|

म्याग्दी : माघे सङ्क्रान्ति  तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूलहरु खाएर मनाइने पर्व हो। तर, पछिल्लो समय म्याग्दीका ग्रामिण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेहरुले समेत ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसंक्रान्ति पर्व मनाउन थालेका छन्।

सहरमुखी प्रवृतिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्ड लगाएतका कन्दमूलहरु लगाउने जनशक्ति अहिले गाउँमा छैन्। अध्ययन, जागिर र बैदेशिक रोजगारीको बहानामा युवाहरुले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासंग पनि पहिलेको जस्तो खेतवारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतवारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण जिल्लाका ग्रामिण भेगहरुमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूलहरु लोप हुँदै गएका हुन्।

‘गाउँगाउँमा डोजर छिरेपछि र व्यवसायिक खेतीको सुरुवात भएपछि तरुल र कन्दमूल लगाउने चलन हराउँदै गयो’ बेनी नगरपालिका २ का ७९ वर्षिय बेदप्रसाद शर्माले भने–‘पहिले पहिले माघे संक्रान्ति आउनुभन्दा ८–१० दिन अघिदेखि नै गाउँमा तरुल, सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड कालिन्थ्यो तर, अहिले सबै एकादेशका कथा जस्तै भए।’

गाउँमा अहिले व्यवसायिक तरकारी–फलफूल खेती र पशुपालन फस्टाउँदै गएको भएपनि परम्परागत कृषि, चाडपर्वमान्ने र संस्कृतिको अनुसरण गर्ने  पद्यतिमा भने निकै ठूलो परिवर्तन देखिदै आएको छ। पढे लेखेका र जागिर व्यवसायमा लागेका युवाहरु आधुनिक संस्कृति, रहन सहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका र परिकारहरु लोप हुँदै गएका बूढापाकाहरुको भनाइ रहेको छ।

‘पढेलेखेका र उमेर भएका युवायुवतिहरु तरुल, भ्याकुर, गिठा, सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ, न हामीहरुले पनि यी चिजहरुको महत्वका बारेमा बुझाउन सकेका नै छौं’ खबराका भद्रवहादुर कार्कीले भने। ‘तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले पो लियो, न खोज्नको झण्झट न खन्नको। ’बिहान बिहानै बेनी बजारको एक पसलबाट कुखुराको मासु किन्दै गर्नुभएका स्थानीय प्रेम शाहीले पसलहरुमा ताजा र राम्रो तरुल नपाइएको र आयातित तरुल पनि अत्यन्त महङ्गो भएकोले माघे संक्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताए। ‘आज त खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघे संक्रान्ति पर्व मनाइनु पर्ने हो’ शाहीले भने– ‘तर अहिले यी चिजहरु गाउँमा त पाइन छोडे शहरको त के कुरा!’

विगतका वर्षको तुलनमा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायिहरुले बताएका छन्। ‘म्याग्दीका गाउँबाट तरुल आएकै छैन, तराईबाट आएको तरुल हो’ बेनीबजारका तरकारी व्यवसायी प्रबास रेग्मीले भने ‘२० किलो तरुल राखेको हुँ, पाँच किलो पनि बिक्री भएको छैन।’ मासु पसलसैगै तरकारी बिक्री गर्दै आएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढि रहेको बताए। 

तरुल मात्रै होइन माघे संक्रान्तिमा खानै पर्ने परिकार खिर्चो (खिचडी) पनि खान छोडिएको छ। खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ। जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन। बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.