|

काठमाडौं : सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको छ।

नेपाल भ्रमणमा रहेका पूर्वमुख्यमन्त्री चाम्लिङलाई बिहीबार प्रतिष्ठानले आफ्नै कार्यालयमा रहेको प्रज्ञा भवनमा कार्यक्रम गरी स्वागत गरेको हो। उक्त अवसरमा कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, शताब्दी पुरुष सत्यमोहन जोशीले चाम्लिङलाई दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको उपहार प्रदान गरेका थिए। यस्तै, उनलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्त्वपूर्ण प्रकाशनहरू पनि उपहार दिइएको थियो।

कार्यक्रममा कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चाम्लिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको चर्चा गरे। ‘पवन चाम्लिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ,’ उनले भने, ‘यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ। यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’

उपकुलपति डा. गुरुङले स्रष्टा चाम्लिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चाम्लिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताए। 

कार्यक्रममा साहित्यकार चाम्लिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गरे। ‘म अत्यन्त कृतज्ञ छु,’ चाम्लिङले भने, ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ।’

विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै चाम्लिङले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याए। 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.