शंका सबैतिर

|

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट पार गरेको ३३ किलो सुन गौशलाको पिंगलास्थानमा बरामद गरेपनि तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।

३३ किलो सुन सहित समातिएका भरियाले  सुनको मालिक पहुँचवाला व्यक्तिहरु रहेको बयान दिएपछि सीआइबीलाई सुन काण्ड ‘नखाँउ भने दिनभरको शिकार खाँउ भने कान्छो बुबाको अनुहार’ जस्तै भएको छ।

यद्यपि डिआइजी नवराज सिलवाल प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउने दाबी गर्छन्। 'सुन तस्करीमा ठूलै व्यक्तिहरुको संलग्नता रहेको देखिन्छ' उनले भने 'अनुसन्धान जारी छ। दबाब र प्रभावमा नपरी घटनाको सत्यतथ्य सार्वजनिक हुन्छ।'

गत पुस २१ गते संयुक्त अरब इमिरेट्सको शारजाहँ विमानस्थलबाट नेपाल आएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चेकजाँच पास गरेर लैजाँदै गर्दा गौशालाको पिंगलास्थानबाट प्रहरीले बरामद  गरेको थियो।

सुनसहित पक्राउ परेका गोपालबहादुर शाहीले बयान दिएपछि मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरुको बयानका आधारमा सुन तस्करीमा पहुँचवाला व्यक्तिकै संलग्तना खुल्न आएको डीआइजी सिलवालको भनाई छ। 

कर्मचारी तानिए

सुन बोकेर आएका तीन जनाको बयानको आधारमा प्रहरीले भन्सार कार्यालयका दुई अधिकृतलाई नियन्त्रणमा लियो। प्रहरीले भन्सार कार्यालयका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गर्‍यो। 

भन्सारका कर्मचारीका बयानको आधारमा प्रहरी प्रधान कार्यालयले विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई विमानस्थलबाट प्रधान कार्यालय तान्यो। अनुसन्धानकै लागि अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलाई गृह मन्त्रालय तानियो

प्रहरीले अनुसन्धान गर्दै जाँदा गत माघ ९ गते  भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठ पनि पक्राउ परे।

सुनका भरियाको बयानका आधारमा भन्सारका कर्मचारीलाई पक्राउ गरेको सीआइबीले सुन तस्करमा संलग्न पहुँचवालालाई भने पक्राउ गर्न सकेको छैन।

सीआइबी वास्तविक व्यक्तिलाई सार्वजनिक गर्न किन सकिरहेको छैन? थाहाखबरको प्रश्नमा डीआइजी सिलवाल भन्छन्- 'हामीले वास्तविक मानिसको पहिचान गरिसकेका छौं, अनुसन्धानकै क्रममा भएकोले पक्राउ गर्न समय लागेको हो।’

बनेन समिति

संसदको अर्थ समितिले सुन तस्करीबारे छानबिन तथा जाँचबुझ गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्न निर्देशन दिएको थियो। अर्थ समितिको पुस २७ गतेको बैठकले निर्णय अनुसन्धानका लागि अधिकार सम्पन्न समिति गठनका लागि प्रधानमन्त्री कार्यलयलाई समेत पत्राचार गरिसकेको छ।

यस्तै अर्थ मन्त्रालयलाई दोषी पत्ता लगाएर कडा कारवाही गर्न, अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सुधार्न विभागीय मन्त्रालयलाई समेत निर्देशन दिएको थियो। समितिले निर्देशन दिएपनि विमानस्थल सुधार तथा सुरक्षा कडाइका लागि केही पहल भएको देखिँदैन।

शंका सबैतिर

ठूलो परिमाणमा सुन बरामद भएपछि सुन मालिकमा मोबाइल व्यापारीदेखि मिडिया मालिक र मन्त्रीसम्म शंकाको घेरामा छन्।

आफूलाई बदनाम गरिएको भन्दै अर्थमन्त्री महराले पत्रकार सम्मेलनमा आफूलाई लगाइएका विभिन्न ४ आरोपको खण्डन गरेका थिए। 

महराले अर्थ समितिको बैठकमा 'आफू सानो भुरा भएको' उल्लेख गरेका थिए। प्रहरीले ऋद्धिसिद्धि ज्वेलर्सका नरेन्द्र गुप्तादेखि आरके ज्वेलर्सका राजेन्द्र शाक्यसँग बयान पनि लिएको थियो। शंकाको अौंला सबैतिर तेर्सिए पनि प्रहरीले वास्तविक तस्करको हातमा हत्कडी लगाउन भने सकेको छैन। 

यसैबीच उपप्रधान तथा अर्थमन्‍‍त्री कृष्णबहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको दावी गरेका छन्। 

किन हुन्छ तस्करी?

नेपाल राष्ट्र बैंकले मासिक १५ किलो सुन नेपाली बजारमा ल्याउन दिन्छ। राष्ट्र बैंकले बैधानिक रुपले ल्याउने सुनको परिमाण नेपाली बजारको मागको तुलनामा कम हो। त्यसैले सुनको माग पुरा गर्न तस्करी हुने गरेको हो।

यसभन्दा अघि भारत पठाउन सुन तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाललाई बनाउने गरिएपनि अहिले नेपाल र भारतमा सुनको मूल्यमा अन्तर नभएपछि पछिल्लो समय आउने सुन नेपालमा नै प्रयोग हुने गरेको छ। 

त्यसैले नेपालको बाटो हुँदै तस्करी गरिएको सुन भारत जान छाडेर नेपालमा नै प्रयोग हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। 

‘नेपालमा सुनको भन्सार दर प्रति तोला ४ हजार ९०० रुपैयाँ छ’, उनले भने ‘अवैध रुपमा सुन ल्याउँदा एक किलो सुनमा चार लाख ४२ हजार रुपैयाँ नाफा कमाउन सक्छन्, ब्यापारीले पनि एक तोलामा पाँच हजार रुपैयाँ कम गरेर सुन पाउने भएपछि तस्करीको सुनमा आकर्षित भएका छन्।’

सुन तस्करीको रुट

नेपालमा सुन हवाई र स्थल गरी दुई वटा बाटोबाट तस्करीको सुन भित्रिने गरेको छ। हवाई मार्ग हुँदै नेपालमा मलेसिया र दुबईबाट सुन आउँछ। ब्युरोले बरामद गरेको ३३ किलो सुन दुबईबाट नै आएको थियो।

स्थलमार्ग हुँदै चीनको तातोपानी नाका सुन तस्करीमा बदनाम भइसकेको नाका हो। पछिल्लो समय तातोपानी नाका भूकम्पको कारण बन्द भएपछि केरुङको नाका हुँदै सुन आइरहेको छ। केरुङ नाका हुँदै आएको तस्करीको सुन प्रहरीले बरामद पनि गरिराखेको छ।

२०७० मंसिरमा १७ किलो सुन तातोपानी भन्सारको गेटमा नै बरामद भएपछि चीनबाट नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी हुने गरेको रहस्य खुलेको थियो। त्यसपछि पटक पटक गरेर एक सयभन्दा बढी किलो सुन प्रहरीले बरामद गरिसकेको छ। काभ्रेमा नौ किलो, कोटेश्वरमा ३५ किलो सुन यही नाका हुँदै राजधानी भित्रिन लागेको बेला प्रहरीले बरामद गरेको थियो। 

यो पनि पढ्नुस्ः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.