|

सुर्खेत : सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले छाउपडी प्रथाविरुद्ध अभियान संचालन भइरहेको छ। छाउगोठ भत्काइदै छ। तर, छाउप्रथा मान्‍ने समुदाय दोधारमा देखिएका छन्। सरकार, प्रशासनको कानुन मान्‍ने कि परम्परादेखिको मान्दै आएका देउता मान्‍ने भन्‍नेमा दोधार देखिएका हुन्। 

सुर्खेतको बराहाताल गाउँपालिका-५ की सम्झना शर्मालाई छाउप्रथाबाट मुक्त हुन्छु भन्‍ने विश्वास नै छैन। ‘हामीलाई छाउपडी राम्रो होइन। छाउ बस्‍नु हुन्‍ने भन्‍ने थाहा छ। थाहा भए पनि बाबा, आमाले यो कुरालाई स्वीकार गर्नुहुन्‍न’ उनले भनिन्, ‘हाम्रो घरमा पनि एउटा छाउगोठ थियो। त्यो गोठ प्रहरीले भत्काएर गए। तर, महिनाको एकपटक त हो नि, पाल हालेर भए पनि बस्‍नु पर्ने भनेर बाबा र आमाले भनेका छन्।’

‘नमाने घरको नराम्रो हुने, त्योभन्दा त चुपचाप लागेर सहनुबाहेक अरू केही विकल्प छैन’ उनले दुःख पोखिन्। प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत छाउप्रथा न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा सम्झनाले भनिन्, ‘छाउप्रथा नमान्‍ने भनेर जनप्रतिनिधि र प्रहरीका अगाडि त घरका मान्छेले हुन्छ भन्छन्। तर, उनीहरू गइसकेपछि अवस्था पहिलेजस्तै हुन्छ।’

‘छाउप्रथा मान्‍नु हुन्‍न भनेर प्रहरी र स्थानीय सरकारले पटक-पटकआग्रह त गरेको छ। तर घरमा हाम्रा अभिभावकले प्रहरी, स्थानीय जनप्रतिनिधिका हुन्छ भने पनि उहाँहरू गइसकेपछि भने अवस्थाउस्तै हुन्छ’ बराहातालकै अर्की विद्यार्थी टीका कँडेलले भनिन्, ‘हाम्रो घरमा त मस्टो देवताको पूजा लाग्छ। देवता रिसाउने डरले मलाई पनि घरभित्र जान डर लाग्छ।’

‘छाउ भएको बेला घरभित्र बस्‍न त के घरको वरिपरि पनि हिँड्न मिल्दैन। कसको भनेको मान्‍नु, देउताको भनेको मान्‍नु कि स्थानीय जनप्रतिनिधिको भनेको मान्‍नु, प्रहरी प्रशासनको भनेको मान्‍नु?’ आफूलाई अप्ठ्यारो भएको उनले बताइन्।

सोही विद्यालयमा अध्ययनरत पार्वती लामिछानेको कथा पनि उस्तै छ। उनलाई त झन् गोठमा नबसौ आमाबाबाको डर, गोठमा बसौँ प्रहरी प्रशासनको डर छ। 'अहिले त झन् बस्‍ने गोठ पनि भत्काइएका छन्। बस्‍ने ठाउँ नभएकाले मलाई अहिले सम्झँदा पनि डर लागिरहेको छ', उनले भनिन्, ‘अघिल्लो साल कक्षा ६ पढ्ने विद्यार्थीको छाउ गोठमा सुतेका बेला सर्पले टोकेर मृत्यु भएको थियो। अब पालभित्र बस्दा आफूलाई पनि सर्पले टोक्ने हो कि भन्‍ने चिन्ता लागिरहेको छ’ उनले चिन्ता व्यक्त गरिन्।

यी त केही प्रतिनिधि पात्र मात्र हुन्। सरकारले छाउपडीको अन्त्यका लागि अभियान र कानुन ल्याए पनि गाउँघरमा मनबाट छाउपडी प्रथा हट्न सकेको छैन। सरकार ठूलो कि देउता? भन्‍ने प्रश्‍नले कुराले अहिले छाउपडी प्रथालाई परम्परा मान्दै आएकालाई अन्योलमा पारेको छ। उनीहरू सरकार र प्रशासनका अगाडि छाउ नबार्ने प्रतिबद्धता गरिरहेका छन भने घरमा देउतालाई मनाउन छाउ बार्नेबारे योजना बनाइरहेका छन्। 

जनज्योति माविका शिक्षिका कमला घर्तीले छाउ प्रथाविरुद्धमा लड्न लागेको धेरै वर्ष भएको बताइन्। पहिले छाउ बस्‍नु हुन्‍नभन्दा उनकै विद्यार्थीले इन्कार गर्ने गरेका थिए। ‘पहिले मैले भन्दासमेत विद्यार्थी नै मान्दैनथे। बझाउन सकिएको थिएन। अहिले सरकारले कानुन नै बनाएर अभियान चलाउँदा खुसी लागेको छ। तर, यो कुप्रथा हटाउन जनचेतना आवश्यक देखेकी छु’ उनले भनिन्, ‘छाउ प्रथालाई घरका देउतासँग जोडेकाले चुनौती छ।’

सुदूपश्चिम प्रदेशको अछाम जिल्लासँग सिमाना जोडिएका कर्णाली प्रदेशका केही जिल्लाहरूमा छाउप्रथा अझै पनि कायमै रहेको छ। सुर्खेतको पश्चिमी क्षेत्र, दैलेख, कालिकोट, जम्ला र जाजरकोटलगायतका ठाउँहरूमा अहिले पनि छाउप्रथा कायम नै रहेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालयको छाउगोठ भत्काउने निर्देशनपछि कर्णालीका हिमाली जिल्लाबाहेक कालिकोट, सुर्खेत, दैलेख, र जाजरकोटमा जम्मा एकहजार तीनसय अठार छाउ गोठ भत्काइएका छन्।

प्रदेश राजधानीसमेत रहेको सुर्खेत जिल्लामा मात्रै एक हजार ९१ वटा छाउ गोठ भत्काइएको कणाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए।

छाउ बस्‍नेको सेवा कटौती गरिने  

छाउ प्रथाविरुद्ध सरकारले कानुन नै बनाएपछि स्थानीय सरकार पनि छाउ प्रथाविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेका छन्। सुर्खेतको बराहाताल गाउँपालिकाले छाउ बस्‍ने र बस्‍ने लगाउनेलाई पालिकाबाट दिने सेवा सुविधा नदिने निर्णय गरेको छ। बराहाताल गाउँपालिका उपाध्यक्ष शोभा शर्माले छाउ बस्‍ने घरपरिवारलाई पालिकाबाट दिने सबै सेवा सुविधा कटौती गरिने बताइन्।

‘छाउ प्रथाविरुद्धमा लाग्‍नेको लागि गाउँपालिकाले एउटा कार्ड बनाएको छ। कुनै पनि सेवा सुविधा लिन त्यो कार्ड अनिवार्य लिएर आउनु पर्ने र कार्ड पालिकाबाट दिने सेवा सुविधा सवै कटौती गर्ने छौँ’ उनले भनिन्। 

कानुनअनुसार कार्वाही गरिने

गाउँघरमा छाउप्रथाको निहुँमा कसैले छोरी, बहिनीलाई हेला गरेको पाइएमा प्रहरी प्रशासनले कानुन अनुसार कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए। कसैलै छाउ प्रथाका कारण छाउ गोठमा बस्‍न बाध्य पारिए एक सयमा सीधा कल गर्न पन्तले आग्रह गरे। उनले प्रहरी सचेतनासँगै कानुनका बारेमा पनि जानकारी दिँदै जाने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.