|

तनहुँ : म्याग्दे गाउँपालिका-३ किलचोकस्थित अकलादेवी मन्दिरको पुनर्निर्माण गरिएको छ। पुनर्निर्माण भइरहेको मन्दिर पशुपतिनाथको शैलीमा निर्माण गरिदैछ। मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाएर निर्माणको काम गत जेठ १८ गतेदेखि थालिएको हो।

गुरुयोजनाबमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले बताए। मगरका अनुसार मन्दिर पुनर्निर्माणका लागि समितिले केही समयअघि महायज्ञ गरी करीव एक करोड रुपैयाँ संकलन गरेको थियो।

मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटी गोलाकारशैलीमा निर्माण गर्ने योजना बनाएको छ। मन्दिर क्षेत्रमा वनभोजस्थल समेत बनाउने योजना समितिको छ।

डिपीआर अनुसारको सबै संरचना निर्माण गर्न तीन वर्ष समय लाग्ने समितिले अनुमान गरेको छ। ‘मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको र मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआर तयार गरी पुनर्निर्माणको काम थालिएको हो,’ उनले भने। डिपिआर अनुसारको मन्दिर क्षेत्रमा पूर्वाधार निर्माण गर्न चार करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको उनले बताए।

समितिको आन्तरिक कोषबाट ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए। तीनतले मन्दिरमा तामाको छानो छाउन शुरु गरिएको घिमिरेले बताए। घिमिरेका अनुसार तामाको छानो छाउनका लागि मात्रै १२ लाख लाग्नेछ। दश दिनभित्र छानो छाएर सकिनेछ भने मन्दिरमा गजुर प्रतिस्थापन, ढोका, झ्यालमा टुँडाल एकैसाथ राख्ने योजना रहेको घिमिरेले बताए।

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० लाख र म्याग्दे गाउँपालिकाको आठ लाखको सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.