|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका हुन्। सरकारले सडकलाई मानवमुक्त बनाएको प्रशंग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस बेवारिसे नभेटिने उल्लेख गरे। ‘पहिले पहिले बालबालिका पहिले कुकुरसँग लडाइँ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो। अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्। उनीहरूलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलायइएको छ,' उनले भने

उनले नेपाल भिखारी देश नभएको भन्दै अब कोही पनि बेघर हुनु नपर्ने बताए। उनले साँच्चिकैका बेघरको बसोबासको प्रबन्ध सरकारले गर्न लागेको समेत बताए। 'नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ। कोही बेघर हुनु पर्दैन्। ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ’, उनले भने, ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ। हामीले काम गरेका छौँ। त्यस्ता कामहरूको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन्। त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन्। त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्। यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ। राम्रा कुरा पनि गर्न थालिस बिग्रिन्छस भन्छन्, सकारात्मक कुरा पनि गर्न थालिस भन्ने आउँछन्।’

प्रधानमन्त्री ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रूपमाले लिने गरिएको भएपनि अहिले काम भइरहेको स्मरण गरे। ‘मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तर दक्षीण रेलका कुरा गरे अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ। पहिले हामीलाई रोडको समस्या थियो। अहिले कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व-पश्चिम सबै ठाउँबाट रोड छ। चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौँ। धेरै नाकाहरु खुलिसकेका छन्’, उनले भने, ‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो। हामी कहाँ छौँ भन्दा छाउपडीवालाको दुनियाँमा छौँ। तर त्यस किसिमबाट बाहिर आउनुपर्छ। सामाजिक जागरणमा अगाडि बढ्नुपर्छ।’

प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.