|

डडेल्धुराः डडेल्धुरामा यो वर्ष ओखरको व्यापारमा कमी आएको छ। छिमेकी जिल्ला दार्चुलाबाट आयात हुने ओखरको मूल्यमा वृद्धि भएपछि व्यापारमा  कमी आएको हो। 

ओखरको व्यापारमा कमी आएसँगै डडेल्धुराका ओखर व्यवसायी चिन्तित बनेका छन्। विगतका वर्षको जस्तो ओखरको बिक्री नभएको अमरगढी नगरपालिका १ स्याउलेका ओखर व्यापारी गणेश दियालले बताए।

‘अघिल्ला वर्षहरूमा १२ देखि १५ क्विन्टलसम्म ओखरको मात्रै व्यापार गर्थे। यो वर्ष भने ४ क्विन्टल मात्रै व्यापार गरियो।’ विगत १० वर्षदेखि ओखरको व्यापार गर्दै आएको बताउँदै व्यापारी दियालले भने, ‘गत वर्षमा मूल्यवृद्धि हुँदा पनि व्यापार भएको थियो। तर, यस वर्ष भने व्यापार सुस्त बन्दै गयो।’  

अर्का ओखर व्यापारी हरिना दियालले विगतका वर्षमा डडेल्धुरामा हुने उग्रतारा मेलामा ओखर बेचिसक्ने बताए। उनका अनुसार यो वर्ष भने हिउँदसम्म पनि ओखरको व्यापारले गति लिएन। डडेल्धुराको ओखर काठमाडौंलगायत विदेशसम्म पनि पठाउने गरेको बताउँदै दियालले यसवर्ष ओखर किन्न आउने ग्राहकमा कमी आएको सुनाए।

‘मूल्य चर्को भएर हो या ओखरप्रतिको रुचि घटेको हो थाहा छैन। तर ओखर किन्न आउने ग्राहकमा भने कमी हुँदै गएको छ’ उनले भने। गत वर्षको तुलनामा ओखरको प्रतिकिलोमा ५० सयदेखि १ सय रुपैयाँले मूल्य वृद्धि भएको छ। यो वर्ष डडेल्धुरामा ओखर प्रतिकिलो ६ देखि ७ सय रुपैयाँमा बिक्री भइरहेको छ। 

सुदूरपश्चिम प्रदेशको सातवटा पहाडी जिल्लाको प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजार र बागबजार बसपार्कमा ओखरको व्यापार हुने गरेको छ। यहाँका व्यापारीले ओखरबाटै प्रत्येक वर्ष २ लाखभन्दा बढी आम्दानी गर्ने गरेका बताउँछन्। 

अन्य वर्षको तुलनामा यो वर्ष ओखरको उत्पानमा कमी आएको व्यापारीको भनाइ छ। व्यापारीले डडेल्धुरासहित बैतडी र दार्चुलाबाट ओखरको आयात गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.