|

उदयपुर : उदयपुरमा माघी पर्व विशेष गरेर थारू र मगर समुदायमा हर्षोल्लासका साथ मनाएका छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आफ्नो संस्कृति झल्काउने भव्य कार्यक्रम गर्दै यी समुदायले माघी पर्व मनाएका हुन्।

उदयपुरको बेलका नगरपालिकामा थारू र मगर समुदायसँगै अन्य जातजातिहरूले पनि आफ्नो भेषभूषा रीतिरिवाजअनुसार धूमधाम माघी मनाएका छन्। कार्यक्रममा प्रदेश-१ का प्रदेशसभा सदस्‍य नारायण बुर्जा मगरले  आर्थिक सामाजिक र राजनीतिकरूपमा मगरहरू पछाडि पारिएको बताए।

उनले इतिहासका विभिन्न काल खण्डमा मगरहरुले राष्ट्रलाई दिएको योगदानलाई मगरहरुले गर्व गर्नुपर्ने पनि बताए।  बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले मगरहरूले एकता सधैँ कायम रहनुपर्ने र नेपाली चाडपर्वहरुले सामाजिक एकता थप बलियो हुने बताइन्।

साथै १३औँ दक्षिण एसियाली खेलकुद सागमा कराँतेबाट पदक विजेता बेलका नगरपालिका-१ आम्वासिकी संगीता मगरलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको छ।

त्यस्तै, रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा बृहत संस्कृति कार्यक्रमका साथमा माघी पर्व मनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्‍य बुर्जामगरले हाम्रो देश कला–संस्कृतिमा धनी भएकोले माघि पर्व केहि जात विशेषको भन्दा पनि सबै  जातजाती भाषाभाषीको भएको बताए। साथै बुर्जामगरले माघी पर्वको सबैलाई शुभकामना दिँदै यस्ता पर्वहरुले समाजलाई सामाजिक एकता बाँध्ने बताए।

 कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थितिका साथै मगर समुदायको विशेष कला संस्कृति प्रस्तुति भएका गर्दै माघी पर्व धुमधाम मनाइएको बिद्यार्थी नेता केशव राईले जानकारी दिए।

त्यस्तै, कटारी नगरपालिका–२ खोक्सा भन्ने ठाउँमा त्रिवेणी मेला हिजोदेखि सुरु भएको छ। माघ १ गतेदेखि सुरु भएको मेला माघ १५ गतेसम्म लाग्नेछ।

त्रिवेणी मेलामा भक्तजनहरुको भिड

त्रिवेणी मेला कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले ‘मैनी मेला’ लाई त्रिवेणी मेलाको भन्ने गरिएको पत्रकार अभि लामिछानेले बताए। तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको परेवा, पाठोको बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्छ, भन्ने जनविस्वास रहेको मेला व्यवस्थापन आयोजक समितिका अध्यक्ष केशव धमलाले जानकारी दिए।

बुधबार विहानदेखि नै त्रिवेणीधाममा मकर नुहाउनहरूको बाक्लो भीड लागेको छ। तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाउँन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीय युवा सुवास कटुवालले बताए।

त्रियुगा नगरपालिका २ स्थित त्रियुगा, वरुवा र लुहाले नदीको संगमस्थलमा पनि धुमधामका साथ त्रिवेणी मेला लागेको थियो। मेलामा हजारौंको संख्यामा दर्शनार्थीहरूको विहानैदेखि भिडभाड रहेको थियो। भक्तजनहरूले त्रियुगा नदीमा स्नान गरी मेला भरेका थिए। साथै जिल्लाका अन्य स्थानीय तहहरूमा पनि माघी पर्व धुमधामका साथ सम्पन्न भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.