|

प्रजातन्त्रको सबैभन्दा ठूलो विशेषता के हो भने सत्ता हस्तान्तरण शान्तिपूर्वक हुन्छ र पराजितले अर्को निर्वाचनमा जित्ने आशामा हारलाई स्वीकार गर्छ। हारलाई शक्तिको रुपमा स्वीकार गर्दै अर्कोपल्ट जित्नका लागि उसैसँग प्रतिस्पर्धा गरिरहन्छ जोसँग अहिले हारिएको हुन्छ। त्यस्तो विपक्षीलाई मुलुकले सत्ताधारीसरह मान्यता दिएको हुन्छ। अहिलेसम्म विद्यमान मतदानको प्रक्रियालाई समीक्षा गर्दा एउटा कागजको सानो चिर्कटोमा चिन्ह लगाएर वा विद्युतीय बाकसमा थिचेर आफ्नो अपेक्षा पूरा गरिन्छ र आफ्नो भाग्यको निर्धारण गरिन्छ। त्यसैले एक्लो हुँदैन प्रजातन्त्र, त्यसको धेरै आयाम हुन्छन् र एउटा आयामचाहिँ आवधिक निर्वाचन हो जसले व्यक्ति, समूह र राज्यलाई सधैँ उर्जामात्र दिइरहन्छ।

राजनीति नै सबैभन्दा महत्वपूर्ण नीति हो जसले सबैनीतिहरुको नेतृत्व गर्छ। भर्खरै सम्पन्न संयुक्त राज्य अमेरिकाको शक्तिमान राष्ट्रपतिको निर्वाचनमा लोकप्रिय मत ३० लाख घटी ल्याउँदा पनि त्यहाँको सर्वस्वीकृत निर्वाचन प्रक्रियाअन्तर्गत भएको निर्वाचनमा डोनाल्ड जोन ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् र उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले पराजय स्वीकार गरेकी छिन्। अमेरिकामा उहिल्यै यो निर्वाचक मण्डलका आधारमा हार जित छुट्याउने चलन किन भएको थियो होला भने त्यो प्रदेशमा जसले बढी मत ल्याउँछ, त्यसको लागि सबै निर्वाचन मत पाउने कुरालाई प्रत्याभूति दिइएको थियो होला। पहिले डेमोक्रेट उम्मेदवार आल गोरको पनि छोरा बुसको भन्दा लोकप्रिय मत बढी थियो तर उनले जितेका थिए अहिलेजस्तै गरी रिपब्लिकन जर्ज बुसले।

धार्मिक सापेक्षता भनेको हिन्दू धर्मको कुरामात्र होइन। सबै धर्मका वारेमा जहाँ धर्मका आधारमा राज्य सञ्चालन हुन्छ, त्यहाँ धर्म निरपेक्षभित्र पनि सापेक्षता हुँदो रहेछ। जहाँ धर्म सापेक्षता भनेर धार्मिक प्रवृत्तिलाई देशको धर्म घोषणा गरे पनि अभ्यासमा सापेक्षता छैन भने त्यहाँ धर्म निरपेक्षतालाई अंगीकार गरिएको मानिदो रहेछ।

तर त्यो समीक्षामा अमेरिकी निर्वाचनको लेखाजोखा गर्नेभन्दा पनि अमेरिकामा देखिएको धर्म सापेक्षताको वारेमा चर्चा गर्न लागिएको हो। 

वास्तवमा कुनै राज्यको पनि आफ्नो धर्म हुँदैन भन्ने कुरा प्रजातन्त्रका लागि एउटा समानता र समावेशिताको सिद्धान्तबमोजिम हो। हामी सामान्यतया त्यस्तो धर्म निरपेक्षताको वारेमा वकालत गर्नुपर्दा संसारको प्रजातन्त्रको विकसित ठाउँ भनेर अमेरिकाको कुरा गर्ने गर्छौँ। प्रजातन्त्रको अर्को पक्ष हो बहुमतको कदर गर्ने र अल्पमतको पक्षमा सामाजिक न्यायको कुरा गर्ने। त्यसोभन्दा बहुमतको कदर भनेको बहुमतको आधारमा संविधान बन्छ र अल्पमतको प्रतिष्ठालाई बहुमतले कदर गर्ने भनेको हो। अल्पमतले के नठानोस् भने हामीलाई साँस्कृतिक अधिकार, राजनीतिक अधिकार र धार्मिक अधिकारबाट वञ्चित गरियो। बहुमतको पक्षमा बनेको संविधान, कानुन र नियमले कसैलाई आफ्नो अधिकार प्रयोग गर्दा व्यक्तिगत अनि सामूहिक अधिकार प्रयोग गर्दा आत्म प्रतिष्ठामा ठेस नलागोस्। अनि हामीले धर्म निरपेक्षताको कुरा गर्दा अमेरिकाको उदाहरण दिन्छौँ र अमेरिकी विश्वविद्यालयबाट दीक्षित नेपालीहरुका महान वाणीहरु बारम्बार सुन्छौँ अनि नेपालमा बाहुनवादका वर्चस्व बढेको भनेर एउटा धार्मिक प्रवृत्तिमाथि हिलो छेप्छौँ ।

धार्मिक सापेक्षता भनेको हिन्दू धर्मको कुरामात्र होइन। सबै धर्मका वारेमा जहाँ धर्मका आधारमा राज्य सञ्चालन हुन्छ, त्यहाँ धर्म निरपेक्षभित्र पनि सापेक्षता हुँदो रहेछ। जहाँ धर्म सापेक्षता भनेर धार्मिक प्रवृत्तिलाई देशको धर्म घोषणा गरे पनि अभ्यासमा सापेक्षता छैन भने त्यहाँ धर्म निरपेक्षतालाई अंगीकार गरिएको मानिदो रहेछ।

हिजोका दिनमा नेपालमा हिन्दू धर्म राज्यको धर्मका रुपमा थियो र पनि मुलुकमा धार्मिक सहिष्णुता यति थियो कि आज पनि हामीले संसारका कुनै पनि भागमा जाँदा हाम्रो विशेषता नै त्यही हो भन्छौँ र त्यसको अभ्यास जीवन शैलीमा गरेका छौँ। भारतमा धर्म निरपेक्ष राज्यलाई संविधानमा अंगीकार गरिएको छ र त्यहाँ प्रत्येक वर्ष धार्मिक असहिष्णुताले हजारौं मानिसले अकालमा मृत्युवरण गर्नुपर्छ। त्यतिमात्र होइन, धार्मिक सापेक्षता भएका देश खासगरी अरब, अफ्रिकी तथा कतिपय युरोपिय देशहरुमा देखिने चरम अर्को धर्मप्रतिको धार्मिक असहिष्णुताले त्यहाँको समाज आफैँमा एउटा एकल सम्प्रदायको बर्चस्व जस्तो बनेको छ।

नेपालमा जनगणनाअनुसार नै ८० प्रतिशतभन्दा बढी हिन्दू छन् र ओमकार परिवारका रुपमा रहेका बौद्ध, जैन, सिख आदिको संख्याले ९० प्रतिशत बढ्ने अनुमान गरिएको छ। तर २०६३ साल जेठ ४ गते सदनमा धर्म निरपेक्षतालाई लादियो भन्नेहरुको माग अहिले पनि के छ भने धर्मका वारेमा जनमत संग्रह गरियोस्। पछि नेपालको संविधान २०७२ का वारेमा टिप्पणी र सुझावका लागि बाँडिएको मस्यौदामाथि पनि धर्म सापेक्षताका वा निरपेक्षताका वारेमा जनमत संग्रहबाट निर्णय गरियोस् भन्ने सुझाव प्राप्त भएकै हो। अहिले पनि मुख्य दलहरुमा त्यसको झझल्को देखिँदैछ र धार्मिक स्वतन्त्रतामा कुनै खलल पर्न नदिन भनेर ठूला दलहरुमा विभिन्न समुदायहरु सक्रिय देखिएका छन्। त्यतिमात्र होइन, तत्कालीन राप्रपा नेपालको मत संग्रहको एउटा मूल आधार नै धार्मिक सापेक्षता देखिएको हो। नत्र काठमाडौँ जस्तो सजग ठाउँमा समानुपातिकमा किन गाईलाई बढी मत आउँथ्यो होला र?

राज्यको धर्म नहुने भए संयुक्त राज्य अमेरिकाका सबै शपथ ग्रहण कार्यक्रममा किन चर्च र पादरीहरुको वर्चस्व देखियो? अनि नेपालमा चाहिँ ९० प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्नेहरु रहँदा किन हाम्रो संविधानमा धर्म निरपेक्षता नै आवश्यक भयो?

मुलुकलाई धर्मको नाममा विभाजन नगरेर धर्मको वारेमा मौन बस्ने सुझाव पनि आएकै हो। तर तत्कालीन अवस्थामा एउटा के बाध्यता परेको थियो कुन्नि, धर्म निरपेक्षतालाई संविधानमा राखियो र धर्म निरपेक्षतालाई यस्तो व्याख्या गरियो कि त्यसको कुनै राजनीतिक अर्थ पनि देखिँदैन र कुनै अर्थमा पनि त्यसको महत्व छैन।

यो समीक्षामा के मात्र भन्न खोजिएको हो भने संसारको विकसित प्रजातन्त्र अमेरिकामा जनवरी २० मा सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको शपथ ग्रहण समारोहमा जे देखियो, त्यसको मात्र चर्चा गर्न थालिएको हो। राष्ट्रपति र उपराष्ट्रपतिका लागि धार्मिक पुस्तक बाइबल छोएरमात्र शपथ ग्रहण गराइयो, त्यो पनि आफ्नो पत्नीको हातमा राखिएको—चर्चको बाइबल र घरमा पढिने बाइबल राखेर। त्यतिमात्र होइन, निवर्तित राष्ट्रपति बाराक ओबामा हुसेन केन्याका इस्लाम धर्म मान्ने बाराक ओबामाका छोरा हुन्। उनी राष्ट्रपतिमा उठ्दा बारम्बार उनको धर्मप्रतिको आस्थाको प्रश्न उठाइयो र उनले आफूले फलानो पादरीसँग इसाइ धर्मको दीक्षा लिएको भनेर स्पष्टीकरण दिइरहनु परेको थियो। वास्तवमा बाराक ओबामाको आफ्ना पिता पनि इस्लाम धर्मावलम्बी नै थिए र पछि आमा जोसँग अर्को विवाह गरेर जानुभएको थियो, ती पनि इस्लाम धर्मावलम्बी नै थिए। बाराक ओबामा मावली हजुरआमासँग बसेकाले उनको इसाइ धर्मप्रति लगाव भयो जबकि बाराक ओवामाले धर्मका वारेमा आफ्नो कार्यकालमा समभाव नै देखाएका थिए।

अब नेपालको कुरा गरौँ। धर्म निरपेक्षताका लागि सबैभन्दा बढी जोड दिने भनेको नेपालका इसाइहरुले हो र विश्वका इसाइ धर्म प्रचारकहरुको जोड हो। कुनै पनि धर्मका वारेमा जोड दिनु भनेको धार्मिक सापेक्षता हो। राज्यको धर्म नहुने भए संयुक्त राज्य अमेरिकाका सबै शपथ ग्रहण कार्यक्रममा किन चर्च र पादरीहरुको वर्चस्व देखियो? अनि नेपालमा चाहिँ ९० प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्नेहरु रहँदा किन हाम्रो संविधानमा धर्म निरपेक्षता नै आवश्यक भयो? खासगरी अमेरिकी चर्चहरु, स्क्यान्डेनेबियन चर्चहरु र कतिपय देशहरुले नेपालमा धर्म निरपेक्षताका लागि आन्दोलन गर्न नै चर्चको रकम लगानी गरेको पाइन्छ भन्ने अनुसन्धानले देखाएको छ। र यता एकदशकदेखि नेपालमा धर्म परिवर्तन गराउन धेरै इसाइ सँस्थाहरु गाउँ गाउँ टोल टोल किन पुगेका हुन्?

नेपालले अब अमेरिका र युरोपबाट सिकोस् कि धर्मविना समाजलाई नैतिकवान बनाउन सकिँदैन। धर्मान्धताले कटुता जन्माउँछ तर धर्मको बाटोमा हिड्नेले समाजको भलो हुनेमात्र काम गर्छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ।

संभवतः नेपालको संविधानको कार्यान्वयनमा पनि धर्म एउटा मुख्य विषय हो। धर्मका अघिल्तिर हिमाल, पहाड र मधेस एक सूत्रमा बाँधिएका हुन्छन्। त्यहाँ कुनै जात छैन। धर्मप्रति आस्था राख्नेहरु धर्म सापेक्षतामा पक्षघर हुन्। अधर्मीहरु धर्म निरपेक्षतामा आस्था राख्दा हुन् तर राज्यलाई बहुमतको आधारमा संविधानमा राख्नका लागि कसैले पनि केही समय अवरोध गर्न सक्ला, सधैँ सक्दैन। अब अमेरिकाको शपथ ग्रहणबाट नेपालका अधर्मीहरुले सिकून् जो आफ्ना आफ्ना सँस्कृति जगेर्नाका लागि लागेका धर्मभीरुहरुलाई तर्साएर मुलुकलाई धार्मिक र साँस्कृतिक द्वन्द्वमा धकेलेका छन्। मुलुकलाई विखण्डनमा पु¥याएका छन्। धार्मिक अतिवादका विरुद्धमा मात्र लाग्नु जरुरी छ तर सनातनदेखि चल्दै आएको जुनसुकै धर्मलाई मान्न पाउनु धार्मिक स्वतन्त्रता हो जसको पक्षमा अमेरिकाका राज्य देखापर्दोरहेछ। आँखा खोलेर हेरुन् नेपाली संविधानका ठेकेदारहरुले जसले धर्म निरपेक्षता वाहेक अरु कुनै समस्या नेपालमा देखेका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.