|

भक्तपुर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले असुरक्षित निर्माण नै भूकम्पीय क्षतिको मूल कारण भएको बताएका छन। भक्तपुर नगरपालिकाको व्यवस्थापनमा बिहीबार दरवार स्क्वायरमा आयोजित २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा मन्त्री थापाले विगतको विनाशकारी भूकम्पको क्षतिले असुरक्षित निर्माण नै क्षतिको मूल कारण भएको पाठ सिकाएको बताएका हुन।

उनले भने, ‘विगतको भूकम्पबाट पाठ सिकेर आजको दिन आत्मसमीक्षा र सुरक्षित निर्माणको लागि संकल्प गर्ने दिन हो।’ उनले सुरक्षा विना सुख र समृद्ध नहुने हुनाले अबका दिनमा सुरक्षित र बलियो निर्माणमा जोड दिनुपर्ने बताए। उनले ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ मूलनाराका साथ २२औं भूकम्प सुरक्षा दिवससम्बन्धी १ महिने कार्यक्रम तय गरिएको जानकारी दिए।

विपद् व्यवस्थापन नीति, ऐन, नियम, कार्यविधि लागू गरी स्थानीय तह संचालन ऐनमा विपद् व्यवस्थानका लागि स्थानीय तहको भूमिका स्पष्ट गरिसकेको हुँदा ७५३ वटै स्थानीय तहले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण र उत्थानशील समाज निर्माणमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

विपद्ले कूल गाहस्र्थ उत्पादनमा १-५ प्रतिशन नोक्सानी गरिरहेको बताउँदैं मन्त्री थापाले भूकम्पीय पुनःनिर्माणको दीगो व्यवस्थापनका लागि पुनःनिर्माण प्राधिकरण गठन भई करिब ७५ प्रतिशत कार्य सम्पन्न भईसकेको जानकारी गराए।

नेमकिपाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिममा ११ औं स्थानमा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या विपद्को हिसाबले चुनौतीपूर्ण भएको बताए। उनले काठमाडौं उपत्यकाभित्र खानेपानी, फोहोरमैला, अपराध, ट्राफिक जाम र प्रदूषणलगायतका समस्या दिनानुदिन बढ्दै गईरहेको प्रति ध्यानाकर्षण गराउँदैं पुनःनिर्माण प्राधिकरणलगायत विपद्को क्षेत्रमा कार्यरत निकायले उल्लेख्य कार्य गर्नुपर्नेमा जोड दिए।

उनले सम्पदा पुनःनिर्माण गर्दा पुरानो र मौलिक शैलीलाई ध्यान दिनुपर्ने बताउँदैं भने, ‘ठेक्कामार्फत गरिएका सम्पदा पुनःनिर्माण बलियो हुँदैन। दिगो तथा अपनत्व कायम हुने भएकाले उपभोक्ता मार्फत पुनःनिर्माण गरिनुपर्छ।’ उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजित ६ करोड रुपैंयामध्ये ३ करोड रुपैंया अनिवार्य रुपमा ठेक्कामार्फत गनुपर्ने बाध्यता व्यवस्था हटाउनुपर्ने मागसमेत गरे।

भूकम्प सुरक्षा दिवस, व्यवस्थापन उपसमितिका संयोजक, तथा मूल समारोह समितिका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प पीडितहरूलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरवारविहीन सुकुमवासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरे।

प्रजापतिले भने, ‘हामी ठेकेदारलाई भन्दा स्थानीय जनतालाई विश्वास गर्छौं। स्थानीय जनताबाट बनेको उपभोक्ता समितिहरू मार्फत नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण हुँदैछन्। उपभोक्तामार्फत काम हुँदा मौलिकताको संरक्षण हुने, सम्पदामाथिको अपनत्व कायम रहने, स्थानीय जनताले रोजगारी पाउने र निर्माण गुस्तरीय हुने हाम्रो अनुभव छ।’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पबाट सुरक्षित घरको सुनिश्चित गर्न स्थानीय तहले अनुगमन गर्नुपर्नेमा जोड दिए। उनले मौलिक संरचना ध्वस्त हुनुमा कमजोर संरचना नै प्रमुख भएको बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्युनीकरण र पूर्वतयारी अति आवश्यक भएको बताउँदैं भक्तपुरमा सम्पदा पुनःनिर्माण छोटो समयमै मौलिक शैलीमा समपन्न हुनु सकारात्मक भएको बताए।

संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधि भाभिरी जुलियान्डले समुदायका व्यक्तिहरुले जुनसुकै आउनसक्ने विपद्बाट जोगिन आ–आफ्नो क्षेत्रमा पूर्वतयारी गर्नुपर्नेमा जोड दिए।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सबै नगरपालिकाले सुरक्षित भवन निर्माण संहिता पालना गरी सुरक्षित निर्माण सुनिश्चित गर्नुपर्ने बताए।

समारोहमा एनसेटका प्रतिनिधि विजयकृष्ण उपाध्यायले ‘घुँडा टेकी गुँडुल्की ओत लागि समात’ बारे संक्षिप्त विवरण र प्रदर्शन देखाएका थिए भने ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले संयुक्त रुपमा भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला प्रदर्शनी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.