्देशन दिन मिल्दैन। तर, सभामुखलाई मिल्यो किन भने उहाँमा त कुनै एक घटना जोडिएको थियो नि। प्रसंग फरक थियो। फरक प्रसंगलाई फरक तरिकाले नै बुझ्न जरुरी हुन्छ।

    यदि त्यसो हो भने पछिल्लो समय चर्चामा आएको र विभिन्न सञ्चारमाध्यममा सुनिएको र तपाईंकै प्रतिक्रियाबाट अबको सम्‍भावित उम्मेदवार तपाईं आफैँ पनि हो? यदि तपाईं हो भने किन दलले अर्को उम्मेदवार खोज्यो, किन राजीनामा दिन भन्यो, किन तपाईंलाई स्वीकार गर्न सकेन?

    यसमा राजीनामा किन दिन भन्यो। दललाई नै सोध्नुहोला। तर, दलले नभने पनि मैले राजीनामा दिन्छु नै। दलभन्दा त संविधान ठूलो हो नि। किन भने संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म जाँदा सबै कुरा लेखिएको छ। त्यसमा लेखिएको छ कि, 'प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ' भनेको छ र त्यसमा एक महिला अनिवार्य भनेको छ।

    संविधानले बोलिसकेपछि अहिले संविधानलाई कार्यान्वयन गराउनुपर्ने अवस्थामा पुगेका छौं। सभामुख पद रिक्त छ, म त्यही दलले उम्मेदवार बनाएर उपसभामुख बनेको र अब सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि मैले मार्ग प्रशस्त गर्छु भनेकी थिएँ र अहिले पनि भनिरहेकी छु। 

    मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष बित्यो अब ३ वर्ष बाँकी छ। अबको तीन वर्ष पूरा गर्न मैले किन नपाउने? म उपसभामुख भएर काम गरिराखेकी छु मैले कुनै फट्याइँ त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रष्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ?

    दलले राजीनामा देऊ नभनीकन पनि मैले दिनुपर्छ कुन अर्थमा संविधानले मलाई भनेको छ नि। संविधानले सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि स्वतः निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा मैले राजीनामा दिन्छु भनेर तयारी अवस्थामा बसेकी थिएँ। तर, सत्तापक्षले निर्देशन जारी गरेको छ अरे तर त्यो जारी गर्न मिल्दैन।

    यदि त्यसो हो भने के कति कारणले तपाईं सभामुखको लागि योग्य? दलले किन तपाईलाई योग्य देखेन?

    दलले योग्यता किन देखेन भन्‍ने जवाफ दलसँग नै छ होला। तर, म किन योग्य छु भने सन्दर्भमा म  अहिले उपसभामुख भएर काम गरेको २ वर्ष बित्न लाग्यो। हुन त म प्रतिनिधिसभामा आएको पहिलोपटक नै हो। म पहिले उपसभामुख बन्न जान्नँ भनेकै हो दललाई तर जानुपर्छ भनिसकेपछि एकदम छोटो समयमा नोमिनेसन गरेँ र उपसभामुख निर्वाचित भएँ। आफ्नो इच्छा नहुँदा नहुँदै त्यो गरिएको थियो। आवश्यकताले त्यो परेछ। मेरो इच्छाले उपसभामुख बनेको होइन म यो कुरा फेरि दोहोर्‍याउँछु। आवश्यकता पर्‍यो भनेर पार्टीले भन्यो मैले गरेँ। 

    अहिले पनि मेरो इच्छा होइन तर आवश्यकता हो। आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटनासँग जोडिनुभयो उहाँ निस्किनुभयो। उहाँले यहाँबाट राजीनामा गरेपछि म उपसभामुख मैले केही बदमासी काम त गरेको छ छैन।

    मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष बित्यो अब ३ वर्ष बाँकी छ। अबको तीन वर्ष पूरा गर्न मैले किन नपाउने? म उपसभामुख भएर काम गरिराखेकी छु मैले कुनै फट्याइँ त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रष्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ? यो कारणले गर्दा म सभामुख पदको दाबेदार हुँ। यो स्वाभाविक हो नि उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ? छैन। क्षमताको हिसाब गर्नुहुन्छ भने पनि क्षमतामा पनि मेरो कुनै कमी छैन। त्यसैले सभामुख पदको दाबी गर्नु त अनौठो मान्‍नै पर्दैन स्वाभाविक नै हो।

    अनि सभामुख पदका लागि तपाईंलाई योग्य पनि नदेख्‍ने, दलले उम्मेदवार पनि छान्‍न नसक्ने संसद् त्यसैको बन्धक कहिलेसम्म बनिरहनुपर्ने। संसद् कहिले खुल्छ। संसदको सर्वोच्च पदमा तपाईं नै हुनुहुन्छ भनेपछि यो प्रश्न फेरि तपाईंलाई नै सोधेँ अब संसद् कहिले खुल्छ?

    तपाईंले सोध्नु स्वाभाविक नै हो। सारा नेपालीको चासोको विषमा पनि हो यो। किन गर्न सकेनन् दलले। तर, म यहाँ सबैको केन्द्रविन्दुमा स्वाभाविकै हो। यो संस्थाको प्रमुखको हैसियतले अहिले प्रतिनिधिसभामा सभामुख हुनुहुन्‍न र सभामुख नभएपछि उपसभामुखले नै नेतृत्व प्रदान गरेको छ। संविधानअनुसार प्रतिनिधिसभाको नेतृत्व गर्ने ठाउँमा अहिले म छु। यो अर्थमा यो हिसाबले केन्द्रविन्दुमा रहनु स्वाभाविक नै हो।

    व्यवस्थापिकाको प्रमुख भूमिकामा रहेको व्यक्तिलाई केन्द्रमा नराखेर कसलाई राख्ने त? अब संसद् कहिले खुल्छ कसरी सुचारु हुन्छ भन्ने सन्दर्भ सबै दलसँग जोडिएको विषय हो। म प्रतिनिधिसभाको उपसभामुख र नेतृत्व गरेको हैसियतले यतिसम्म भन्न सक्छु दलले आफ्नो निकास निकालेर ल्याउनुपर्‍यो। मैले त  प्रक्रियालाई अगाडि बढाइदिने हो, मैले हिजो पनि भनिसकेको छु।

    त्यसैलाई हेर्दा तपाईंले पहिला राजीनामा दिँदा दलहरूलाई अझै सहज हुन्थ्यो कि?

    मैले राजीनामा कतिबेला दिन्छु भन्‍ने कुरा तपाईंलाई बताइसकेँ। संविधानले प्रतिनिधिसभा खाली रहन्छ नेतृत्वविहीन हुन्छ भनेर परिकल्पना नै गरेको छैन। नेतृत्व प्रदान गर भनेर मलाई शपथ खुवाएको छ। मैले संविधानको भावनाअनुरूप काम गर्छु भनेर शपथ लिइसकेको छु। काम गरिरहँदा कसैको डर नमानीकन काम गर भनेर मलाई भनेको छ। म किन डराउने, जे शपथ लिएको छु म त्यही काम गरिराखेकी छु। मलाई संविधानले जे निर्देशित गरेको छ त्यो गर्छु। त्यहाँबाट दायाँ-बायाँ म किन गर्ने। 

    त्यसैले संविधानले मलाई जे भनेको छ म त्यही काम गर्छु। मैले राजीनामा कतिबेला दिन्छु भने जतिबेला दलले आफ्नो उम्मेदवार तयार गरेर मैले तयार गरेँ निर्वाचन प्रकृया अगाडि बढाऊँ भनेर सन्देश मकहाँ पठाउँछन्। जसरी पुस २७ गतेको बैठकलाई माघ ६ गते पछाडि सारौँ न भनेर नेकपा दलले आग्रह गर्‍यो। ठीक छ भनेर प्रमुख प्रतिपक्षी दलसँग पनि समन्वय गरेकी थिएँ। मैले ५ गते गरौं भन्दा ६ गते गरौं भनेर भन्‍नुभयो, दलहरूसँग हामीले समन्वय गरेका छौं। उपसभामुखको हैसियतले त्यो काम मैले गरेकी हुँ। 

    बैठक ६ गते १ बजे बोलाइएको छ। एक बजेअगाडि हामी बानेश्वरमा हुन्छौं। मसँग सबै तयार अवस्थामा हुन्छ। बैठकको अध्यक्षता ज्‍येष्ठ सदस्यले गर्नुहुन्छ र मैले उहाँलाई राजीनामा दिन्छु। उहाँले बैठकको अध्यक्षता गर्दा उहाँले पढेर सुनाउनुहुन्छ र त्यसपछि म एक सांसद मात्रै हुन्छु। यो प्रकृया अपनाउँछु। जतिबेला संसद एकदम छोटो केही मिनेट मात्र खाली हुन्छ। दिनको त कल्पनै नगरौं। म यसरी जान्छु। यो कुरा मैले सार्वजनिक रूपमा भनेको छु। यो भनेको संविधानले मलाई यो गर भनेर भनेको छ। अनि किन दायाँबायाँ गर्ने।

    त्यसो भए अब तोकिएको समयमा संसद् बैठक बस्छ? अब हामीले सभामुख उपसभामुख पाउँछौं। त्योभन्दा अगाडि तपाईंको राजीनामा आउँछ। र, अब फेरि संसद् यसैगरी अवरुद्ध हुने, बस्दै नबस्‍ने अथवा बन्धक बन्दैन म गलत छु या सही छु?

    त्यो कन्डिसनमा मात्रै राजीनामा आउँछ। तपाईंले भनेजस्तो अगाडि राजीनामा आउँछ त्यो गलत हो। राजीनामा आउँछ। राजीनामा गर्छु भनेर सार्वजनिक रूपमा सबैभन्दा पहिले बोल्ने म हो। मार्गप्रशस्त गर्छु भनेर भनेकै छु त मैले। प्रतिनिधिसभालाई सहज तरिकाले अगाडि बढ्ने बाटो खोल्ने जिम्मेवार बन्‍छु। तर, राजीनामा दिँदा पनि तपाईंले भनेजस्तो अगाडि दिन्छु सबै खाली हुन्छ, अनि यस्तो होला भनेर कल्पना नगरे हुन्छ। मैले भनेँ एकदमै छोटो समय मात्र नेतृत्वविहीन हुन्छ।

    बाहिरबाट कत्तिको दबाब झेलिरहनु भएको छ?

    मलाई कसैले केही पनि भनेको छैन। धेरै मैले के सुनेको छु भने तपाईंले कम्तीमा पनि दलहरूले दबाब दिए पनि दलभित्रको नेतृत्वले दिए पनि तपाईंले आफ्नो अडान छोडनु भएन सही काम गर्नुभएको छ, यो एउटा स्वतन्त्र संस्थालाई तपाईंले निरन्तर नेतृत्व प्रदान गर्नुस् भन्‍ने कुरा आइराखेको छ। यो संस्थाप्रतिको माया हो। प्रतिनिधिसभाप्रतिको माया हो। यो प्रतिनिधिसभा भनेको ऐन कानुन निर्माण गर्ने थलो हो। जसलाई सबैले माया गर्नुभएको छ। त्यसैले सबैलाई मैले मार्गप्रशस्त गर्छु भनेकी छु। यसैलाई जोड्दै उहाँहरूले अब दलले नै  निकास दिनुपर्छ भन्‍नु भएको छ।

    अन्त्यमा नेकपा सचिवालय बैठकले गरेको निर्णयको आधिकारिक जानकारी तपाईंसम्म आएको छ कि छैन?

    पठाएको छ रे तर मैले त्यो बुझेकी छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]