समस्याको गाँठो फुकाउन निरन्तर बैठक

|

चितवन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा अहिले जटिलता देखिएको बताएका छन्।

प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले राजनीतिमा केही जटिलता देखिएको बताएका हुन्। 

के विषयमा जटिलता देखिएको भन्‍नेबारे स्पष्ट नखुलाए पनि प्रचण्डले सभामुख चयनका विषयमा भइरहेको सकसतर्फ संकेत गरेका थिए। 

यतिबेला सभामुख चयन, अमेरिकी परियोजना एमसिसी लगायतयले नेकपा नै दुई धारमा देखिएको छ। त्यही सन्दर्भलाई लिएर अध्यक्ष दाहालले चितवन पुगेर यस्तो बोलेका हुन्। 

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिँदा सभामुख चयन प्रक्रिया अन्योलमा रहेको अवस्थामा प्रचण्डले यसैलाई इंकित गरेका हुन्।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले बलात्कार आरोप लागेपछि राजिनामा दिएसँगै सभामुख पद रिक्त रहेको छ।

प्रचण्डले अहिलेको अवस्थामा आफूलाई निक्कै दबाब रहेको बताएका छन्। उनले भने, ‘म समय भएर माडी आएको होइन। निक्कै नै दबाब थियो, तपाईंहरुले देखिरहनु भएको छ। केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखिन्छन् कहिलेकाहीँ।’

जटिलता समाधानका लागि आफूले लगातार छलफल गरिरहेको पनि बताए। अध्यक्ष प्रचण्डले चितवनबाट फर्किएपछि मंगलबार बेलुकी धेरै बैठक बसेर छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘धेरै बैठक, छलफल गर्नुपर्ने व्यस्त समयमा धेरै साथीले काठमाडौं नछाड्न सल्लाह दिँदादिँदै २ घण्टा समय निकालेर माडी आएको हुँ।’

अहिलेको नेकपा सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानका लागेको पनि उनले प्रष्ट्याए। विकास निर्माणको काममा पनि सरकार लागिरहेको उनले उल्लेख गरे।

नेकपा नेतृत्वको सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गरेको जिकिर उनले गरे। सरकारले अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेकाले यस्ता महोत्सवले पर्यटन आवागमनमा वृद्धि हुने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.