|

डडेल्धुरा : डडेल्धुरामा भूकम्पीय सुरक्षासम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। बिहीबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा भूकम्पीय सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरेको हो। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद् व्यवथापन समिति र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा डेमो प्रदर्शन गरिएको हो। ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ डडेल्धुरामा पनि २२औं भूकम्प सुरक्षा दिवस मनाइएको छ।

बस पार्कमा एकाएक चारैतिर कोलाह मच्चियो। यहाँका घरहरू हल्लिन लागे। केही घर गर्ल्याम गुर्लुम ढले। केही घरमा आगो समेत लाग्यो। कोही भत्कन लागेको घरबाट हामफालेर हातखुट्टा भाँचिदा भुईँमा पछारिए। घर भत्कँदा घरभित्रै घाइते भए। कोही हतारहतार दौडँदा लडेर घाइते भए। घटना भएको केहीबेरमै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली घटानास्थल आइपुग्यो। घरमा लागेको आगो निभाए।

भूकम्पबाट घाइते भएका मानिसलाई घटनास्थलबाट बाहिर निकालेर व्याण्डेज बाँधे। कोही भने बिरामीको उपचारमा लागे। बिरामीको उपचारमा लागेको टोलीले पहिला गम्भीर घाइते भएकालाई स्टेचरमा राखेर स्वास्थ्य शिविरमा पुर्‍याए। स्वास्थ्य शिविरमा गम्भीर घाइतेलाई समान्य उपचार गरियो।

स्वास्थ्य शिविरमा ठूलो स्वरमा साइरन बजाउँदै एम्बुलेन्स आइपुग्यो। गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारको लागि अस्पताल पठाइयो। डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो।

स्थानीयलाई भूकम्प आउँदा र भूकम्पपछि कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सचेत गराउन सो अभ्यासको आयोजना गरिएको जिल्ला विपद् व्यवथापन समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार भूकम्पको समयमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा नागरिकहरुले देखेर नै जानुन् भन्ने उद्देश्यले डेमो आयोजना गरिएको हो।

सुदूरपश्चिम प्रदेश भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै प्रजिअ पौडेलले भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण गर्नुपर्नेमा जोड दिए। डेमा प्रदर्शन गर्नुअघि तुफानडाँडादेखि बसपार्कसम्म जनचेतनामुलक र्‍याली निकालिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.